![]()
Peoples News : काठमाडौं : हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने नियमति अभ्यासकै क्रममा सेनाले तय गरेको दिनमा गजबको संयोग परेको छ। एउटा माघ १९ को संयोग छ भने अर्को आकस्मिक संयोग बर्माको सैन्य ‘कु’ सँग पनि जोडिएको छ। माघ १९ को संयोगसँग सेना पहिले नै अवगत थियो तर बर्माको घटना अनपेक्षित हो । यी दुई संयोगले राजनीतिक वृत्त मात्र होइन, सर्वसाधारणमा पनि एक खालको संशय पैदा गरेको छ। माघ १९ मा पूर्व राजा ज्ञानेन्द्रले सेनाकै बलमा शासन सत्ता आफ्नो हातमा लिएका थिए। ज्ञानेन्द्रको राजाको त्यो महत्वकांक्षाले नै गणतन्त्र स्थापनाका लागि बलियो जग तयार गरेको थियो। लोकतन्त्रवादीले यो दिनलाई कालो दिनका रुपमा मनाउने गरेका छन्। यस्तो दिन सेनाले किन रोजेको भन्ने प्रश्न अहिले नागरिकस्तरबाट उठाइएको छ। त्यसैगरी सेनाको यो अभ्यासलाई बर्मामा भएको ‘सैन्य’ सँग पनि जोडे्ने प्रयास गरिएको छ। राजनीतिक व्यवस्थापन कमजोर र असफल बन्दै गएकोले पनि नेपालमा त्यो दिन आउनसक्ने चिन्ता आम रुपमा व्यक्त भएको छ। बर्मामा यसअघि पनि पटक पटक सैन्य कु भएको छ । 
नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने जानकारी सेनाले आइतबार नै सार्वजनिक गरेको थियो। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार एक ट्वीट गर्दै नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार बख्तरबन्द गाडी एकसाथ सडकमा निस्कन लागेको जानकारी दिएका हुन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार करिब दर्जन जति बख्तरबन्द गाडीहरू राति दस बजेपछि सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्कने छन् र उनीहरूले चक्रपथको चक्कर लगाउनेछन्। सार्वजनिक सवारीमा अवरोध नहोस् भनेर सेनाले राति अभ्यास गर्न लागेको जनाएको छ। यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरिसकेको छ । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ। माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ। राति फर्किनेछन्। 
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि मुलुकमा एक खालको राजनीतिक भ्याकुम छ। विघटनविरुद्धको मुद्दा अदालतमा विचराधिन छ। मुद्दाको सुनुवाइ लम्बिँदा जाँदा सडक आन्दोलन र प्रदर्शनले तीव्रता पाउँदै गएको छ। दलहरूबीच तीव्र धुव्रीकरण छ। यस्तो अवस्थामा बाहिरबाट मात्र होइन, आन्तरिक रुपमा पनि अनेक खालका चलखेलका खतरा हुन्छन्। त्यही क्रममा सेनालाई पनि जोडेर चर्चा गर्ने गरिएको छ । पूर्वरथी बालान्द शर्माले भने बर्माको घटनासँग नेपालको कुनै साइनो नहुने बताए। अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै रथी शर्माले भने, त्यहाँको राजनीतिक परिवेश र यर्थाथ बेग्लै हो। बर्माको शासन सत्तामा सेनाको निरन्तर संलग्नता छ। बाहिरबाट हेर्ने नजर एउटा हो तर त्यो आवश्यकता पनि हुनसक्छ राष्ट्रिय एकताका लागि। उनले बर्माको सैन्य कु अचम्म लाग्दो घट्ना नभएको बताउँदै भने, ‘त्यो अवस्था अहिले नेपालको होइन र त्यो संभावना पनि छैन । बख्तरबन्द गाडीको अभ्यास नियमित गतिविधि भएकोले त्यसलाई बर्माको कु वा माघ १९ मा भएको राजनीतिक घटनासँग जोडेर हेर्न नमिल्ने शर्माले बताए। उनले भने, यो नियमित अभ्यास हो। तर संयोग मात्रै जुरेको हुनसक्छ।’