ईईई भाइरस भेटिएको पुष्टि

Peoples News : ईईई ‘ईस्टर्न एक्वाइन एन्सेफलाइटिस’ को सङ्क्षिप्त रूप हो । संयुक्त राज्य अमेरिकाको पूर्वोत्तर भागमा लामखुट्टेमा ईईई भाइरस भेटिएको पुष्टि भएपछि त्यहाँका केही स्थानमा उच्च सतर्कता कायम गरिएको छ । उक्त भाइरस दुर्लभ भए पनि प्राणघातक मानिन्छ । ईईई ‘ईस्टर्न एक्वाइन एन्सेफलाइटिस’ को सङ्क्षिप्त रूप हो । यसलाई ‘ट्रिपल ई’ पनि भनिन्छ । म्यासचूसिट्स राज्यका केही स्थानहरू उक्त रोगको उच्च वा गम्भीर जोखिम देखा परेको घोषणा गरिएको छ । ईईई भाइरस सङ्क्रमित लामखुट्टेले टोक्दा सर्छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यूह्याम्शर राज्यमा एक अधबैँसे व्यक्तिको ईईईका कारण मृत्यु भएको छ । म्यासचूसिट्स राज्यमा ८० वर्षमाथिका एक वृद्धलाई पनि ईईई सङ्क्रमण भएको बताइएको छ । अमेरिकामा यो रोगलाई दुर्लभ मानिन्छ । प्रत्येक वर्ष यो कुल ११ जनामा मात्र देखिने गरेको ‘सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी)ले जनाएको छ । म्यासचूसिट्समा सन् २०१९ र २०२० मा कुल १७ जनामा ईईई पुष्टि भएको थियो । तीमध्ये सात जनाको मृत्यु भयो । अमेरिकाको पूर्वी तटीय भेगमा क्यानडादेखि गल्फ अफ मेक्सिको र क्यारिबीअन तथा दक्षिणमा आर्जेन्टिनासम्मै ठाउँठाउँमा ईईईको सङ्क्रण फैलिएको पाइएको छ । 

ईईई भाइरस फैलिन नदिने उद्देश्यले म्यासचूसिट्समा बन्द गरिएको एउटा सार्वजनिक उद्यान

ईईई कसरी सर्छ :  ईईई भाइरस लामखुट्टेले प्रायः चराचुरुङ्गी, घोडा र मानिसमा सारिदिन्छ। यद्यपि सङ्क्रमण भएका अधिकांश मानिसमा कुनै लक्षण देखिँदैन । यो निकै दुर्लभ हुन्छ। तर यसबाट गम्भीर समस्याहरू उत्पन्न हुन सक्छन् । ईईईको सङ्क्रमण हुँदा ज्वरो आउन सक्छ अनि मस्तिष्कमा खतरनाक सुजन हुन सक्छ । सीडीसीका अनुसार बिरामी पर्ने एकतिहाइ सङ्क्रमित व्यक्तिको मृत्यु हुन सक्छ । यो भाइरस मानिसबाट मानिसमा भने सर्दैन ।

भाइरल एन्सेफलाइटिस, प्रतीकात्मक चित्राङ्कन

ईईईबाट सङ्क्रमण हुँदा कस्तो लक्षण देखिन्छ?ईईईबाट मानिसमा सङ्क्रमण हुँदा चारदेखि १० दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् । बिरामीमा ज्वरो आउने, काम छुट्ने, जीउ र जोर्नी दुख्ने जस्ता लक्षणहरू देखिन सक्छन् । बिरामीलाई एकदेखि दुई साता समस्या हुन सक्छ । केन्द्रीय मस्तिष्क प्रणालीमा असर नपुगेका अधिकांश बिरामीहरू पूरै निको हुन्छन् । तर केही बिरामीमा ‘मेनिन्जाइटिस’ (मस्तिष्क तथा मेरुदण्डभित्र हुने ‘स्पाइनल कर्ड’ अर्थात् सुषुम्नालाई ढाक्ने झिल्लीको सुजन) वा ‘एन्सेफलाइटिस’ (मस्तिष्कको सुजन) हुन सक्छ । दीर्घकालमा बिरामीको बौद्धिक क्षमतामा ह्रास आउने, विभिन्न किसिमका मानसिक समस्या आउने, मूर्च्छा पर्ने, पक्षाघात हुने र गर्धनमा समस्या आउने पनि हुन सक्छ ।
ईईईबाट कसरी जोगिने?
म्यासचूसिट्सको एउटा बस्तीनजिकै लामखुट्टे नियन्त्रण गर्न कीटनाशक विषादी छर्कन थालिएको छ

तस्बिरको क्याप्शन,म्यासचूसिट्समा जोखिममा परेको ठानिएका क्षेत्रहरूमा लामखुट्टे नियन्त्रण गर्न कीटनाशक विषादी छर्कन थालिएको छ

ईईईविरुद्ध खोप बनेको छैन। यसको उपचार गर्ने औषधि पनि छैन । बिरामीलाई अस्पतालमा रक्तनलीबाट तरल पदार्थ दिइन्छ अनि सास फेर्न सजिलो बनाइन्छ । म्यासचूसिट्समा उच्च वा गम्भीर जोखिम परेको ठानिएका बस्तीरूमा अहिले लामखुट्टेको टोकाइबाट जोगिन भनिएको छ । 

त्यसका लागि:

  • साँझ परेपछि घरबाहिर ननिस्कन भनिएको छ किन भने लामखुट्टे प्रायः साँझपख सक्रिय हुन्छ
  • लामखुट्टे भगाउने रासायनिक पदार्थ प्रयोग गर्न भनिएको छ
  • पूरै शरीर ढाक्ने गरी कपडा लगाउन भनिएको छ
  • लामखुट्टेलाई घरभित्र पस्न नदिन झ्यालमा जाली राख्न भनिएको छ
  • लामखुट्टेलाई फुल पार्न र सन्तान उत्पादन गर्न नदिन घर र वरपर पानी जम्न नदिन भनिएको छ

म्यासचूसिट्समा जोखिममा परेका क्षेत्रहरूमा लामखुट्टे नियन्त्रण गर्न कीटनाशक विषादी छर्कन थालिएको छ। त्यसका लागि साना विमान र लरीहरू प्रयोग गरिँदै छ।

ईईई कति सामान्य हो ? 

फ्लोरिडास्थित एउटा सिमसारयुक्त जङ्गलमा एउटा बकुला र एलिगेटर

तस्बिरको क्याप्शन,अमेरिकी महादेशहरूमा प्रायः दलदलमा बस्ने चराचुरुङ्गीहरू ईईई भाइरसबाट प्रभावित हुन्छन्

ईईई भाइरस दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशमा समुद्रसँग जोडिएका भूभागमा देखिएको छ । यो भाइरस पहिलो पटक सन् १९३३ मा डेलवेर, म्यारिल्यान्ड र भर्जिनिया राज्यमा घोडामा फेला परेको थियो । यो भाइरस दलदल र सिमसार भएका क्षेत्रमा हुने लामखुट्टेले सार्ने अनि मानिसहरू प्रायः त्यस्ता ठाउँमा नजाने भएकाले मानिसमा हत्तपत्त सङ्क्रमण हुँदैन । बरु लामा खुट्टा हुने चराहरूमा सङ्क्रमण सर्न सक्छ । धेरै प्रजातिका चराचुरुङ्गीले रोग सार्छन् तर आफू प्रभावित हुँदैनन् । यो वर्ष संयुक्त राज्य अमेरिकामा पाँच जनामा ईईई सरेको पुष्टि भइसकेको छ । यसअघि प्यानमा, ट्रिनिड्याड र ब्रजिलमा पनि ईईईबाट बिरामी परेका मानिसहरू फेला परेका थिए । 

होन्डुरसमा डेङ्गी फैलिएपछि लामखुट्टे नियन्त्रण गर्ने साधन बोकेर हिँड्दै एक व्यक्ति

तस्बिरको क्याप्शन,तापमानवृद्धिका कारण दुवै अमेरिकी महादेशमा लामखुट्टेले सार्ने ईईई र डेङ्गीजस्ता रोग बारम्बार फैलिन सक्ने विज्ञहरूले बताएका छन्

जलवायु परिवर्तनका कारण भविष्यमा ईईईको प्रकोप फैलिने क्रम बढ्न सक्ने आशङ्का विज्ञहरूले गरेका छन् । वायुमा आर्द्रता कम्तीमा ४२ प्रतिशत भएको अवस्थामा लामखुट्टे १० देखि ३२ डिग्री सेल्सिअसमा सक्रिय हुन्छ । अनुसन्धानमूलक समूह ‘क्लाइमेट सेन्ट्रल’ का अनुसार अहिले संयुक्त राज्य अमेरिकाको तीनचौथाइ भागमा ताता र ओसिला दिनहरूको सङ्ख्या सन् १९७९ को तुलनामा प्रतिवर्ष औसतमा १६ दिन बढेको छ । विज्ञहरू वर्षभरि लामखुट्टे सक्रिय हुने समयावधि बढ्नु भनेको तिनले ईईईजस्ता खतरनाक रोग सार्ने जोखिम पनि बढ्नु हो भन्ठान्छन् ।

पिपुल्स न्युज

Leave a Reply