बढ्यो हिन्दू र सिख समुदायबीच तनाव

Loading

People’s news : एकजना सिख पृथकतावादी नेताको हत्यालाई लिएर क्यानडा र भारतबीचको विवादले ‘डायस्पोरा’मा रहेका केही सिख र हिन्दूबीच राजनैतिक टकराव निम्तिएको छ । यद्यपि कतिपयले त्यस्तो विश्लेषणलाई बढाइचढाइ गरिएको भनेका छन् । क्यानडाको भूमिमा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको हुनसक्ने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रूडोले सोमवार सार्वजनिक रूपमा आरोप लगाएका थिए । त्यसपछि अमेरिकामा रहेको सिख पृथकतावादी समूहका प्रमुखले हिन्दू क्यानेडियनहरूलाई भारत फर्कन आह्वान गरेको देखिने एउटा भिडिओको अंश सामाजिक सञ्जालमा देखा पर्‍यो । 

हिन्दूलाई चेतावनी दिइएको : इन्डो-क्यानेडियन हिन्दूहरू, तिमीहरूले क्यानडा र क्यानडाको संविधानप्रति आफ्नो निष्ठा अस्वीकार गर्‍यौ,” ‘सिख फर जस्टिस’का प्रमुख गुर्पत्वन्त सिंह पन्नुनले सेप्टेम्बर १२ मा लिइएको भिडिओमा भनेका छन्। तिमीहरूको गन्तव्य भारत हो । क्यानडा छाड र भारत जाओ,” भिडिओमा उनले भनेका छन् । पन्नुन क्यानेडियन र अमेरिकी दोहोरो नागरिकता भएका व्यक्ति हुन् । उनी निज्जरका साथी थिए । उनको भिडिओ अनलाइन र भारतीय सञ्चारमाध्यममा व्यापक रूपमा फैलिएको थियो ।

हरदीप सिंह निज्जरको गत जुन महिनामा क्यानडामा हत्या भएको थियो

हिन्दू सांसदको ध्यानाकर्षण त्यसले क्यानडाको संसद्‌का लिबरल सांसद चन्द्र आर्यको ध्यानाकर्षण गरायो । मैले धेरै हिन्दू-क्यानेडियनहरूबाट सुनेको छु-उनीहरू उक्त आक्रमण पछि डराएका छन्,” आफू पनि हिन्दू रहेका आर्यले यसअघि ट्विटर भनिने एक्सको पोस्टमा लेखेका छन् । उनी “क्यानडामा हिन्दू र सिख समुदायहरूलाई विभाजित गर्न” त्यस्तो टिप्पणी गरिएको हो भन्ने ठान्छन् । स्पष्ट विभाजन : उक्त हत्याको घटना र त्यसपछिका कतिपय अभिव्यक्तिले क्यानडामा रहेका भारतीय डायस्पोराभित्र स्पष्ट विभाजन देखाएको छ ।

यद्यपि क्यानडाले त्यसमा भारतको हात रहेको आरोप लगाएपछि तनावलाई केही कम गरेको जस्तो देखिन्छ । भारतले चाहिँ निज्जरको हत्यामा उसको संलग्नतालाई अस्वीकार गरेको छ । निज्जरको हत्यापछि क्यानडामा तनाव बढेको थियो । उनको हत्यापछि उनका समर्थकहरूले क्यानडाभरि विरोध प्रदर्शन गरेका थिए र उनको मृत्युमा भारतको हात रहेको आरोप लगाएका थिए । ती प्रदर्शनहरूले भारत सरकारका समर्थकहरूको विरोधको सामना पनि गर्नुपरेको थियो ।

भारत र क्यानडाका प्रधानमन्त्री

भारतको आपत्ति : ती प्रदर्शनका पोस्टरहरूमा भारतीय कूटनीतिज्ञहरूलाई “हत्यारा” भनेर आरोप लगाइएको थियो । त्यस्तो आरोपको नयाँ दिल्लीका अधिकारीहरूले निन्दा गरेका थिए । भारतले क्यानडामा हिन्दू मन्दिरहरूलाई लक्षित गरेर “भारत विरोधी भित्तेचित्र” टाँस्नुका साथै तोडफोड गरिएको बारे पनि बोलेको छ । निज्जर भारतीय राज्य पञ्जाबमा सिखहरूका लागि छुट्टै मातृभूमि अर्थात् खालिस्तान राज्यको निर्माण हुनुपर्छ भन्ने पक्षमा पैरवी गर्ने व्यक्ति थिए । भारतले खालिस्तान आन्दोलनको कडा विरोध गर्ने गरेको छ र निज्जरलाई आतङ्कवादीका रूपमा हेर्ने गर्थ्यो ।

सिख नेताको दाबी : एक अन्तर्वार्तामा पन्नुनले आफ्नो टिप्पणी सबै हिन्दूहरू लक्षित नभएको तर भारत सरकारको स्वार्थसँग मिल्नेलाई लक्षित गरिएको बताए र उनको दाबीमा त्यस्ता हिन्दूहरू बहुसङ्ख्यक छन् । इन्डो-क्यानेडियनहरूले भने आफ्नो समुदाय क्यानाडाको आरोपबाट अचम्ममा परेको बताए । यद्यपि आफूहरूले सुरक्षामा कुनै खतरा भएको वा त्यस्तो खतरा बढेको अनुभव नगरेको बताए । क्यानडामा दुवै देशसँग गहिरो सम्बन्ध भएका इन्डो-क्यानाडेलीहरूको जनसङ्ख्या ठूलो छ । क्यानडामा विभिन्न धार्मिक र सामाजिक-आर्थिक पृष्ठभूमि भएका भारतीय मूलका १८ लाख ६० हजार बासिन्दा छन् ।

क्यानडाका सिख र हिन्दू के भन्छन् ? : टोरन्टोका एकजना प्राविधिक क्षेत्रमा कार्यरत व्यक्ति रणवीर ग्रेवाल आफूलाई सिखका रूपमा चिनाउँछन् । उनी भारतीयहरूको समाज हिन्दू र सिख क्यानेडियनहरूको मिश्रण भएकाले सबै हिन्दू क्यानेडियनहरूले क्यानडा छोड्नुपर्छ भन्ने टिप्पणीको निन्दा गर्छन् । ती अपेक्षाकृत रूपमा आपत्तिजनक बयानहरू हुन् र त्यसमा मानिसहरूले प्रतिक्रिया जनाउँछन्,” ग्रेवालले भने । ग्रेवालले क्यानडाका लागि हालै जारी गरिएको भारत सरकारको ‘ट्राभल एडभाइजरी’को विरुद्धमा पनि बोलेका थिए । क्यानडासँगको विवादपछि भारतले हालै आफ्ना नागरिकहरूमाथि हिंसाको सम्भावना रहेको भन्दै उक्त उत्तर अमेरिकी देशमा भ्रमण गर्दा “अत्यन्त सावधानी” अपनाउन चेतावनी दिएको थियो । उनले भने, “म मानिसहरुलाई पहिले जसरी भेट्थेँ अहिले पनि त्यसरी नै भेट्दै आएको छु । मेरो दैनिकीमा खासै परिवर्तन आएको छैन ।

उनका भनाइमा मानिसलाई भड्काउने खालका टिप्पणीहरू इन्डो-क्यानेडियन समुदायका केही गुटहरूद्वारा गरिएको छ तर त्यसले बहुसङ्ख्यकको प्रतिनिधित्व गर्दैन । भानकुभरमा अध्ययनरत राधिका शर्मा हिन्दू समुदायकी हुन् र उनी यो सामाजिक दरारलाई “राजनीतिक” मुद्दाको रूपमा हेर्छिन् । उनका भनाइमा उनका केही सिख र हिन्दू दुवै साथीहरू ट्रूडोको आरोपबाट विचलित भएका छन् किनकी उक्त आरोपलाई पुष्टि गर्न सरकारले कुनै पनि आधारहरू सार्वजनिक गरेको छैन । यो सत्य हो वा होइन हामीलाई थाहा छैन तर यदि यो हो भने यसको पुष्टि हुने प्रमाण हुनुपर्छ,” उनले भनिन् । यसले दुई देशहरूबीच झगडा मात्र सिर्जना गरिरहेको छ ।

म्याकगिल विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी रुपिन्दर लिडरको अनुसन्धान सिख-क्यानेडियन समुदायमा केन्द्रित छ । उनले खालिस्तान आन्दोलनलाई आतङ्कवाद र हिंसासँग जोडेर गलत सूचना अनलाइनहरूमा फैलाइएको पाइएको बताइन् । यद्यपि इन्डो-क्यानेडियन समुदायका केहीबीच राजनीतिक विभाजनको भावना भए पनि क्यानडामा हिन्दू र सिखबीच घनिष्ठ सम्बन्ध रहेको छ । सिख-क्यानेडियन र हिन्दू-क्यानेडियन समुदायबीच कुनै तनाव हुनु हुँदैन, उनले भनिन्, बरु यो सबै क्यानडामा विदेशी हस्तक्षेप बारेमा हो भन्ने हामीले बुझ्नुपर्छ । ….

Leave a Comment