चुनाव हुनेमा ढुक्क हुन अर्थमन्त्री पौडेलको मुस्लिम समुदायलाई आग्रह ।

Loading

चुनाव हुनेमा ढुक्क हुन अर्थमन्त्री पौडेलको मुस्लिम समुदायलाई आग्रह ।

नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट विभिन्न तरिकाले छापामार शैलीमा संविधानको प्रबन्धभन्दा पृथकखालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

मुस्लिम धर्मावलम्बी तथा  समुदायको हक हितको संरक्षण, संवर्द्धन सशक्तीकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा अर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध र संसदीय दलको विधानको भन्दा पृथकखालका अभ्यासहरु गर्ने षड्यन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् । उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पनि दाबी गरे ।

संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क पौडेलको छ । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्त्वका कामहरु गरिरहँदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए । सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टीभित्रबाट असहयोग भएको पनि बताए ।

नेपाल सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकाले पनि प्रतिनिधिसभा विघटन गरी अनुशासित प्रतिनिधिसभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पारे । निर्वाचनका लागि द्विविधामुक्त भएर अगाडि बढ्नसमेत अर्थमन्त्री पौडेलले आग्रह गरे । अझै पनि केही मानिसहरु प्रतिनिधिसभा पुन:स्थापना हुन्छ कि भन्ने भ्रमले छातीमा पोस्टर टाँसेर सडकमा बसिरहेको बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुन:स्थापना हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।

Leave a Comment