People’s News : काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्कापक्की भएको छ । सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले मंगलबार बोलाएपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष मंगलबार आयोग पुगेर आ-आफ्नो दाबी पेश गरेका छन् । आयोगको छलफलमा सहभागी भएका नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गर्नुभएकाले त्यसैमा सहमति भएको बताए । उनले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको पनि बताए । छलफलपछि पत्रकारमाझ झाले भने, ‘मिलेर जानेबारे केहीबेर छलफल भएपनि त्यो सम्भावना देखिएन । अब हामी मिलेर जान सकेनौं । हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा हस्ताक्षर गरेर आइसकियो । उनले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिए । निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गरेको छ । जसपा विवाद समाधानका लागि आयोगले बुधबार इजलास गठन गर्ने छ र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेता सहभागी थिए ।
निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई ‘कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला दिएको थियो । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गरेका थिए । दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो । जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच विवाद चुलिदै गएको छ । एक वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजबादी पार्टी (सपा) बीच एकीकरण भएर जसपा पार्टी बनेको थियो । एकतापछि ठाकुर र यादव गरी दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो भने डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको थियो ।