![]()
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या प्रतिशतका हिसाबले देशभरिको तुलनामा राजधानी काठमाण्डूमा त्यति धेरै नदेखिएको भए पनि स्वास्थ्य सङ्कट नआओस् भनेर निकै सजग हुनुपर्ने समय आएको सरकारी अधिकारीहरूले बताएका छन् । 
शनिवार देशभरि कोरोनाभाइरसबाट सङक्रमित हुनेको सङ्ख्या 20,000 नाघेको थियो । एक दशकअघि गरिएको जनगणनामा उपत्यकाको जनसङ्ख्या २५ लाख देखिएको थियो । अहिले उल्लेख्य वृद्धि भएको स्थानमा शनिवारसम्म ५८१ सङ्क्रमित फेला परेका थिए । तीमध्ये ४०० भन्दा बढीमा सक्रिय सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ । खासगरी लकडाउन खुकुलो पारिएपछि सङ्क्रमण पुष्टि हुने क्रम हेर्दा सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसक्ने जोखिम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
काठमाण्डू उपत्यकामा किन उच्च जोखिम ? लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि (असार २७ गतेदेखि साउन ६ गतेसम्म) को विवरण हेर्दा झन्डै ४८,००० पीसीआर परीक्षण हुँदा १,३४५ मा सङ्क्रमण देखिएको थियो । तर लकडाउन खुकुलो भएपछिको ११ दिन (साउन ७ गतेदेखि १७ गतेसम्म) को विवरण हेर्दा झन्डै ५८,००० परीक्षणमध्ये २,०९२ वटामा कोरोनाभाइरस देखियो । यसको अर्थ लकडाउन अघि र पछि सङक्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको छ । केही सातादेखि वीरगन्ज र भारतसँग सीमा जोडिएका अन्य सहरहरूमा सङ्क्रमितको सङ्ख्या बढेको छ। काठमाण्डूमा सङ्क्रमण व्यापक रूपमा फैलिन सक्ने र बिरामीको सङ्ख्या ह्वात्तै बढ्न सक्ने जोखिम भएको डा. अधिकारी बताउँछन् ।
ठूलो जनघनत्व र मानिसहरूको निर्वाध आवतजावत भइरहेकाले त्यस्तो जोखिम भएको बताइन्छ । जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले सङ्क्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाण्डू जोखिममा रहेको बताए । “पछिल्लो समय काठमाण्डू उपत्यकामा बाहिरबाट आएका मानिसहरूको भन्दा फरक तरिकाले कोभिड-१९ पोजिटिभ भएकाहरू देखेका छौँ । खासगरी त्यस्ता मानिसहरू नाकामा देखिरहेका छौँ । परीक्षण नभई काठमाण्डू छिरेका मानिस पनि छन् र त्यस्ता मानिस ०.७ प्रतिशत छन् । ती व्यक्तिबाट पनि अरू मानिसलाई सरेको हुनसक्छ,” डा. अधिकारी भन्छन् । त्यसबाहेक समुदायमा गरिएको परीक्षणमा अन्यत्र यात्रा नगरेका मानिसमा पनि कोरोनाभाइरस देखिएकाले जोखिम धेरै रहेको ठानिएको उनले बताए ।
के छ स्वास्थ्य प्रणालीको स्थिति ? : सङ्क्रमणदर ह्वात्तै बढे बिरामीको चाप अस्पतालहरूले थेग्न कठिन हुनेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन् । सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शय्या १५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो सङ्ख्यामा २०० जति मात्रै वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अहिले उपलब्ध शय्या र भेन्टिलेटर सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा बिरामीको चाप थेप्न पर्याप्त नहुने उनीहरूको तर्क छ । “त्यसैले हाम्रो प्राथमकिता भनेकै सङ्क्रमणको रोकथाम हो। बिरामीको सङ्ख्या बढ्न थालेपछि क्षमताले नभ्याउन सक्छ,” डा. अधिकारीले भने । “काठमाण्डूभित्र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूको सङ्ख्या बढी हुने र अलि बढी जोखिममा भएका ठाउँहरूबाट आउने मानिसहरूको सङ्ख्या पनि बढेका कारणले पनि उपत्यका अलि बढी जोखिममा छ ।
के फेरि लकडाउन लाग्न सक्छ ? : कोरोनाभाइरसका कारण लगाइएको लकडाउन खुकुलो पारेपछि झापा, विराटनगर, बाँकेजस्ता सहरमा सङ्क्रमितको सङ्ख्या बढेको पाइयो । त्यसलगत्तै ती ठाउँहरूमा लकडाउन पुन: लगाइएको छ । सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पतालहरूले पर्याप्त सेवा दिन नसकिरहेको भनिएको वीरगन्जमा त निषेधाज्ञा नै जारी गरिएको छ । आइतवार काठमाण्डूस्थित महानगरीय ट्राफिक महाशाखा पनि सील गरिएको छ । लकडाउन खुकुलो गरिएपछि मानिसको आवतजावतका कारण सङ्क्रमणको जोखिम बढेकाले हिँडडुल र व्यापार-व्यवसायमा केही कडाइ गर्नपर्छ कि भन्नेबारे मन्त्रालयमा छलफल भएको जानकारी सहप्रवक्ता अधिकारीले दिए । जनस्वास्थ्यविद्हरूले पनि काठमाण्डूमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म थोरै देखिए पनि जोखिम भने उच्च रहेको बताएका छन् ।
“सीमामा परीक्षण कडाइ गर्नैपर्छ । त्यसबाहेक सर्वासाधारण आफैँ पनि सचेत हुनुपर्छ । लकडाउन खुलेको अवस्थामा जोखिम नै नभए जसरी अनावश्यक हिँडडुल गर्ने, मास्क नलगाउने र भौतिक दूरी कायम नगर्दा जोखिम धेरै रहन्छ,” डा. उप्रेतीले भने । अब के गर्नुपर्छ ? : जनघनत्व धेरै भएका विदेशका सहरमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न धेरै समय नलागेको देखिएकोले नेपालमा पनि त्यही अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । “दुवै खालका उदाहरण छन् । मानिस सचेत भएका विदेशी सहरमा सङ्क्रमण नियन्त्रणमा पनि आएको छ भने लापरबाही गर्ने सहरमा सङ्क्रमण निकै छिटो बढेको पनि छ । हामीले कुन उदाहरण मान्ने भन्ने मुख्य विषय हो, जनस्वास्थ्यविज्ञ डा. शरद वन्तले बताए । “भोलि काठमाण्डू ‘हटस्पट’ बन्न सक्छ भन्ने सम्भावना ख्याल गरेर सरकारले र आमनागरिकले त्यसैअनुसार सचेत भएर काम गर्नुपर्छ । लकडाउन खुकुलो पारिएपछि खासगरी जनसङ्ख्या धेरै भएकै ठूला सहरहरू सङ्क्रमण धेरै देखिएकाले पुन” लकडाउनमा फर्किएका छन् ।
काठमाण्डूमा पनि जोखिम उच्च रहेकाले त्यो लकडाउनमा जानुपर्ने स्थिति आउन सक्ने बताइन्छ । “अब हामीले सङ्क्रमणको साङ्लो भङ्ग गर्ने काम जति छिटो गर्छौं त्यतिपछि सर्छ र हटस्पट नै नहुन पनि सक्छ । यसमा उदासीन भयौँ भने चाहिँ चाडबाडको मुखमा सङ्क्रमणको दर ह्वात्तै बढेर व्यवस्थापन गर्न गाह्रो हुनसक्छ,” डा. वन्तले भने । savar link
You must be logged in to post a comment.