![]()
पिपुल्स न्युज डटकम : काठमाडौं । हाल देशमा शिक्षाक्षेत्रमा सर्टिफिकेट मा सबैसबभन्दा बढी युवा पुस्ता बढी नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग भएको पाइएको छ । जागिर खान र बढुवा हुनकै लागि नक्कली प्रमाणपत्र बनाउनेको संख्या दिनदिनै बढ्दै गएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये शिक्षा क्षेत्रमा संलग्न व्यक्तिले सबैभन्दा बढी नक्कली सर्टिफिकेट प्रयोग गर्दै आएको भेटिएको हो । अख्तियारमा अहिले १ हजार ९ सय १२ वटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी उजुरी छानबिनको प्रक्रियामा छन् । छानबिनका क्रममा रहेका अधिकांश शैक्षिक प्रमाणपत्रमा भारतका विभिन्न शैक्षिक संस्थाको नाम उल्लेख रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले दिएको जानकारीअनुसार गत साउन यता विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित परेका उजुरीमध्ये १ सय ७३ वटा उजुरी फस्र्योट भइसकेका छन् । जसमध्ये ७ वटा उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको छ ।
मुद्दा दायर भएकामध्ये तीन वटा शिक्षा क्षेत्रमा कार्यरत शिक्षक तथा कर्मचारीका छन् । त्यस्तै, एउटा प्रहरी, एउटा सरकारी इन्जिनियर र दुई वटा लेखापालको रहेको आयोगका तथ्यांक शाखा प्रमुख तथा सूचना अधिकारी मदन कोइरालाले जानकारी दिए ।
आर्थिक वर्ष ०७२÷७३ मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ४० वटा मुद्दा दर्ता भएका थिए भने तीमध्ये सबैभन्दा बढी शिक्षण पेसामा संलग्न व्यक्तिका २२ वटा मुद्दा परेका थिए । यस्तै, चिकित्सा क्षेत्रमा संलग्न १० जनाको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सरकारी सेवामा कार्यरत ६ जनाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको छ भने तीमध्ये दुईजना राष्ट्रसेवक कर्मचारी छन् ।
भारतसँग खुला सिमाना तथा नक्कली शैक्षिक प्रमाणपत्र बनाउन पनि सजिलो हुने भएकाले धेरैजसो शैक्षिक प्रमाणपत्र त्यतैबाट आएको हुनसक्ने प्रवक्ता पाण्डेले बताए । त्रिभुवन विश्वविद्यालय अथवा उच्च माध्यमिक शिक्षा परिषद्मार्फत शैक्षिक प्रमाणपत्र नक्कली भए÷नभएको प्रामाणीकरणको लागि पठाउनुपर्ने हुँदा खासगरी विदेशमा रहेका विश्वविद्यालयले ढिलाइ गरिदिनाले छानबिन सुस्त रहेको बताइएको छ ।
धेरैजसो विदेशी विश्वविद्यालयका प्रमाणपत्र उच्च शिक्षा परिषद्बाट प्रमाणीकरण भएर आउनुपर्ने हुन्छ तर त्यो समयमा नआउँदा सोचेअनुरूप उजुरीहरू फस्र्यौट हुन समय लाग्ने गरेको प्रवक्ता पाण्डेको भनाइ छ । यस्ता शैक्षिक प्रमाणपत्र जागिर खान, सेवाबाट बढुवा हुन तथा विदेश जानेहरूले बढी प्रयोग गरेको पाइएको छ । ‘कतिपयलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्दा कानुनी कारबाहीको भागिदार भइन्छ भन्नेसम्म जानकारी रहनेछ,’ पाण्डेले भने, ‘अव्यावहारिक शैक्षिक प्रणाली तथा विविध कारणले उनीहरू आफ्नो पढाइ पूरा गर्न सक्दैनन् र जागिर खान वा कुनै पनि सेवा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्न बाध्य भएको अनुसन्धानका क्रममा भेटियो ।’
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कुनै राष्ट्रसेवकले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कसुर गरेको मानासिब कारण भएमा अख्तियारले मुद्दा दायर गर्ने र उक्त मुद्दाको किनारा नलागुन्जेल सम्बन्धित व्यक्ति स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । अख्तियारले खासगरी आव ०६४÷६५ देखि नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दालाई प्राथमिकतासाथ अघि बढाएको जनाएको छ ।
