अमेरिकी साम्राज्यवादको कहरमा नेपाल, राष्ट्रहितविपरीत हुन सक्ने आशंका

Loading

People’s News  Kathmandu : अमेरिकी साम्राज्यवादको काहारमा नेपाल काठमाडौं । विश्व राजनीतिमा प्रभावशाली शक्ति मानिने अमेरिका पछिल्ला दशकहरूमा साना र विकासोन्मुख देशहरूमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा केन्द्रित देखिन्छ । नेपाल पनि यस प्रभावबाट अछुतो रहन सकेको छैन । कूटनीति, सहायता, सुरक्षा रणनीति र आर्थिक सहकार्यको नाममा देखिएको अमेरिकी सक्रियताले नेपालको राष्ट्रिय स्वाधीनता र नीतिगत स्वतन्त्रतामाथि प्रश्न उठ्न थालेका छन् ।

विशेषगरी पछिल्ला वर्षहरूमा सैन्य रणनीति, आर्थिक सम्झौता र वैदेशिक प्रभावका विषयमा नेपाली समाजमा व्यापक बहस चर्किएको छ । विकास सहयोगका नाममा आउने परियोजनाहरूले दीर्घकालीन रूपमा नेपाललाई परनिर्भर बनाउने खतरा रहेको विश्लेषकहरूको भनाइ छ । सहायता स्वीकार गर्दा त्यससँग जोडिएका राजनीतिक सर्तहरू राष्ट्रहितविपरीत हुन सक्ने आशंका पनि बढ्दै गएको छ ।

अमेरिकी कूटनीतिक चासो केवल विकास सहयोगमा मात्र सीमित छैन । भूराजनीतिक दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने नेपाललाई अमेरिका आफ्नो रणनीतिक खेलको हिस्साका रूपमा प्रयोग गर्न खोजिरहेको आरोप विभिन्न राजनीतिक वृत्तबाट उठ्दै आएको छ । यसले नेपाललाई शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको मैदान बनाउने जोखिम बढाएको छ । युवापुस्तामा समेत यस विषयमा चेतना बढ्दै गएको देखिन्छ । सामाजिक सञ्जाल, बहस र वैकल्पिक मञ्चहरूमा अमेरिकी साम्राज्यवादविरुद्ध प्रश्न उठाइँदैछन् । “विकास चाहिन्छ, तर स्वाधीनता बेचेर होइन” भन्ने आवाज बलियो बन्दै गएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपालले अब सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नु अपरिहार्य भएको छ । कुनै एक शक्ति राष्ट्रको प्रभावमा नपरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिन नसके नेपाल दीर्घकालीन संकटमा फस्न सक्ने चेतावनी उनीहरूको छ । समग्रमा, अमेरिकी साम्राज्यवादको काहार नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । यसबाट जोगिन राजनीतिक नेतृत्वको दृढता, नागरिक चेतना र राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता बनेको छ । नेपाल आज स्वतन्त्र राष्ट्रभन्दा बढी शक्ति राष्ट्रहरूको प्रयोगशाला बन्दै गइरहेको छ । विकास, सहयोग र लोकतन्त्रको खोक्रो भाषण बोकेर आउने अमेरिकी साम्राज्यवादले नेपाललाई विस्तारै आफ्नो रणनीतिक घेराभित्र तान्दै लगेको यथार्थ अब लुकाउन सकिने अवस्थामा छैन ।

अमेरिकाले जहाँ पाइला टेक्छ, त्यहाँ अस्थिरता, परनिर्भरता र राष्ट्रिय निर्णय क्षमताको क्षय सुरु हुन्छ । नेपालमा पनि यही क्रम दोहोरिँदैछ । अनुदान र सम्झौताका नाममा ल्याइने योजनाहरूको पछाडि लुकेको एजेन्डा स्पष्ट छ . नेपाललाई भूराजनीतिक मोहराको रूपमा प्रयोग गर्ने । आज नेपाली नीति–निर्माण प्रक्रिया विदेशी दूतावासको इसारामा चल्ने अवस्था सिर्जना हुँदैछ । संसदभन्दा बाहिर तयार हुने दस्तावेज, जनतासँग छलफल नगरी गरिने सम्झौता र “विकास विरोधी”को ठप्पा लगाएर असहमति दबाउने प्रवृत्तिले लोकतन्त्रको नांगो मजाक उडाएको छ ।

अमेरिकी साम्राज्यवादको सबैभन्दा खतरनाक पक्ष भनेको स्थानीय दलाल उत्पादन गर्ने क्षमता हो । सत्ता, डलर र भ्रमको लोभमा राष्ट्रिय स्वाधीनता साट्न तयार एउटा वर्ग तयार गरिएको छ, जसले राष्ट्रघातलाई “आधुनिक कूटनीति”को नाम दिन पनि हिच्किचाउँदैन । युवापुस्ता आज बेरोजगार, निराश र दिशाहीन बनाइँदैछ, तर उनीहरूलाई मूल समस्याबाट भड्काउन ‘अवसर’ र ‘स्टार्टअप’का नाराले ढाकछोप गरिँदैछ । जब युवाले प्रश्न उठाउँछन्, तब उनीहरूलाई अतिवादी, अप्रगतिशील वा विकास विरोधीको आरोप लगाइन्छ । यो साम्राज्यवादी रणनीतिको पुरानो तर सफल हतियार हो ।

नेपाल कुनै पनि शक्ति राष्ट्रको पिछलग्गु बन्नका लागि होइन, स्वाभिमानी अस्तित्वका लागि जन्मिएको राष्ट्र हो । यदि आजै अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध स्पष्ट र साहसी अडान लिन सकिएन भने भोलि निर्णय गर्ने अधिकार केवल कागजमा सीमित हुनेछ ।

अब प्रश्न स्पष्ट छ –

नेपाल सार्वभौम रहन्छ कि साम्राज्यवादी स्वार्थको चौकी बन्छ?

यसको उत्तर राजनीतिज्ञभन्दा बढी सचेत नागरिक र विद्रोही युवाले दिनुपर्ने समय आएको छ ।

Leave a Comment