नेपालको भ्रष्टाचार  र खस्किदो वित्तीय प्रणाली

Loading

पिपुल्स न्युज सप्तरी //बिरेन्द्र सरदार सप्तरी// मुलुकको बदलिँदो राजनैतिक परिवर्तनले देशमा देखिएका अकल्पनीय घटनाक्रमहरुले नेपाली समाज विक्षिप्त बनेको अवस्था छ । नेपाली समाज र व्यक्तिको आचरणमा उदण्डता अराजकता अशान्ति र विद्रोह जस्ता प्रवृतीले जग गाडेको छ । नकारात्मक परिस्थितीको आविष्कार भएको छ । मुलुकको अर्थ व्यवस्था धरासायी बन्दै गएको छ । नेपालमा चरम आर्थिक संकटको जन्म भएको छ । नेपालमा बहुदलीय प्रजातन्त्र आए देखिको अवस्थालाई पछाडि फर्केर हेर्ने हो भने राज्य संवैधानिक रूपमा चलेको देखिँदैन । देश केवल राजनैतिक पृष्ठभूमिबाट चलेको अवस्था छ । जसका कारण नेपाली जनतामाझ अभाव र वितृष्णाको कहालीलाग्दो परिस्थिति सिर्जना भएको छ । नेपाली जनताको अवस्था अत्यन्त नाजुक छ । देशका लागि केही गर्न सक्ने युवाहरुको सपना विदेशको गन्तव्यमा विलीन भएको छ । युवाहरु विदेशिनु पर्ने बाध्यताले देश युवाविहीन भएको छ । जताततै अराजकता अशान्ति र विद्रोहले युवापिढीको कार्य कौशलतालाई कुण्ठित गर्ने विषम परिस्थिति सिर्जना भएको छ । भ्रष्टाचारको भारले थिचिएको यहाँको अर्थतंत्र ओइलिएको छ । वित्तीय बाजार थलिएको छ । उद्योगी, व्यापारी ,मजदुर लगायत आम नागरिकको जीवन शैलीमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । यो परिस्थितिलाई भ्रष्टाचारबाट उपज परिस्थिति को रूपमा लिन सकिन्छ ।

भ्रष्टाचार के हो र कसरी हुन्छरु हाल विश्वव्यापी रूपमा भ्रष्टाचार एउटा महामारीको रूपमा फैलिएको छ । यसबाट हाम्रो देश नेपाल पनि अछुतो छैन । विकसित देशहरूको तुलनामा नेपाल भ्रष्टाचार हुने देशहरूको अग्रणी स्थानमा रहेको छ । भ्रष्टाचारको जन्म मानिसको निजी स्वार्थ र नैतिक पतन बाट हुन्छ । कुनैपनि सरकारी, गैर सरकारी निकाय वा सरकारी स्वामित्वमा रहेका कार्यालयमा कानूनी मापदण्ड विपरीत हुने आर्थिक चलखेल भ्रष्टाचार हुन । भ्रष्टाचार हाल विश्व व्यापी रूपमा फैलिएको एक जटिल समस्या को रूपमा हामी सामु उभिएको छ । भ्रष्टाचारका विभिन्न पाटा हरु छन । सरकारी कार्यालयबाट हुने भ्रष्टाचार, संस्थागत भ्रष्टाचार , राजनैतिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार । यी सबैलाई केलाउँदै जाँदा यी सबैको स्वरूप भिन्न हुन्छ र आकार पनि फरक हुन्छ ।

सरकारी कार्यालयबाट हुने भ्रष्टाचार : कुनैपनि सरकारी कार्यालयमा आफ्नो निजी स्वार्थका लागि सरकारी स्रोत साधन को दूरुपयोग गर्नु , राजस्वको रकम अपचलन गर्नु, गैरकानुनी रूपमा कागजात तयार गर्नु र सो बापत सेवा ग्राहीबाट रकम लिनु जस्ता कार्य सरकारी कार्यालय अन्तर्गतको भ्रष्टाचार बुझ्न सकिन्छ । यस्ता भ्रष्टाचार विभिन्न कार्यालयहरुमा कर्मचारीबाट हुने गर्दछ । सरकारी कार्यालयमा हुने भ्रष्टाचारले खासगरी कुनै कामको सिलसिलामा कार्यालयमा पुग्ने सेवाग्राहीहरुलाई काममा ढिलाइ गर्ने , कर्मचारीले विभिन्न बहाना बनाउँदै सेवा ग्राहीलाई पटक पटक कार्यालय धाउन बाध्य गर्ने प्रवृत्तिले सेवा ग्राही घुस दिन बाध्य हुन्छन् । यसबाट कर्मचारीमा घुसखोरी प्रवृत्तिको विकास भएको देखिन्छ । संस्थागत भ्रष्टाचारस् हाम्रो देशमा संस्थागत रूपमा काम गर्ने संस्थाहरुको उल्लेखनीय रूपमा वृद्धि भएको छ । राज्यको हरेक क्षेत्र काम गर्ने राष्ट्रिय स्तरमा देखि अन्तर्राष्ट्रिय स्तरको संस्थाहरुले काम गर्दै आइरहेको छ । खासगरी वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरुको संख्या धेरै छन् । देशमा संस्थाको रूपमा काम गरिरहँदा देशको आर्थिक र सामाजिक स्वरूप बलियो हुनुपर्ने हो नि तर हालको अवस्था हेर्दा जटिल परिस्थिति उत्पन्न भइरहेको छ । यसको मुख्य कारण भ्रष्टाचार नै हो । कुनैपनि संघ संस्था व्यक्तिको दैनिकी संग जोडिएको हुन्छ । व्यक्तिको आत्मनिर्भरता को पाठ पढाउँदे आएका यस्ता संस्थाका सञ्चालक देखि कर्मचारी भ्रष्ट हुँदै गएको छ । हालको उपज परिस्थितिले साबित गर्दछ । सामाजिक रुपान्तरणमा प्रमुख भूमिका निर्वाह गर्ने दायित्व बोकेका संस्थाहरूबाट आम नागरिकहरु ठगिएका छन् । यसबाट राष्ट्रमा अराजकता फैलिएको छ ।

राजनैतिको भ्रष्टाचारस : राजनैतिक भ्रष्टाचारको स्वरूप भयावह र विकराल हुन्छं ।यसले कुनै पनि राष्ट्रको विकास गति र अर्थ व्यवस्थालाई धरासायी बनाउँछ । यस्ता खालका भ्रष्टाचार देशका उच्च तह तप्कामा बस्ने मन्त्री, नेता तथा राजनैतिक कार्यकर्ताबाट हुने गर्दछ । हाम्रो देश नेपालको बदलिँदो राजनैतिक परिस्थितिका कारण राजनैतिक भ्रष्टाचार हुन्छ । बहुदलीय प्रजातन्त्र आएसँगै देशमा दलिय भागबन्डा, देशको नीतिगत बजेट वाट विकासका काममा खर्चिनु पर्ने रकममा कमिसन खोरी, घुसखोर जस्ता स्वरूपमा रुपान्तरित भई विकासको गति रोकिन्छ । देशको भौतिक सँसाधनको विकास क्रम देखि देशको अर्थ तंत्र को टाट पल्टिन्छ ।

नीतिगत भ्रष्टाचारस : नीतिगत भ्रष्टाचार भनेको सरकारको नीतिमै परिवर्त्तन वा संसोधन बाट गरिने भ्रष्टाचार हो । यसको स्वरूप सुक्ष्म हुन्छ । तर यो राज्यको लागि अति खतरनाक सिद्ध हुन्छं । यस्ता भ्रष्टाचारलाई केलाउन अति कठिन हुन्छ किनभने यो भ्रष्टाचार कानुन सम्मत हुन्छ । यो भ्रष्टाचार कानुन मिचिएर अग्रिम बनाएको नीति अनुरुप हुन्छ । यस्ता भ्रष्टाचार कुनै पनि योजना को निती बनाउँदा पछि गएर भ्रष्टाचार जस्तो नदेखिने गरी बनाएको गैर कानूनी नीति अन्तर्गत हुन्छ । यसबाट राज्यका उच्च पदाधिकारी देखि ठूलठूला व्यापारीको सक्रियतामा बन्छ । तर भ्रष्टाचार सम्बन्धी खोज अनुसन्धान वाट मात्र भ्रष्टाचार भएको बुझ्न सकिन्छ । यस्ता खालका भ्रष्टचार खासगरी ठूला ठूला योजना आयोजनाका कामहरूमा हुनेगर्दछ ।

भ्रष्टाचार किन हुन्छ : सुशासन समृद्धिको आधार हो । कुनै पनि राष्ट्रको सुशासनको स्वरुपसंग त्यहाँको अर्थतन्त्र जोडिएको हुन्छ र अर्थतन्त्रसँग त्यहाँको समृद्धि । राज्यको सुशासन प्रणाली बलियो छ भने त्यहाँ विकृति उत्पन्न हुने सम्भावना न्यून हुन्छ । सुशासन ले व्यक्तिको अनुशासनको जगेर्ना गर्दछ । तर हाल यसको विपरीत परिस्थिति छ । यस अर्थमा की यहाँको सुशासन प्रणाली कमजोर छ,भ्रष्ट छ । भ्रष्टाचार हुनुको प्रमुख कारण भनेको कमजोर शुसासन प्रणाली हो । त्यस्तै व्यक्तिको नैतिक चरित्र पतन, व्यक्तिगत स्वार्थ लालच र भ्रष्टाचार विरुद्धको चेतनाको अभाव पनि भ्रष्टाचार हुनुको कारण हो । कर्मचारीको न्युनत्तम पारिश्रमिक वृद्धि नहुनु , कार्यालय हरुमा प्रविधिको पहुंच नहुनु, जस्ता कारण हरु ले भ्रष्टाचार हुने गर्दछ । कार्यालयमा कर्मचारी सँग सेवाग्राहीको सरल पहुंच नहुनुका कारण पनि भ्रष्टाचार हुने गर्दछ ।


देशमा विद्यमान राजनैतिक परिस्थिति परिवर्तनीय छ । यहाँको सरकार स्थिर छैन । हालको राजनैतिक स्वरूपका आधारमा तीनवटै तहबाट संचालित योजना आयोजनाका कामहरूमा भ्रष्टाचार हुने अवस्था प्रबल हुन्छ किनकि सरकार स्थिर छैन । जो आउँछन् छोटो समय का लागि आउँछन् र भ्रष्टाचार गरेर जान्छन् । यो पनि हाम्रो देशमा हुने भ्रष्टाचारको प्रमुख कारण हुन । भ्रष्टाचार विरुद्धको प्रभावकारी ऐन को कमी, भ्रष्टाचारी विरुद्धको सरकारको कठोर सजाय को व्यवस्था नहुनुले पनि नेपालमा चरम भ्रस्टाचार हुने गर्दछ । भ्रष्टाचार विरुद्धको कानुन भएता पनि राजनैतिक कारणले प्रभावकारी रूपमा कार्यान्यन हुन सकेको छैन । यसकारणले भ्रष्टाचारी प्रवृत्ति झन् उग्र बन्दै गएको छ । भ्रष्टाचार न्यूनीकरण गर्न के कस्ता प्रयास गर्न सकिन्छरु भ्रष्टाचार न्यूनीकरणका लागि यसको विरुद्धमा कामगर्ने सरकारी र संस्थागत दुवै तर्फबाट भई गरेको पाइन्छ । यद्यपि खासै उपलब्धि भई नसकेको अवस्था अहिलेको विद्यमान परिस्थिति बाट आँकलन गर्न सकिन्छ ।

खासगरी अख्तियार दूरुपयोग अनुसन्धान केन्द्रले गरेको काम कार्यवाहीबाट केही हदसम्म न्यूनीकरण भएको देखिएतापनि राजनितिक परिवर्तनका कारण पूर्ण सफल हुनसकेको छैन । जब सम्म राज्यसंयन्त्र द्वारा ठोस कदम उठाउँदैन तबसम्म यसको न्यूनीकरण हुन सक्दैन । यस्तै दक्षिण एशियाली मुलुक हरुमा भ्रष्टाचारले उग्ररुप लिएसँगै ट्रान्सपरेन्सी इन्टरनेशनल ले पनि भ्रष्टाचार विरुद्ध काम गर्दै आइरहेको छ । तिनले यी मुलुकमा भ्रष्टाचार विरुद्ध गरेका खोज र अध्ययन प्रतिवेदन प्रति चासो नराखेको ले पनि यी देशहरुमा चरम भ्रष्टाचार भएको देखिन्छ । भ्रष्टाचार न्यूनीकरणमा राज्य वा कुनै संस्थागत तवरबाट मात्र सम्भव हुँदैन । यसमा सबै को समान सहभागिता र सहकार्यको आवस्यकता पर्दछ । भ्रष्टाचार न्यूनीकरण का लागि राज्यबाट ठोस र प्रभावकारी कानुनको निर्माण हुनुपर्छ । राष्ट्रप्रति राष्ट्रप्रेमको भावना जागृत गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्छ । भ्रष्टाचारलाई यसको नकारात्मक पक्षलाई विद्यालय शिक्षा सँग जोड्नु पर्छ । आम नागरिकमा भ्रष्टाचार विरुद्धको कार्यक्रममा सहभागी गराउने नीतिगत कार्यक्रम ल्याउनु पर्छ । भ्रष्टाचार कोही एक्लैले गर्न कठिन हुन्छ, यसमा कहीं न कहीं हामी पनि समावेश भएका हुन्छौ । भ्रष्टाचार अपराध हो भने हामी नेपाली जनता जागरुक हुनुपर्छ । आफ्नो सोच बदल्नु पर्छ । व्यवहारमा परिवर्तन ल्याउनु पर्छ । सकरात्मक सोचका साथ सबै मिलेर अघि बढ्यौं भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । 

Leave a Comment