![]()
People’s News : भैरहवा — जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको उनको भनाइ छ । रूपन्देहीको भैरहवामा आइतबार बिहान लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए । ‘सरकारी पक्ष र विपक्षी सडकमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? यो आजको प्रश्न हो । करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ? नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उनले बताए । ‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।
अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिए । ‘नागरिक आन्दोलन पक्ष/विपक्ष भनेर हुँदैन, नागरिक सामाजले पुस्तौंदेखि भएका अन्यायलाई उठाउन सक्नुपर्छ,’ उनले भने, ‘होइन भने नागरिक आन्दोलनको औचित्य रहँदैन । पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए । वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने उनले बताए । ‘अहिले सञ्चालन गरिने विकास–निर्माणका कामबारे जनतालाई सोधिँदैन,’ उनले भने, ‘जहाँबाट कमिसन धेरै आउँछ, उसैलाई निर्माणको जिम्मा दिने गरिएको छ ।

savar link
