![]()
People’s News : जाजरकोट भूकम्पले सबैभन्दा धेरै प्रभावित पारेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नचर्किएका घर भेट्न गाह्रो छ । त्यहाँ धेरैतिर शोक र त्रास मात्र देखिन्छ । नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर १,२ र ३ बाहेक ११ वटा सबैभन्दा धेरै प्रभावित छन् । रुकुम पश्चिममा ज्यान गुमाएका ५२ जनामध्ये ४२ जना सोही नगरपालिकाका मात्र छन् । प्रभावित क्षेत्रहरूमा पुगेका सोही नगरपालिकाका बासिन्दाले भूकम्प गएपछिको अवस्थाबारे बताएका छन् ।
पिपुल्स न्यूज सँग उनले भनेः निजी न सार्वजनिक भवन कतै ढुक्कले बस्न सक्ने अवस्था छैन । भूकम्प गएपछि आएका परकम्पले चर्किएका थप घरहरू ढलेपछि अहिले कोही पनि घर फर्कने कुरा सोचिरहेका छैनन् । धेरैका ओड्ने, ओछ्याउने कपडा भत्किएका घरमै पुरिएका छन् । तर चिसो बढिरहेको रातमा यहाँ पालको सबैभन्दा ठूलो अभाव छ । बालबालिका र वृद्धवृद्धाका लागि बितेका दुई रात सबैभन्दा कष्टकर रहे। सबै मानिस खुला ठाउँमा समय काटेका छन् । झन्डै साढे आठ हजार घरधुरी भएको यो नगरपालिकाका कम्तीमा पाँच हजार घर चर्किएका वा भत्किएका अनुमान गरिएको छ ।

सबैभन्दा बढी प्रभावित बनेको १४ नम्बर वडामा पुग्दा मानिसहरू ‘आफ्नो घर यहाँ थियो र’ भनेर ठम्याउन गाह्रो हुने अवस्थामा छन् । घरहरू यति नराम्ररी भत्किएका छन् कि भग्नावशेष बीचमा आफ्नो ठाउँ चिन्न सकिने अवस्था छैन । लहरै घरहरू पूर्ण रूपमा ढलेका छन् । त्यहाँ पिउने पानीदेखि, खाद्यान्न र रात काट्ने व्यवस्था सबैको कमी छ । प्रकोप फैलिएका कि भन्ने डर छ । स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य सामग्री छैन । यहीँ वडामा मात्र २८ जनाको मृत्यु भएको थियो । चारजना जाजरकोटबाट पाहुना हुन आएका व्यक्ति थिए । यहाँ कतै बालबालिका गुमाएको पीडा त कतै अभिभावक गुमाउँदाको पीडा देखिन्छ । अरूमा निर्भर बिरामी वृद्धहरूको अवस्था बिजोग छ । यस नगरपालिकामा मृत्यु हुनेमा एकजना त २० दिनको शिशुसहित २३ जना बालबालिका छन् ।
१५ वर्षमुनिका १८ जना छन् । मैले शनिवार राति आठबीसकोट-९ मा पर्ने राडीबजारमा बिताएँ । बालबालिका र वृद्धवृद्धाको बिजोगबीच चिसो भयो भनेर गुनासो गर्ने अवस्था थिएन । धेरैजना भूकम्प जाँदा आफूले लगाएकै लुगाकै भरमा थिए । स्कुलहरू भत्किएका कारण त्यहाँ ओत लगाउने अवस्था पनि छैन । भर्खरै गहुँ लगाएको जमिनमा बस्ने अवस्था छ । भिरालो जमिनतिर आड लगाएर बस्दा भूकम्प आउँदा माथिबाट ढुङ्गा खस्ला कि भन्ने अर्को त्रास छ । यहाँ मानिसहरू परिवारजन, आफन्त र साथीसङ्गी गुमाउँदाको शोकमा हुँदा हुँदै पनि अर्को छाक कसरी टार्ने, रातमा कहाँ ओत लाग्ने र अझ भनौँ आफ्नै ज्यान कसरी जोगाउने, रात कसरी काट्ने भन्ने चिन्तामा छन् ।