![]()
People’s news :

घटना १: भदौ ३ गते भक्तपुरस्थित बाल सुधार गृहमा एक बालकको मृत्युपछि उब्जिएको तनावका माझ प्रहरीसँग झडप भएपछि झन्डै २५० जना बाहिर निस्किए ।
घटना २: भदौ २६ गते वीरगन्जको बाल सुधार गृहमा उत्पन्न तनावमा ११ बालक र ३ प्रहरी घाइते ।
घटना ३: असोज ४ गते राति बाँकेको बाल सुधार गृहमा दुई समूहबीच भएको झडपमा १ बालकको मृत्यु र १० जना घाइते।
बितेको एक महिनामा भएका यी तीन घटनाले बाल सुधार गृहको व्यवस्थापनको विषयमा गम्भीर प्रश्न उठेको छ । अपराधमा संलग्न भई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने स्थितिका १८ वर्ष मुनिका बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था बालबालिकासम्बन्धी ऐनले गरेको छ । अहिले देशभरि आठवटा बाल सुधार गृह छन् र ती अधिकांशमा क्षमताभन्दा बढी बालबालिका रहेको बताइन्छ । पाँच सय ७५ बालबालिका राख्ने क्षमता भएका ती सुधार गृहहरूमा दोबर सङ्ख्यामा झन्डै १,१६० बालबालिका भएको बताइएको छ ।
बाँकेमा के भएको हो ? : बाँके जिल्लाको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीवार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भयो । बाल सुधार गृहमा तोडफोड र आगजनी पनि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् । झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीले बताएकी छन् । बाल सुधार गृहमा २५४ जना बसिरहेका छन् भने तीमध्ये १६५ जना १८ वर्ष माथिका रहेका छन् ।

बाल सुधार गृहमा बेथितिका कारण के हुन् ? : राष्ट्रिय बाल अधिकार परिषद्की सदस्यसचिव इन्द्रादेवी ढकालले देशभरिका बाल सुधार गृहहरूमा सुधार गर्नुपर्ने थुप्रै विषय रहेको बताउँछिन् । बाल न्याय समन्वय समितिकी पनि सदस्य उनी अहिले धेरैजसो त्यस्ता गृहहरूमा कम्तीमा तीनथरी समस्या रहेको औँल्याउँछिन् ।
- १८ वर्ष माथिका मानिसलाई पनि सँगै राखिनु
- क्षमताभन्दा धेरै जनालाई राखिनु र
- सुविधाको कमी
यसरी पटकपटक बाल सुधार गृहहरूमा तनावका घटना हुनु पक्कै पनि राम्रो होइन । बालबालिकाको विषय भएकाले यसलाई संवेदनशील रूपमा हेरेर सकेसम्म छिटो समाधान गर्न जरुरी छ,” ढकालले भनिन् । विभिन्न अपराधमा जोडिएकाहरूलाई मिसमास गरेर राख्दा अनि अलि बढी उमेर समूहकालाई पनि सँगै राख्दा यस्तो भएको हुनसक्छ, उनले भनिन् । बाल मनोविज्ञान अति नै संवेदनशील हुने भएकाले यस्ता समस्याको समाधान गर्न ढिलाइ गर्न नहुने जानकारहरूको भनाइ छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक कुबेर कडायतले अहिले देखिएका समस्याको कारणहरूमा १८ वर्षभन्दा माथि पुगेकालाई पनि सँगै राखिनुलाई पनि मान्छन् । सुरक्षाका अन्य चुनौतीबारे उनले भने, एक त त्यहाँ भित्र प्रहरी पस्न पनि मिल्दैन । थोरै सङ्ख्यामा सादा पोसाकमा सुरक्षाकर्मी रहन्छन् । अनि कतिपय बाल सुधार गृहमा राम्रो तार बार पनि गरिएको छैन । धेरै उमेर भएकाहरूलाई बेग्लै खानपिन अनि सुरक्षा व्यवस्थापनको आवश्यकता पर्ने उनले बताए । बाल अधिकारसम्बन्धी जानकारहरू त्यस्ता सुधार गृहहरूमा बालबालिकाहरूको मन बहलाउने, ज्ञानगुन बढाउने, खेलकुद तथा मनोपरामर्शका यथोचित सुविधा हुनुपर्ने बताउँछन् । नत्र त सुधार गर्न पठाएका ठाउँमा झन् उल्टो प्रभाव पर्न सक्ने उनीहरू औँल्याउँछन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ बाल सुधार गृह बनाएर बालबालिकालाई त्यहाँ राखे पनि त्यसको उद्देश्य अनुसार काम हुन नसकेको बताउँछन् । बालबालिकालाई सुधार गर्नका लागि उनीहरूलाई छुट्टै भवनमा राखेर मात्रै नपुग्ने र त्यसका लागि बनाउनुपर्ने संरचनादेखि विज्ञको व्यवस्था कुनै पनि कुरामा ध्यान नदिइएको उनी बताउँछन् ।


स्थिति सुधार्न अब सरकारले के गर्छ ? : सरकारले देशभरिका आठवटै बाल सुधार गृहमा रहेकाहरूमध्ये १८ वर्षभन्दा माथि उमेर पुगेकाहरूलाई छुट्टै ठाउँमा राख्ने निर्णय गरेको छ । अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले बाँकेको नौबस्ता कारागारमा एउटा छुट्टै ब्लकमा उनीहरूलाई राख्ने व्यवस्था मिलाउने निर्णय गरिसकेको छ,” महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भने । त्यहाँ थोरै सरसफाइ गरेर दुई-चार दिनमै त्यहाँ लैजाने भन्ने कुरो भइरहेकै बेला अपर्झट बाँकेमा यो पछिल्लो घटना भएको छ,” उनले भने । उक्त ब्लकमा २५०-३०० जना राख्ने क्षमता रहेकाले बाल सुधार गृहका १८ वर्ष माथिका लगभग सबै जनालाई लैजान सकिने मन्त्री आचार्यले बताए । वास्तवमा केही नीतिगत तथा कानुनी सुधारको खाँचो पनि परेको छ, २२-२४ वर्ष उमेर पुगिसकेकाहरूलाई पनि बाल सुधार गृहमा राख्दा धेरै समस्या आएका छन्,” उनले बताए । …..