बैदेशिक रोजगारीले निम्ताएको भयानक समस्या

Loading

पिपुल्स न्युज काठमाडौँ : विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो छ

पर्वत, म्याग्दी — वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले गर्दा बालबालिका अलपत्र पर्ने क्रम पनि बढ्दै गएको छ । एक छोरा, एक छोरी र श्रीमतीलाई घरमा छोडेर पर्वतको पैयुँ–५ का गोरखबहादुर (नाम परिवर्तन) मलेसिया उडे ।

उनलाई बिदाइ गर्न श्रीमती पनि साथमै काठमाडौंसम्म पुगिन् । गोरखबहादुर ६ वर्ष मलेसिया बसे । १० वर्षकी छोरी र ५ वर्षको छोरा छोडेर मलेसिया गएपछि श्रीमतीको नाममा नियमित पैसा पठाउन थाले । श्रीमान्ले पठाएको पैसाले घरखर्च, छोराछोरीको पढाइ राम्रै चलाएर पनि बचत गर्ने र भविष्य उज्ज्वल बनाउन सघाउने अपेक्षा गरेका गोरखबहादुर २ वर्षअघि घर फर्किंदा छाँगाबाट खसेझैं भए, जतिबेला श्रीमतीले ६ लाखको ऋण देखाइन् । केही दिनमै श्रीमती घरबाट बेपत्ता भइन् । प्रहरीले श्रीमतीलाई त सम्पर्कमा ल्यायो तर परपुरुषसँग लागेकी श्रीमती उल्टै ऋणको भारी बोकाएर एकाएक सम्बन्धविच्छेद गरिन् । छोराछोरीलाई वृद्ध हजुरबुबा, हजुरआमाको रेखदेखमा छोडेर गोरखबहादुर पुनः मलेसिया उडे ।

फलेवास नगरपालिका–३ का धनबहादुर क्षत्री (नाम परिवर्तन) पनि पारिवारिक सुखकै लागि वैदेशिक रोजगारीमा गए । उनकी श्रीमतीले पनि विदेशबाट पठाएको रकम कुम्ल्याएर अन्यत्रै लागिन् । नाबालक छोरा छोडेर बिदेसिएका श्रीमान् घर फर्किने बेलामा श्रीमती नभेटेपछि गत कात्तिकमा प्रहरीमा उजुरी गरे । विदेशबाट घर फर्किएकै दिन बेपत्ता श्रीमती सम्पर्कमा त आइन् तर श्रीमान्ले पठाएको नगद फिर्ता पाउन सकेनन् । १० महिना बितिसक्दा पनि श्रीमती साथमा नहुने र सम्बन्धविच्छेद पनि नगर्दा उनी अझै तनावमा छन् ।

कास्की घर भई पर्वतकै मोदी गाउँपालिकामा बसोबास गर्ने एक महिला परपुरुषसँगको सम्बन्धकै कारण बिदेसिएका श्रीमान्ले पठाएको नगदसमेत हिनामिना पारेर हिँडेपछि श्रीमान् बेवारिसे भए । करिब ४ वर्ष वैदेशिक रोजगारीमा कमाएको पैसा लिएर परपुरुषसँग गएकी श्रीमतीलाई उनले फर्काउन नसकेपछि रेसम सुनार (नाम परिवर्तन) अहिले निराश छन् । कुश्मा नगरपालिकाकै लक्ष्मी परियार (नाम परिवर्तन) ले श्रीमान् विदेश गएको मौका छोपेर परपुरुषसँग लाग्दा दुई छोराछोरीको बिचल्ली भयो । स–साना बालबालिकाको शिक्षादीक्षामा समस्या भएपछि सामाजिक संघसंस्थाको सक्रियतामा स्थानीय एक सामुदायिक विद्यालयमा भर्ना गरिएको छ । सामुदायिक प्रहरी र नेपाल प्रहरीको महिला सेलको सहयोगमा छोराछोरीको हेरचाहका लागि एक लाख नगद दिन परियारका दोस्रो श्रीमान् राजी भए ।पारिवारिक सुख, सन्तुष्टि र सुनौलो भविष्यको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या जति बढ्दो छ, सोही कारणले पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम पनि निरन्तर उकालो लाग्दो छ । गएको एक वर्षमा वैदेशिक रोजगारीकै कारण परपुरुषसँगको सम्बन्धका कारण पारिवारिक विखण्डनतर्फ धकेलिएका जोडीको संख्या पर्वतमा मात्रै करिब डेढ दर्जन छ । लैंगिक हिंसाका क्षेत्रमा लामो अनुभव सँगालेकी प्रहरी नायब निरीक्षक पूर्णिमा थापाका अनुसार वैदेशिक रोजगारीकै कारण पारिवारिक विखण्डनका शृंखलामा वृद्धि हुन थालेको करिब एक दशक भयो । ‘मैले यही क्षेत्रमा काम गर्दा धेरै प्रकृतिका मुद्दा हेरेकी छु,’ उनले भनिन्, ‘पाँच–सात वर्षयता यस्ता प्रकृतिका घटना निरन्तर बढ्दो क्रममा छन् ।’ बढ्दो सामाजिक सञ्जालको प्रयोग, स्मार्टफोन, स्वतन्त्रतालगायत कारण सामाजिक तथा पारिवारिक विखण्डन भित्रभित्रै भुसको आगो जस्तै सल्किरहेको तर्क गर्दै उनले भनिन्, ‘कतिपय पुरुष आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउने कारणले पनि प्रहरीमा उजुरी गर्न आउँदैनन् ।’

पर्वत प्रहरीको महिला बालबालिका तथा लैंगिक हिंसाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विवाहेत्तर सम्बन्धका कारण पारिवारिक विखण्डन भएका घटनाको संख्या १६ छ । तीमध्ये धेरैजसो वैदेशिक रोजगारीका कारण सम्बन्धमा विखण्डन आएको उजुरीमा उल्लेख छ । ‘अझै पनि कतिपय केस हामीकहाँ आउँदैनन्,’ प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकी भन्छन्, ‘भित्रभित्रै बुझ्दा केही परिवारमा कल्पनै गर्न नसकिने गरी परिवार विक्षिप्त बनिरहेका छन् ।’ आधुनिकता, प्रविधिको पहुँच, विश्वव्यापीकरण, स्वतन्त्रतालगायत कारण नेपाली समाजको वैवाहिक सम्बन्ध र सन्तानको भविष्य धराशायी बन्दै गएको बुढाथोकीले बताए । यस्तो समस्या समाधानका लागि तीनै तहका सरकारले स्थानीयस्तरमै रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको सिर्जना गर्नुका साथै मनोचिकित्सकको पनि पर्याप्त व्यवस्था गर्नुपर्ने प्रसनि थापा बताउँछिन् ।

म्याग्दीको बेनी–१० घर भई हाल बेलायत बस्ने धनबहादुर बुढाथोकीले श्रीमती धनमाया बुढासँग सम्बन्धविच्छेद गराई पाउँ भन्दै जिल्ला अदालत म्याग्दीमा हालै फिराद हाले । उनले विदेशमा श्रम गरी आर्जन गरेको सम्पूर्ण सम्पत्ति र श्रीमतीको नाममा रहेको घर/सम्पत्ति अंशवन्डा गरी पाउन माग गरेका थिए । दुई छोरी र छोरासहित बेलायतमै बसोबास गरिरहेकी धनमाया फिरादको प्रतिउत्तर लगाउन आइनन् । अदालतले निवेदकको माग दाबी नपुगेको भन्दै फिराद खारेज गरिदियो । मंगला–३ का टकबहादुर चोचाङ्गीले श्रीमती तिर्सना पुन लामो समयदेखि सम्पर्कमा नभएको, आफूले आर्जन गरी पठाएको धनसम्पत्तिसहित लगेको, घरमा पनि नबसेको र माइतीमा खोज्दा नभेटेकाले सम्बन्धविच्छेद गराई पाउँ भन्दै अदालत गए ।

मुलुकी देवानी संहिताले पत्नीसँग सम्बन्धविच्छेदका लागि सजिलो बनाएपछि अदालत पुग्ने पतिको संख्या पछिल्लो समय बढेको छ । सम्बन्धविच्छेदका लागि पत्नीमात्र अदालत पुग्ने गरेकोमा आर्थिक वर्ष ०७८/७९ मा २४ पुरुषले जिल्ला अदालतमा पत्नीलाई प्रतिवादी बनाई सम्बन्धविच्छेदको फिदार दायर गरे । असार मसान्तसम्म २४ मध्ये १२ जना पुरुषले सम्बन्धविच्छेद पाए । चार जना पुरुषले सम्बन्धविच्छेदको दाबी पुर्‍याउन सकेनन । १६ वटा मुद्दा चालु वर्षमा जिम्मेवारी सरी आएका छन ।

जिल्ला अदालतको अभिलेखअनुसार गत वर्ष दर्ता भएका २ सय ७० थान सम्बन्धविच्छेदका मुद्दामध्ये २४ थान पत्नीविरुद्ध गरेका फिराद हुन् । सोही अवधिमा २ सय ४६ जना मुद्दा पतिसँग सम्बन्धविच्छेद पाउन फिराद गरेका थिए । ‘गत वर्ष २४ मुद्दा पत्नीसँग सम्बन्धविच्छेद माग्दै अदालतमा फिराद हालिएका छन्,’ जिल्ला अदालतको मुद्दा शाखाकी डिट्ठा अम्बिका शर्माले भनिन्, ‘सम्बन्धविच्छेद माग्ने प्रायः पुरुषले आफूले विदेशबाट पठाएको सम्पत्ति श्रीमतीले हिनामिना पारेको, ३ वर्षदेखि घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ जस्ता साझा अभियोग लगाएका छन् ।’मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्षदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा, अंगभंग गरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन राखेको ठहरेमा’ पत्नीको मन्जुरीबिना सम्बन्धविच्छेद गर्न पाइने व्यवस्था गरेको छ । ‘प्रायः सबै सम्बन्धविच्छेदको मुद्दाको खास कारण परपुरुष/स्त्री यौनसम्बन्ध नै हुन्छन् । तर यौन प्रमाण नहुने हुँदा उल्टो गालीबेइज्जती मुद्दा लाग्ने भएकाले अदालतमा जाहेरी लेख्दा यी कुरा लेख्न मिल्दैन । त्यसैले साझा कुरा आफूले कमाइ पठाएको पैसा हिनामिना गरेको, बालबच्चालाई खान, लगाउन नदिएकोलगायत लेख्ने गरिएको छ,’ अधिवक्ता ध्रुव शर्माले भने, ‘महिलाले अर्को पुरुषसँग लिभिङ टुगेदरमा रहे पनि दोस्रो विवाह अस्वीकार गर्ने र प्रमाण जुटाउन नसक्दा पुरुषले गरेका सम्बन्ध विच्छेदका फिराद अक्सर असफल हुन्छन् ।’

विच्छेदको फिरादमा केही पत्नीले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरूको कुरा सुनेर वास्तविकता नबुझी आवेगमा सम्बन्धविच्छेद मागेको’ प्रतिउत्तर गरेका छन । केहीले आरोप अस्वीकार गरेका छन । केहीले श्रीमान् अर्कै महिलासँग लागेको र निहुँ खोज्न सम्बन्धविच्छेद मागेको पनि आरोप लगाएका छन् ।

त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी वर्षदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अंगभंग गरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को बिहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा’ सम्बन्धविच्छेद गर्न पाइने व्यवस्था गरेको छ । सम्बन्धविच्छेदले दाम्पत्य जीवन छुट्टिएको मात्र छैन, उनीहरूमा आश्रित धेरै बालबालिका अलपत्र परेका छन् । बाबुआमाबीच बिछोड हुँदा सन्तानको संरक्षणको भार हजुरबा र हजुरआमामाथि परेको छ ।

बाबुआमाको सम्बन्धविच्छेदपछि वृद्ध बाजेबजैको संरक्षकत्वमा पुगेका बालबालिकाहरू बाबुआमा भएर पनि ‘टुहुरा झैं’ भए । उनीहरूमा मनोवैज्ञानिक असर परेको छ । यस्ता बालबालिकाहरू लागूऔषधको संगतमा पर्ने जोखिम पनि छ । ‘सम्बन्धविच्छेदको मुद्दामा अदालतले फैसला गर्दा नाबालक भए स्वतः आमासँग, उमेर पुगेका बालबालिका भए बाबु वा आमाको संरक्षकत्वमा रहन्छ भन्ने विश्वास राख्छ । बालबालिको संरक्षणको अधिकारबारे अभिभावकलाई सचेत पनि गर्छौं,’ कपिलवस्तु सरुवा भई जाँदै गरेका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले भने, ‘तर बाहिर व्यावहारिक जीवनमा बालबालिकाले दुःख पाएको देखिन्छ । आजको कान्तिपुरमा 

Leave a Comment