म्याद नाघेका जंकफुडमा नयाँ स्टिकर टाँसेर बेच्ने अपराधी विशाल ग्रुप के होला कारबाही ?

Loading

रवीन्द्र ढुङ्गेल , १७ आश्विन २०७७ । महामारीको समयमा लुट तन्त्र बढिरहेको बेला व्यवसायीक घराना विशाल ग्रुपले म्याद नाघेका जंकफुडहरुमा नयाँ लेबल(स्टिकर) टाँसेर बजारमा बिक्रि गरेको पाइएको छ ।वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले विशाल ग्रुपको कम्पनीको गोदाममा छापा मार्दा म्याद सकिएका जंकफुडमा नयाँ स्किटर टाँस्दै गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार गरेको स्टीङ अपरेशनका क्रममा आयान डिस्ट्रिब्युटर्स प्रालि र अमेजन डिस्ट्रिब्युटर्स प्रालिका सञ्चालक र कर्मचारीसमेत गरी ८ जना पक्राउ परेका थिए।

विभागको अनुसन्धान गर्ने  टोलीले उनीहरुलाई म्याद सकिएका ओरिओ विस्कुट, चकलेट, आलुचिप्स लगायतका बस्तुहरुमा नयाँ स्टिकर टाँस्दै गर्दा पक्राउ गरेको थियो । सो स्थानबाट ३ गाडी म्याद गुज्रिएका जंकफुड समेत बरामद गरेको विभागले जनाएको छ । म्याद टाँस्न बाँकी रहेका बस्तुहरुको मूल्य करिब १ करोड रुपैँयाँ बराबर रहेको विभागले जनाएको छ । पक्राउ पर्नेमा भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नम्बर १३ घर भई हाल काठमाडौं १३ बाफल बस्ने मागोलाल बोथ्राका छोरा ३५ वर्षका रोनक बोथ्रा रहेका छन्।  त्यस्तै झापाको चन्द्रगढी नगरपालिका घर भई हाल काठमाडौं पुतलीसडक न्यूप्लाजा बस्ने सतनारायण अग्रवालकी छोरी, शंकरलाल अग्रवालकी श्रीमती ६३ वर्षीया पुष्पादेवी अग्रवालको पनि यो अवैध काममा मुख्य भूमिका देखिएको छ ।

पक्राउ पर्ने अरु व्यक्तिहरुमा रौतहटको गौर नगरपालिका ३ मजकुटिया घर भई हाल बल्खु बस्ने मुन्ना ठाकुर २७ वर्ष र पप्पु कुमार ठाकुर २७ वर्ष रहेका छन्। महोत्तरी भग्राम नगरपालिका ४ बनरा घर भई हाल कपुरधारा बस्ने श्यामप्रसाद सिंह ४३ वर्ष, धादिङ गल्छी गाउँपालिका ३ कल्लेरी घर भई हाल कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ निलकण्ठ नगरपालिका ६ जल्केनी घर भई हाल कलंकी बस्ने सीताराम उपरकोटी १८ वर्ष र धादिङ सिद्धलेख गाउँपालिका भेडावारी घर भई हाल बाफल बस्ने दिलिप थापामगर २४ वर्षलाई पनि पक्राउ गरिएको छ।

i

साथै बा २० च १०९, बा १६ च ५७०४ र बा १९ च ४९०५ नम्बरका ३ वटा गाडी पनि नियन्त्रणमा लिइएका छन्। पक्राउ परेका यी व्यक्तिहरूसँग अहिले बयान लिने काम भईरहेको वाणिज्य विभागका सहप्रवक्ता ध्रुव खनालले जानकारी दिए। पक्राउ परेका व्यक्तिबाहेक अरु कम्पनी र व्यक्तिको पनि यसमा संलग्नता रहेको अनुमान गरिएको छ। विभागका अनुसार आयान डिस्ट्रिब्युटर वाफलका २ घर र अमेजन डिस्ट्रिब्युटरको एउटा घर शील गरिएकोे छ ।

Leave a Comment