![]()
people’s news sunsari : धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ । धरानमा फोहोर पानीको कारण डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको जनगुनासो बढेपछि गरिएको परीक्षणबाट फिकल कोलिफर्म मिसिएको पुष्टि भएको हो । धरानमा वितरण भइरहेको विभिन्न ७ ठाउँको पिउने पानीको नमुना संकलन गरेर परीक्षण गर्दा बोरिङ गरिएको पानीमा मात्र कोलिफर्म छैन । अन्य ६ ठाउँको खोला (सतह) को स्रोतको पानीमा भने फिकल कोलिफर्म भेटिए ।
पिउने पानीमा कोलिफर्म मिसिएको पुष्टि भएपछि बिहीबार मेयर हर्क साम्पाङलाई रिपोर्ट सहित ध्यानाकर्षण पत्र बुझाएको छ । साथै, नगरबासीहरुलाई स्वास्थ्य र शुद्ध पानी वितरण गर्ने व्यवस्थापन गर्न पनि मेयर साम्पाङलाई आग्रह गरेको छ । विभिन्न ७ ठाउँबाट संकलन गरिएको पिउने पानीको नमुना नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोगशालामा इकोलाई परीक्षण गरिएको बताए । परीक्षण गर्दा फिकल कोलिफर्म भएको रिपोर्ट आएकोले धरानवासीले पिउने गरेको पानीमा दिसा मिसिएको छ भन्ने पुष्टि भएको धरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट धिरेन लिम्बुले बताए ।
यो मान्छेको आन्द्रमा हुन्छ । यसले खानेपानीको स्रोतमा दिशाजन्य ब्याक्टेरिया छ भन्ने देखाएको हो, उनले भने,‘विश्व स्वास्थ्य संगठन र नेपालको मापदण्डले पानीमा कोलिफर्म शून्य नै हुनुपर्छ । तब मात्र पिउन योग्य पानी मानिन्छ । शून्य कोलिफर्म हुनुपर्नेमा फुस्रेस्थित रिजर्भ वेयर ट्यांकको पानी परीक्षण गर्दा ३० आएको थियो भने धरान १४ विजयपुरस्थित रिजर्भ ट्यांकको पानी गौधाराबाट संकलन गरेर परीक्षण गर्दा कोलिफर्म ३५ भएको रिपोर्ट आएको छ । यस्तै, खर्दुको पानी परीक्षण गर्दा कोलिफर्म १५, सर्दुको पानी परीक्षण गर्दा कोलिफर्म १० आएको छ भने निशाने ट्यांकीको पानी परीक्षण गर्दा पनि कोलिफर्म २० रहेको रिपोर्ट आएको छ । यस्तै, विष्णुचोकस्थित ट्यांकीमा मिसाइएको कोकाहाको पानी संकलन गरेर परीक्षण गर्दा ५ कोलिफर्म भेटिएको छ । सोही ट्यांकीमा मिसाइएको कुम्भी आहालबाट बोरिङ गरिएको भूमिगत स्रोतको पानी परीक्षण गर्दा भने कोलिफर्मको मात्रा शून्य ( कोलिफर्म नभएको ) रिपोर्ट आएको छ ।
केन्द्रीय प्रविधि क्याम्पसका पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट लिम्बु पानीमा कोलिफर्म मिसिने बित्तिकै स्वास्थ्यलाई गम्भीर असर पर्ने खालको अन्य ब्याक्टेरियाहरु पनि मिसिएको हुनसक्ने बताउँछन् । यस्तो पानी तत्काल पिउदा असर नदेखिए पनि भविष्यमा देखिने उनले बताए । ‘जसको रोगसँग लड्ने क्षमता कमजोर छ, दीर्घरोगीहरुलाई गम्भीर असर पुग्छ, ’उनले भने, ‘हैजा लाग्ने ब्याक्टेरिया, टाइफाइट हुने ब्याक्टेरिया पनि दिसामा हुनसक्छ, र त्यसले प्रकोप ल्याउनसक्छ है भन्ने संकेत यो रिपोर्टले दिएको हो । विगतमा क्याम्पसकै विद्यार्थीहरुलाई थेसिस् गराउँदा पनि धरानको पिउने पानीमा कोलिफर्म भएको देखिएको उनले बताए । साथै, एन्टिबायोटिक रेसिस्ट गर्ने ब्याक्टेरियाहरु पनि धरानको पानीमा देखिएको उनको भनाई छ । ‘ट्रिटमेन्टको प्रोसेस नमिलको हो कि भन्ने लाग्छ । खानेपानीको मुहान, स्रोतको सरसफाईमा प्राथमिकता दिनुपर्छ । गाईभैसी चराउन र मानव गतिविधिहरु निषेध गर्नुपर्छ, ’उनले भने, ‘खानेपानीलाई वितरण गर्नुपहिला ट्रिटमेन्ट गर्नुपर्छ । नियमित नभए पनि महिनामा एक पटक खानेपानीको विषयमा जाँच गरेर वितरण गर्नुपर्छ । माइक्रोबायोलोजिष्ट लिम्बुले क्याम्पसमा ल्याब भएकोले धरान उपमहानगरले महिना महिनामा पानी परीक्षण गर्ने व्यवस्था गर्न सक्ने बताए । यसको लागि इन्टर्नसिप विद्यार्थीहरुलाई परिचालन गर्न सक्ने गरि सम्झौता गरेर सहकार्य गर्दा पनि हुने उनले बताए । मेयर साम्पाङले खानेपानीको चर्को अभावको कारण सतहको पानी संकलन गरेर वितरण गर्नुपर्ने बाध्यता भएको बताए। साथै उनले नगरबासीलाई शुद्ध एवं स्वास्थ्यकर पिउने पानी वितरणमा पनि ध्यान दिइने बताए । savar