![]()
काठमाडौं । पछिल्लो समय केही सहकारीहरुको ब्यवस्थापनको बद्मासीका कारण बचतकर्ता र राम्रा सहकारीहरु मारमा पर्ने गरेका छन् । यसैबीच काठमाडौंको शान्तिनगरस्थित ‘कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को ब्यवस्थापनमा पनि समस्या देखिएको छ ।
२६ वर्ष पुरानो ‘कान्तिपुर बचत तथा ऋण सहकारी संस्था’ले मुद्दती खाता (एफडी)मा राखेको पैसा फिर्ता नगरेको समाचार सार्वजनिक भएसँगै बचतकर्ताहरुले दिनहुँ पैसा जम्मा गर्नुको साटो आफूले जम्मा गरेको रकमसमेत धमाधम निकाल्न थालेका छन् । पछिल्लो समय चन्द्रबहादुर (सीबी) लामाले २४ वर्ष अध्यक्षताको गरेको उक्त सहकारीमा आफूले जम्मा गरेको रकम निकाल्ने बचतकर्ताहरुको लाइन नै लाग्ने गरेको छ ।
कान्तिपुर सहकारीले विभिन्न ठाउँमा १८ वटा शाखा कार्यालयहरुबाट कारोबार गर्दै आएको छ । उक्त शाखा कार्यालयहरुबाट निक्षेप फिर्ता लिनेहरुको लर्को नै लाग्न थालेपछि दैनिक प्रतिव्यक्ति १५ हजारको दरले मात्र फिर्ता गर्दै आएको छ । तर, निक्षेपकर्ताहरु भने आफ्नो सबै नै पैसा निकाल्न पाउनुपर्ने बताउँदै आएका छन् ।
वि.सं. २०५३ सालमा स्थापित कान्तिपुर सहकारी सुरुमा कान्तिपुर फाइनान्सको रुपमा सञ्चालनमा आएको थियो । तर, पछि नाम परिवर्तन गरेर सहकारी बनेको यस संस्थामा ३६ हजारसम्म सेयर सदस्य पुगेका थिए । कान्तिपुर सहकारीको अध्यक्षको रुपमा चन्द्रबहादुर (सीबी) लामा थिए । उनी तत्कालीन समयमा हिमालय फाइनान्समा सामान्य कर्मचारी हुन् ।
सुरुमा राजेन्द्र शाह सहकारीका अध्यक्ष र लामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहे । तर, पछि लामाले विभिन्न कारण देखाई शाहलाई अध्यक्षबाट हटाएर आफूले कार्यकारी अध्यक्षको रुपमा काम गर्न थालेका थिए । यसरी कान्तिपुर सहकारीमा रहँदा नै लामाले आफ्नो श्रीमतीको नाममा काठमाडौंकै जमलमा पशुपति सहकारीको नाममा अर्को समानान्तर सहकारी सञ्चालन गर्न थालेका थिए ।
लामाले कान्तिपुरमा सीबी लामा र पशुपतिमा चन्द्रबहादुर तामाङ बनेर काम गर्दै आएका थिए । समानान्तर सहकारी बनाएका लामाले स्थापित भइसकेको कान्तिपुर सहकारीका ग्राहक र निक्षेप पशुपतिमा डाइभर्ट गर्ने, कान्तिपुरमा सर्वसाधारणले जम्मा गरेको पैसाले आफ्नो घर, गाडीदेखि लिएर घरजग्गा, सेयर, होटलररेष्टुरेण्टहरुमा अपार्दशी लगानी गर्ने गरेका थिए ।
कान्तिपुरको नाममा पशुपति सहकारीको मार्केटिङ गर्ने गरेका लामालाई तत्कालीन समयका डिभिजन सहकारी काठमाडौंका प्रमुख केशव थापाले सम्पूर्ण सहकारीका गलत कामहरुमा सहयोग गर्ने गरेका थिए । लामाले सेयर नक्कली सेयर सदस्यदेखि हस्ताक्षर समेत गरेर त्यस्ताको नाममा आफैँले कारोबार समेत गर्ने गरेका थिए ।
पछि लामाले आफ्नो श्रीमतीलाई प्रमुख बनाएर सञ्चालन गरेको पशुपति सहकारीमा समेत कान्तिपुरमा गरेजस्तै सर्वसाधारणले जम्मा गरेको निक्षेप आफूखुसी प्रयोग गरेपछि पशुपति सहकारी डुब्ने निश्चित भएपछि सर्वसाधारणहरुलाई आफू कान्तिपुर सहकारीमा समेत अध्यक्ष नै रहेको र त्यताबाट मिलाएर दिने भन्दै आश्वासन दिन थालेका थिए । तर, लामाले कान्तिपुर समेत डुब्ने लगभग निश्चित भएपछि दुई वर्षअगाडि कान्तिपुर समेत छोडेर भूमिगत भएका छन् ।
तीन वर्षदेखि पशुपति सहकारीमा पैसा फिर्ता लिन आउनेलाई दिन नसकेर भाग्दै हिँडेका लामाकै कारण पशुपति सहकारी डुबेको तीन वर्षपछि कान्तिपुरमा समेत सोही किसिमको समस्या आएको हो । शुपतिको कारण लुक्दै हिँड्नुपरेको समयमा अझै ठूलो तथा पुरानो संस्था कान्तिपुर सहकारी समेत डुब्ने निश्चित भएपछि आफूलाई सर्वसाधारणले नछोड्ने भन्दै हिमालय विक्रम सिंह ठकुरीलाई संस्थाको अध्यक्षको जिम्मेवारी दिएर लामाले दुई वर्षअघि कान्तिपुर सहकारी छोडेका थिए ।
लामाले कान्तिपुर सहकारीको प्रमुख लगानीमा काठमाडौंको तीनकुनेमा सञ्चालन रहेको कान्तिपुर अस्पताल मेरै हो भन्दै पशुपतिका निक्षेपकर्ताहरुलाई आफू यत्रो अस्पतालको मालिक भएकोले पैसा फिर्ता गर्ने भन्दै झुलाउँदै आएका छन् । कान्तिपुरको पैसा दुरुपयोग गरेर अब समस्या आउने बेला भयो भन्दै नयाँ नेतृत्वलाई सहकारी जिम्मा लगाएर भूमिगत भएका सीबी लामाकै कारण अहिलेको नेतृत्वलाई समस्या परेको छ ।
झण्डै साढे पाँच अर्ब निक्षेप रहेको सहकारीमा यतिबेला १५ हजार हाराहारीमा सेयर सदस्यहरु छन् । ५० करोड हाराहारीमात्र सञ्चित रहेको सहकारीमा पैसा झिक्ने सर्वसाधारणहरुको लाइन नै लागेपछि दैनिक कोटा सिस्टमबाट पैसा फिर्ता गरिरहेको सहकारीले जनाएको छ ।