पानीको वहाव बढदा किन पुल भत्किदै

Loading

People’s News : नदीमा पानीको वहाव बढ्नासाथ पुल भत्कने क्रम पनि सुरु भएको छ । कतै बन्दा–बन्दैका पुल भत्किए भने कतै निर्माण सम्पन्न भएका पनि । राजमार्ग क्षेत्रमा बनेका पुल भत्किँदा त यातायात नै अवरुद्ध भए । कति स्थान त केही दिन सम्पर्क–बिच्छेद अवस्थामा रहे । सडक विभागको तथ्यांक अनुसार यो वर्ष मात्रै दुई दर्जन पुल भत्किएका छन् । राजमार्ग क्षेत्रका ११ र स्थानीय सडकका १२ वटा पुल भत्किए । त्यसमध्ये सातवटा बन्दै गरेका पुल नै भत्किएका हुन् । वर्षात् नसकिएकाले यो तथ्यांक बढ्ने क्रममा छ । यो वर्ष मात्रै पुल भत्किँदा ७५ करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । अझै क्षतिको संख्या थपिँदै छ ।

च्याउ झै उम्रेको निर्माण कम्पनि जसलाई निर्माण सम्बन्धि कुनै जानकारी नहुँदै पनि निर्धक्क ठेक्का पटटा लिइ रहेका छन् । जस्को परिणाम बाढी पहिरोमा देशले आफनो अर्थ गुमाउदै गइरहेकाछन् ।

वर्षेनी पुल भत्किँदा राज्यकोषमा करोडौंको घाटा लाग्दैछ । एकै स्थानमा बारम्बार पुल निर्माणका लागि बजेट हाल्नुपर्दा विकासको गति रोकिएको छ । त्यसमा पनि पुल निर्माणको काम एकै वर्षमा सकिएका उदाहरण नेपालमा कमै भेटिन्छ । नदी माथि एउटा पुल निर्माण गर्न पनि वर्षौं लगाउने र त्यो पनि बाढीसँगै बग्ने हुँदा नागरिकको यात्रा जोखिमपूर्ण त छ नै, उनीहरूले विकासको महसुस पनि गर्न पाउँदैनन् । बनेका पुल पनि टिकाउ नहुँदा वर्षात्मा पुल माथिबाट यात्रा गर्नसमेत जोखिमपूर्ण छ । कुन समय, कुन पुल बग्ला ? टुंगो छैन । यसले धन मात्र होइन, जनकै क्षति हुने पक्का छ ।

निर्माणमा अनियमितता र ढिलाइ नै पुल भत्किनुको मुख्य कारण हो । पर्याप्त अध्ययन नगरी निर्माण सुरु गर्नु, जुनसुकै निर्माण कम्पनीलाई ठेक्का दिनु, निर्माण कम्पनीले निर्माणमा कमसल सामानको प्रयोग गर्नु र समयमा काम नगर्दा पुल टिकेका छैनन् । कमिसनका कारण राम्रो काम नगर्ने कम्पनीले पनि ठेक्का पाउँदा पुलको बेहाल छ । निर्माण सुरु भएर दस वर्षमा पनि सम्पन्न नभएका पुल धेरै छन् । कति पुल त निर्माण कम्पनीले विभिन्न बहानामा बीचमै छाडेको पनि भेटिन्छन् । पुल निर्माणभित्रको कथा खोज्दै जाँदा अनियमितता र भ्रष्टाचारको ठूलो जरो यहाँ भेटिन्छ । कमसल निर्माण गर्ने र भत्किएपछि पुनः बनाउँदा कमिसन बाँडफाँट भइरहने लोभले पनि पुल निर्माणका काम गुणस्तरीय नभएका पर्याप्त उदाहरण नेपालमै छन् ।

निर्माण नसकिने र सकिएका बग्ने समस्या त छँदैछ । आयु सकिएका पुलले पनि जोखिम बढाएको छ । अहिले मुलुकभर सात सय हाराहारी पुल जोखिमपूर्ण अवस्थामा छन् । पूर्व–पश्चिम राजमार्गको कर्णालीपूर्व, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, महाकाली राजमार्गमा ५० वर्षभन्दा पुराना पुल छन् । जसको प्राविधिक रूपमा आयु सकिएको छ । सामान्यतः कंक्रिटको आयु ५० वर्ष हुने गरेको प्राविधिक बताउँछन् । अधिकतम सय वर्ष आयु हुने भए पनि नेपालमा हुने निर्माण पद्धतिमा ५० वर्षभन्दा बढी थाम्न गाह्रो हुने जनाइएको छ । यी पुलको तत्काल मर्मत वा पुनर्निर्माण गर्न नसके ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ । यी सबै घटना क्रमले पुलमा धेरै भुल भेटिन्छ ।

आयु सकिएका भन्दा निर्माणाधीन र प्रयोगमा नआएका पुल भत्किनु चिन्ताको विषय हो । पछिल्लो समय भत्किएका धेरै प्रिस्ट्रेस्ड कंक्रिट डेक भएका पुलहरूको ढलान, केवल तान्ने समय र बाढी आउने समयको तालमेल नमिल्नु एउटा मुख्य कारण रहेको पुलको विषयमा अध्ययन गरिरहेका विज्ञ बताउँछन् । निर्माणमा ढलान गर्ने वा स्टिल स्ट्रक्चर ठड्याउने कार्यको टेका र फर्माको कामको डिजाइन नगरिने वा गरिए पनि उपयुक्त डिजाइन नगरिने वा खोलाको बहाव छेकेर माटो भरेर टेका ठड्याउने आदि कारणले निर्माणका क्रममा भत्किएका छन् । यो नियमविपरीत कार्य हो । सुपरीवेक्षण अभावमा मिस्त्रीकै भरमा काम चलाउने परिपाटीले पुलमा ठूला दुर्घटना भइरहेको पाइन्छ ।

निर्माणव्यवसायीले नाफा कमाउन प्राविधिक कम राख्ने र मिस्त्रीका भरमा पूरै काम चलाएको पाइन्छ । मिस्त्रीमा प्राविधिक ज्ञान हुँदैन । मिस्त्रीको भरमा उठाएका पुल कुनै पनि दिगो नभेटिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै दाबी छ । डिजाइनअनुसार काम नहुँदा पनि धेरै पुल भत्किएका छन् । पुल राख्ने ठाउँ वरिपरिको भू–बनोटको सर्भेक्षण कार्य त्रुटिपूर्ण हुनु र त्यसका आधारमा डिजाइन भएर निर्माण हुनुले पुल दिगो छैनन् । पुलको डिजाइन गर्ने प्राविधिकले पनि पूर्ण अध्ययन नगरी पास गर्दा नयाँ पुलको आयु बढेको छैन । निर्माणव्यवसायी छनोट, कामको अनुगमन र नियमन साथै ठेक्कामा कमिसनको चक्कर नरोकिएसम्म पुल पक्का बन्दैन । अब यी बेथिति रोक्ने मुख्य दायित्व सरकारको हो । नत्र पुलमा हुने भुल सधैं दोहोरिरहनेछ ।

Leave a Comment