![]()
people’s news : प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका छन् । यो जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लागेको छ । प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा भएको सम्पादकहरूसँगको अन्तर्क्रियाका क्रममा गिरीबन्धु जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका हुन् । उनले ललिता निवास मात्र नभई देशभर सरकारी जग्गा हिनामिना भइरहेको उल्लेख गर्दै यस्ता ठूला साना सबै प्रकरणहरू छानबिनको दायरामा ल्याउने प्रतिवद्घता जनाएका हुन ।
‘गिरी बन्धु टी स्टेटको पनि कुरा आइरहेको छ । त्यसको पनि छानबिन हुन्छ । देशभर सरकारी जग्गा कब्जा गर्ने काम भएका छन् । ती सबैलाई अब हामी हेर्छौ’, प्रधानमन्त्री दाहालले अन्तर्क्रियाका क्रममा भने । एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा रहको ३ ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो । यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ ।