![]()
People’s News : पृथ्वीमा उत्पत्ति भएका जीवमध्ये मानव जातिको सबैभन्दा छिटो विकास भएको मानिन्छ । वानर प्रजातिको अवशेष (रामापिथेकस) भेटिएको आधारमा मानवको विकास भएको मानिन्छ । मानव सभ्यताको सुरुआतमा बाँदरजस्तै देखिने जीवलाई प्रोकन्स्कूल भनिन्थ्यो । यिनीहरूको शरीर कुप्रो थियो। क्रमशः शारीरिक संरचना परिवर्तन हुँदै अस्टेलोपिथेकस, पिथेकनथेरापस, नेन्डरथालामन्स र क्रोम्याग्ननजस्ता विकसित अहिलेकै मानव देखा परे । सुरुको बाँदर प्रजाति प्रोकन्स्कूलका केही मात्रामा पुच्छर थियो भने त्यसपछिका विकसित विभिन्न स्वरूपमा पुच्छर हराएको पाइन्छ । उत्पत्तिको मिति पत्ता लगाउन जीवाशेषहरूका आधारमा अहिले पनि अनुसन्धान भइरहेका छन् । समय र वातावरण बुझेर निर्णय गर्ने भएकैले मानिसलाई बुद्धिमान् मानिन्छ ।
प्राचीन मानवहरूले हजारौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए र बिलाए पनि । तर, आधुनिक मानवको एक प्रजाति चन्द्रमा र मंगलग्रहको धुलो अध्ययन कसरी गर्ने र बस्ती बसाउने भनेर दिन–रात नयाँ सोचमा छ । प्रविधिको विकाससँगै यो सोचमा मानव समुदाय पुगिरहँदा अहिले पनि धेरै त्यस्ता समुदाय छन्, उनीहरू आधुनिकताभन्दा पर रमाउन चाहन्छन् । उनीहरूको रहन–सहनसँगै कानुन पनि फरक भेटिन्छ । आफ्नै नियममा रमाउने त्यस्ता समुदाय नेपालसहित विश्वका धेरै मुलुकमा छन् । नेपालको कर्णाली प्रदेशका विभिन्न जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय पनि एक हो । उनीहरूको आफ्नै नियम छ । शिकार र कन्दमूलको भरमा जीवन धान्दै आएका उनीहरू जंगललाई नै आफ्नो घर मान्दै आएका छन् ।
पैसा छोए पाप लाग्छ’ भन्ने र आफूलाई जंगलको राजा मान्ने राउटे जातिका विषयमा धेरै अध्ययन र खोज पनि भएका छन् । यो समुदाय अहिले पनि जंगली युगमै रहेको मानिन्छ । मैदान, खोला, जंगल र खुल्ला आकाशमा बासस्थान बनाउने उनीहरू कृषि युगमा पनि प्रवेश गरेका छैनन् । जंगलनजिकै घामपानी छल्ने, अन्नपात थन्काउन मिल्ने, माटोढुंगाले बनेका स–साना संरचनामा कैद भएर अझै पनि यो समुदायले दिन कटाएका छन् । एक पुस्ताको अन्त्य, राउटे बस्ती र समुदायमा अन्य समुदायका मानिसको घुलमिल र कुराकानीले भने यो समुदायमा पछिल्लो समय भने केही प्रभाव परेको छ । राउटे समुदायका युवाहरू अन्य समुदायसँग घुलमिल हुने क्रम बढ्दो छ । यो समुदाय क्रमशः सामाजिकीकरणतर्फ उन्मुख भएको पनि देखिन्छ ।
कर्णाली प्रदेश सरकारले राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको छ । अन्य समुदायजस्तै स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्ने लगायतका नीति प्रदेश सरकारले तयार पारेको छ । तीन वर्षअघि नै दैलेखको गुँरास गाउँपालिकाले स्थायी परिचय–पत्र उपलब्ध गराएर मूलप्रवाहमा ल्याउने प्रयास भएको थियो । अहिले प्रदेश सरकारले नीति नै तयार पारेपछि अब राउटेले चाहे अन्य समुदायजस्तै बस्न पाउने भएका हुन् । यो समुदायको संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारले चालेका प्रयास सही पनि हो ।
सबै समुदायको विकास आवश्यक छ । तर, समुदायको विकासका लागि तयार पारिएका नीति, नियम भने सो समुदायलाई मान्य हुनुपर्छ । किनकि उनीहरूको पनि आफ्नो स्वतन्त्रता र अधिकार छ। कुनै कानुन, नीति नियम, र कसैको विचार यस्ता समुदायमा लाद्नु हुँदैन । आवश्यताअनुसार समुदायको विकास आफैं हुँदै पनि जान्छ, यसमा सरकारको साथ चाहिन्छ । यस्ता समुदायको संस्कृतिमा हुने आक्रमण तीनै तहका सरकारले समयमा रोक्नुपर्छ । कर्णाली प्रदेश सरकारले बनाएको नीतिमा उल्लेखित जातीय र मौलिकताको संरक्षण, राउटे बासस्थानलाई पर्यटकीय प्रवद्र्धन गर्ने, बाह्य समुदायबाट हुने हानी–नोक्सानी तथा हिंसाजन्य जोखिम रोक्ने राम्रा प्रयास हुन् । उस्ता नीतिको कार्यान्वयन समयमै हुनुपर्छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार राउटेको जनसंख्या ६ सय १८ थियो । कर्णाली प्रदेशको विभिन्न जिल्लामा घुमन्ते जीवनयापन गरिरहेका राउटे समुदायमा हाल ४४ परिवारका १ सय ४६ जना मात्रै छन् । प्रदेश सरकारले बनाएको नीतिभित्र यो प्रदेशमा बस्ने मात्रै समेटिने भएकाले अन्य स्थानमा भएका राउटे समुदायलाई पनि सरकारले उचित व्यवस्थापन र सुरक्षा दिनुपर्छ । यस्ता लोप हुन लागेका सबै समुदायको समयमै उचित संरक्षण र सुुरक्षा नगरे राउटे समुदायमा विकृति पनि बढ्न सक्छ र समुदाय नै लोप हुने खतरा हुनसक्छ ।