पुरुषमा हुने प्रजनन स्वास्थ्य समस्याः विज्ञ चिकित्सकको अभाव

Peoples News : नेपालमा प्रजनन स्वास्थ्यका सम्बन्धमा महिलाहरूका लागि विभिन्न समस्याका उपचारको व्यवस्था सहज उपलब्ध भएपनि पुरुषहरूका लागि छुट्टै सेवाको अवधारणा विस्तारै विकास हुन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक रूपमा हालै मात्र पुरुषहरूको प्रजनन स्वास्थ्यबारे सातामा दुई दिन उपचार सेवा दिन सुरु गरेको छ । अनौपचारिक रूपमा गत वर्षदेखि नै दिइँदै आएको बताइए पनि औपचारिक रूपमा भने हालसालैबाट सेवा दिन थालिएको बताएका छन् । विदेशमा पुरुषको प्रजनन स्वास्थ्यको उपचारका लागि एन्ड्रोलोजिस्ट हुने भए पनि नेपालमा एकजना पनि त्यस्तो चिकित्सक नभएको डाक्टरले     बताए । 

कस्ता समस्या लिएर आउँछन् पुरुष ? : नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर शतीशकुमार देवले एन्ड्रोलोजिस्टका रूपमा एकजना पनि डाक्टर दर्ता नभएको बताए । हाम्रो कन्टेक्स्टमा युरोलोजीका डाक्टरले नै एन्ड्रोलोजी हेर्नुहुन्छ । आवश्यकता नपरेकै जस्तो लाग्छ मलाई । माग बढ्यो भने पक्कै पनि डाक्टरहरू आउलान् । तर अहिलेसम्म नभएको चाहिँ हो,” उनले भने । पुरुषमा बाँझोपन बढ्दो मात्रामै छ । पुरुषको प्रजनन स्वास्थ्यबारे समस्या पनि बढ्दो छ । प्रचारप्रसारको कमी र मनोसामाजिक कारणहरूले गर्दा पुरुषहरू आफ्नो प्रजनन स्वास्थ्यको उपचारका लागि हत्तपत्त आउने नगरेको अनुभव चिकित्सकहरूको रहेको छ ।

नेपालमा पुरुष प्रजनन स्वास्थ्यको उपचार खासगरी मूत्ररोग विशेषज्ञ (यूरोलोजिस्ट)ले गर्दै आएका छन् । शिक्षण अस्पतालमा पनि यूरोलोजिस्टहरूले नै उपचार गर्दै आएको डाक्टरले बताए । यूरोलोजी अन्तर्गत नै एन्ड्रोलोजीको केही क्रेडिट कोर्स आफूहरूले पढ्ने गरेको र छुट्टै एन्ड्रोलोजी विषय पढ्नका लागि नेपालमा कोर्स नभएको उनले बताए । त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागले यौन दुर्बलता, पुरुषमा हुने बाँझोपन, यौन तथा मनोसामाजिक समस्या, होर्मोन असन्तुलन, प्रजननमा हुने अन्य खालका समस्याको उपचार गरिने बताएको छ । उपचारमा आउने बिरामीको स्थिति हेर्दा धेरैमा शारीरिक समस्याका कारण यौन दुर्वलता र बाँझोपना देखिने गरेको पाइएको डाक्टरले बताए । पुरुषमा यौन दुर्वलता निम्त्याउने मुख्य कारण उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, थाइरोइडजस्ता होर्मोन हुन् । 

अध्ययनले पुरुष प्रजनन स्वास्थ्यबारे के देखायो ? : जनस्वास्थ्यविद् डाक्टर खेम कार्कीले महिला र शिशुको स्वास्थ्यमा धेरै ध्यान दिइँदै गर्दा पुरुषको स्वास्थ्य उपचारको विषय भने छायाँमा परेको अध्ययनबाट पाइएको बताए । हामीले गरेको एउटा राष्ट्रिय अध्ययनमा यौन दुर्बलता भएका मानिसहरूको सङ्ख्या बढेको पाइयो,” उनले भने । ७० प्रतिशत वयस्क पुरुषहरू र ६७ प्रतिशत वयस्क महिलाहरूमा यौन दुर्बलताको समस्या भएको पाइयो । यदि हामीले पुरुषको स्वास्थ्यबारे उपचार गर्न थालेनौँ भने यसले सामाजिक द्वन्द्व रअपराधहरू बढ्ने पुरुषको यौन जीवनसँग पनि जोडिएको देखियो । विज्ञानले बाँझोपन वा सन्तान नजन्मनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबरी जिम्मेवार हुने देखाए पनि नेपाली समाजमा महिलालाई मात्रै कारण मानिने र पुरुषलाई त्योसँग जोडेर नहेरिने गरेको डाक्टर कार्कीले बताए । 

सन्तान नहुनुमा एक तिहाइ महिलाको कारण हुन्छ, एक तिहाइ महिला पुरुष दुवैको कारण हुन्छ र बाँकी एक तिहाइ पुरुषको कारण हुन्छ। तर हामीले पुरुषको एक तिहाइ कारणलाई त कतै पनि सम्बोधन नै गरेका छैनौँ,” उनले भने । समाजको त्यस्तो बुझाइले गर्दा धेरैजसो पुरुषहरूले प्रजनन स्वास्थ्य समस्यालाई स्विकार नगर्ने र उपचार खोज्ने पनि नगरिएको देखिएको उनले बताए । कतिपयलाई त पुरुष प्रजनन उपचार सेवा हुन्छ र उपचार गर्ने ठाउँ छ भन्ने थाहा नभएको पनि डाक्टर कार्की बताउँछन् । उनले भने, नि:सन्तान हुनुमा पुरुषको पनि भूमिका हुन्छ र भन्ने अझै पनि हाम्रो समाजमा त्यस्ता कुराहरू छन् । 

Leave a Comment