![]()

चाँदीपुरा भाइरस के हो ?
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) मस्तिष्कसम्बन्धी रोगहरूको त्यस्तो समूह हो जुन भाइरस, ब्याक्टेरिया, फङ्गाइ, प्यारासाइटस् र रसायनजस्ता रोग लगाउने विभिन्न कारकहरूबाट हुन्छ । चाँदीपुरा भाइरस (सीएचपीभी) एउटा त्यस्तै मध्येको भाइरस हो । यो राब्डोभेरिडाइ फेमिली अन्तर्गत पर्छ र खासगरी वर्षा याममा पश्चिम, मध्य र दक्षिणी भारतमा यस्को प्रकोप देखिन्छ । अमेरिकी सरकारको न्याश्नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनस्थित न्याश्नल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित “चाँदीपुरा भाइरस: एन इमर्जीङ् ट्रपिकल प्याथोजेन” नामक अनुसन्धान पत्रमा लेखिए अनुसार चाँदीपुरा भाइरस भजिक्यूलोभाइरस जातिको आर्बोभाइरस हो । सन् २००३ देखि २००४ मा मध्य भारतमा यो भाइरसको प्रकोप देखिएपछि यसबारे सबैले थाहा पाएका थिए । यो भाइरस भारत, भुटान, नेपाल, श्रीलङ्का र अफ्रिकाका सेनेगल र नाइजिरियाजस्ता देशमा पनि पाइएको थियो। यो सन् १९६५ मा भारतमा पहिलो पटक पहिचान गरिएको थियो ।
चाँदीपुरा भाइरस कसरी फैलिन्छ ?
गुजरातको स्वास्थ्य विभागले चाँदीपुरा भाइरस ‘स्यान्ड फ्लाइज’ भनिने एक किसिमको भुसुना र किर्नाजस्ता किराबाट फैलिने जनाएको छ । हिम्मतनगर सिभिल हस्पिटलस्थित बाल रोग विभागका प्रमुख तथा बाल रोग विशेषज्ञ डा. आशिष जैनले बोल्दै भने, “चाँदीपुरा भाइरस प्राय: स्याण्ड फ्लाइ र कहिलेकाहीँ लामखुट्टेबाट फैलिन्छ। यी भुसुनाजस्ता किराहरू खरका घरहरू वा माटोका घरहरूमा परेका चिरामा भेटिन्छ । उनले भने, “सिमेन्टको छत भएका घरहरूमा चिरा परेका ठाउँमा यदि धुलो वा माटो भए त्यहाँ पनि स्याण्ड फ्लाइ भेटिन्छ । उनीहरूको सङ्ख्या कम प्रकाश भएको वा अँध्यारो ठाउँमा फैलिन्छ । डाक्टर जैनले व्याख्या गरेका छन्, “यो भाइरस त्यति सङ्क्रामक छैन । यदि एउटा बच्चामा छ भने अर्को बच्चामा सोझै सर्दैन । तर यदि सङ्क्रमित बच्चालाई टोकेको किराले अर्को स्वस्थ बच्चालाई टोक्यो भने सर्छ । अहिले भने यो जताततै देखिनभन्दा पनि केही विशेष गाउँहरू र क्षेत्रमा देखिएको छ । न्याश्नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनले यो भाइरसलाई सार्ने कार्यमा खास गरी स्याण्ड फ्लाइ नै जिम्मेवार रहेको देखिएको उल्लेख गरेको छ। यो थुप्रै प्रकारका जनावरमा पनि पाइएको छ ।
बालबालिकामा यो भाइरस लाग्दा कस्ता लक्षणहरू देखिन्छन्?
पाँच वर्षीया किन्जल जुलाई महिनाको सुरुमा एकदमै बिरामी भइन् र उनलाई अस्पताल लगियो । अस्पताल लगेको चौथो दिनमै उनको मृत्यु भयो । परीक्षण गर्दा उनमा चाँदीपुरा भाइरस देखियो । थाहा भएसम्म गुजरातमा उक्त भाइरसको पहिलो पीडित विरामी उनै किन्जल हुन् । किन्जलकी आमा जाग्रुती नीनमाले आफ्नो बच्चा बिरामी हुँदा के भएको थियो भनेर यसरी सुनाइन्, “पहिला, उनमा ज्वरो देखियो, त्यसपछि मुर्छा पर्न थालिन् । जति पटक मुर्छा पर्थिन् उनको अवस्था त्यति नै बिग्रिँदै गयो । उनलाई रगत दिइयो तर त्यसले केही फरक परेन । चाँदीपुरा भाइरसको लक्षणहरूबारे थप थाहा पाउन विशेषज्ञ चिकित्सकहरूसँग कुरा गरेको छ । अहमदावादस्थित एकेडेमी अफ पिडियाट्रिक्सका अध्यक्ष तथा बाल रोग विशेषज्ञ डाक्टर उन्मेष उपाध्यायले भने, “भाइरस सरेको केही घण्टामै बालबालिकामा उच्च ज्वरो देखा पर्छ । उनीहरूको शरीरको तापक्रम १०२ देखि १०६ डिग्री फरेनहाइटसम्म हुन्छ । उनले थपे, “टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने र मुर्छा पर्ने सँगै ज्वरो आयो भने यो चाँदीपुरा भाइरस लागेको सङ्केत हुनसक्छ । अरावलीका प्रमुख जिल्ला स्वास्थ्य अधिकारी एम. ए सिद्धिकीले भने, ” पोथी स्याण्ड फ्लाइले टोकेपछि बालबालिकामा लगातार ज्वरो आउँछ । बच्चाको शरीरको तापक्रम एकदमै उच्च हुन्छ । उनीहरूमा पखाला लाग्ने, बान्ता हुने, मुर्छा पर्ने, र बेहोस हुने पनि हुन्छ । अवस्था बिग्रिँदै गए बच्चाको मृत्यु नै पनि हुनसक्छ । गुजरातका स्वास्थ्य मन्त्री ऋुषिकेश पटेलले प्रारम्भिक लक्षण देखिने बिरामीहरू तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल जानुपर्नेमा जोड दिए ।

चाँदीपुरा भाइरस कति घातक हो?
इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित ‘चाँदीपुरा भाइरस इन्फेक्सनमा बदलिँदो क्लिनिकल परिदृश्य’ शीर्षकको अनुसन्धान पत्रमा ए.बी. सुदीप, वाइ.के. गुरभ, र भी.पी. बोन्द्रेले लक्षण देखिएको २४ घण्टाभित्रै धेरै बालबालिकाको मृत्यु भएको उल्लेख गरेका छन् । उच्च ज्वरो आउने लक्षणबाट उक्त रोग देखा परे पनि पछि भने मुर्छा पर्ने, पखाला लाग्ने, बान्ता हुने र अन्ततः मृत्यु नै हुने हुन्छ । त्यसको कारण सामान्यतया इन्सेफलाइटिस नै हुने गर्छ जुन गम्भीर प्रकृतिको मष्तिष्क सङ्क्रमण हो । डा. आशिष जैनले रोगको गम्भीरताबारे बताउँदै भने, “यो रोग लागेका बालबालिकामा मृत्युदर ८५ प्रतिशतसम्म उच्च छ । यो भनेको १०० बालबालिकालाई चाँदीपुरा भाइरस सर्यो भने जम्मा १५ जना मात्रै बाँच्छन् । उनले भने, “माटोको घरमा वा अलि फोहोरी क्षेत्रमा बस्ने ९ देखि १४ वर्ष उमेरका बालबालिकामा रोग प्रतिरोधी क्षमता तुलनात्मक रूपमा कम हुन्छ जसका कारण उनीहरू यो रोगसँग लड्न त्यति सक्दैनन् । गुजरात राज्यमा चाँदीपुरा भाइरसका कारण धेरै बालबालिकाको मृत्यु भएका कारण त्यहाँको सरकारले भाइरसको फैलावट नियन्त्रण गर्न, सङ्क्रमितलाई उपचार गर्न र यसबारे चेतना फैलाउन काम गरिरहेको जनाएको छ ।
चाँदीपुरा भाइरसको उपचार छ ?
चिकित्सकहरूका अनुसार यो भाइरसका लागि विशेष उपचार छैन । लक्षणका आधारमा उपचार गरिने हो र यसका विरुद्ध अहिलेसम्म कुनै खोप पत्ता लगाइएको छैन । डा. उन्मेष उपाध्याय भन्छन्, “अहिले वर्षा याम भएका कारण भाइरल ज्वरो सामान्य हो । तर ज्वरोको साथै पखाला लाग्ने, बान्ता हुने, र शरीर बाउँडिने जस्ता लक्षणहरू देखिए बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ । उनले थपे, “यो रोगका लागि विशेष एन्टिबायोटिक केही छैन । यदि बच्चामा ज्वरो देखियो भने चिकित्सकले पारासिटामोल दिन्छन् । यदि बच्चालाई सास फेर्न गाह्रो भए उनीहरूलाई भेन्टिलेटरमा राखिन्छ । डा. सिद्धिकीको सुझाव छ, “सबै जनाले र खास गरी बालबालिकाले हातखुट्टा छोपिने गरी लुगा लगाउनुपर्छ । लामखुट्टे आउन नदिने क्रिम लगाउनुपर्छ । घरमा चिरा परेका खाली ठाउँमा मेलाथियोन छर्किनुपर्छ । खेत नजिकै बसोबास गर्ने मानिसहरूले पनि आफ्नो घरमा कीटनाशक छर्किनुपर्छ । सरकारले पनि मेलाथियोन पाउडर छर्किएर यो रोग नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । मेलाथियोन त्यस्तो किटनाशक हो जुन भाइरस र ब्याक्टेरिया फैलाउने किराहरू नियन्त्रण गर्न प्रयोग गरिन्छ ।