पहिरो : पहाडै खस्ने डर

Loading

पिपुल्स न्युज : नजिकै दायाँ भागमा नागढुंगा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खस्लाझैँ भएर बसेको छ ।  माथिबाट सर्किँदै सडकतिर आइरहेको छ । चिरा परेको पहाडको माथिल्लो भागबाट पानी पस्ला भनेर निला प्लास्टिकले ठाउँठाउँमा टालिएको छ । तल्लो तहबाट फलामे बारमार्फत पहिरो रोक्ने असफल प्रयास भएको देखिन्छ ।

नौबिसेबाट राजधानी आउने क्रममा उकालो चढ्दै गर्दा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकामा पर्ने खत्रीपौवा राजधानी काठमाडौंबाट नजिकै छ । काठमाडौंबाट ओरालो झर्दा दायाँपट्टि सुरुमार्ग र बायाँपट्टि रातमाटे डाँडा छ । बाटो मोडिँदै गर्दाको पहाड भास्सिकेको छ । केही अघि त्यहाँ पहिरो खस्दा दुई दिन सडक नै अवरुद्ध भयो । अहिलेसम्म भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएको छैन, तर वेलैमा ध्यान नदिए ठूलै क्षति व्यहोर्नुपर्ने अवस्थामा रहेको भूगर्भविद्को प्रतिक्रिया छ ।

भस्किएको पहाडमा केही कच्ची र केही ठूला पक्की घर परेको छ । केही घर उच्च जोखिमा छ । रातोमाटोमा गेगर मिसिएकोजस्तो थुप्रो वेलावेलामा ह्वारह्वार खसेर सडकमा आइपुग्छ, उक्त सडक प्रयोग गर्ने चालक र यात्रु अहिले डराइडराई यात्रा गर्न बाध्य छन् । ‘कतिवेला माथिबाट खसेर पुर्ने हो, थाहै हुन्न,’ एक यात्रुले प्रतिक्रिया दिए ।

व्यस्त सडकमा पहिरोको जोखिम हुँदा र सडकमा पहिरोले असर गरेकाले सहज सवारी आवागमन नहुँदा दैनिक लामो जामको सामना गर्नुपरिरहेको छ । मुख्य राजमार्गमा अहिले पहिराको धराप थापेजस्तै छ । कतिखेर खसेर सडकमा गुडिरहेका सवारीमा पर्ने हो भन्ने कुनै पत्तो छैन । ठूलो भेल पहिरो गयो भने त्यसले तल्लो तटीय क्षेत्रमा समेत ठूलै असर गर्ने देखिएको छ । कैयौँ यात्रुको ज्यान लिने सम्भावना उत्तिकै छ । पहाडका चिरामा प्लास्टिकले छोप्ने कामबाहेक अरूउपाय अपनाइएको देखिँदैन ।

त्यस ठाउँको खोला ठूलो छैन, तर पहिरोसँगै बर्खेभेलको पानी मिसिँदा लेदोसहितको भेलबाढीले तल्लो क्षेत्रमा ठूलै असर गर्ने देखिएको छ । त्यति मात्र हाेइन, निर्माणाधीन सुरुङमार्गबाट निकालिएका माटो, गिटीलगायतका थुप्रो पनि त्यही खोलामै मिल्काइएको छ । जसले जोखिम थप बढाएको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्य खसेको पहिराे र सुरुङबाट निस्किएका गिटी, ढुंगाको उचित व्यवस्थापन गरिरहेको दाबी गर्छन् ।  उनले  त्यहाँको सानो खोलाको पानी पनि कुलो नै बनाएर लगिएकाले त्यसबाट समस्या नआउने बताए । उनका अनुसार आयोजनाले नै पहिराको विस्तृत अध्ययन गरिरहेको जानकारी दिए ।

‘वर्षा जारी रहेकाले अहिले नै केही गर्ने अवस्था छैन, सुरक्षित बनाउने र दुर्घटना कम हुने गरी काम भइरहेको छ, पानी रोकिएपछि त्यसको सबै व्यवस्थापनको काम आयोजनाले गर्छ,’ उनले भने ।  त्यस पहिरोमा परेका ६ घरपरिवारलाई अन्यत्र व्यवस्थापन गरिसकिएको पनि उनले बताए ।  आयोजना प्रमुख शाक्य आफैँमा कमजोर भूभाग भएकाले सुरुङमार्ग नबनाएको भए पनि त्यहाँ पहिरो खस्ने जिकिर गर्छन् । तर, सुरुङमार्ग निर्माणका क्रममा केही भित्ता काटिँदा पहिरो खस्न मद्दत मिलेको पनि उनले  स्वीकार गरे ।

उनका अनुसार त्यहाँको भिरालो जमिन ५० डिग्रीको छ, ३० डिग्रीको भिरालो क्षेत्रभन्दा बढी हुँदा त्यहाँ माटो अडिन सक्ने अवस्था हुन्न । त्यसैले अहिले पहिरो जान थालिसकेको र भस्किसकेकाले त्यसको अध्ययन र दीर्घकालीन व्यवस्थापनका लागि जापानबाट समेत विज्ञ टोली झिकाइएको उनले  जानकारी दिए । सुरुङमार्गबाट निस्किएको ढुंगा, गिटी त्यही खोलसामा फाल्ने क्रम भने रोकिएको छैन । केही दिनअघि पनि टिपरको प्रयोग गरेर भित्रबाट निकालिएका सामग्री त्यही खोलामा फालिरहेको दृश्य देखिएको थियो । भारी वर्षा र भेल पहिरो जाने सम्भावना नकार्न नसकिने हुँदा त्यसरी पहिरो खस्यो भने तल्लो तटीय क्षेत्र पुर्ने र कटान हुने सम्भावना अधिक रहेको विपत् व्यवस्थापन विज्ञको भनाइ छ ।

नागढुंगा–मुग्लिन सडक योजनाका प्रमुख अमृतमणि रिमालले बाटो फराकिलो बनाउने क्रममा काटिएकाले त्यसरी पहिरो खसेको हो भने । प्रकृतिलाई चलाएपछि समस्या त आइहाल्छ, त्यसलाई सुरुङ आयोजनाले नै व्यवस्थापन गर्छ,’ उनले भने । भित्रबाट निकालिएको ढुंगा, माटो, गिटीको उचित व्यवस्थापन नगरी खोल्सामा फाल्दा भने त्यसले तल्लो क्षेत्रमा विपत् निम्त्याउन सक्ने दाबी विपत् व्यवस्थापनविज्ञ कृष्ण देवकोटाको छ । उनले भने, यसको वेलैमा उचित व्यवस्थापन गर्नु जरुरी छ । रासस

Leave a Comment