![]()
रवीन्द्र ढुङ्गेल, १२ आश्विन २०७७ । विद्यार्थीहरूलाई ईन्टरनेटबाट पढाउन पाठशाला सीयूजी सीम[ फेसबुकमा च्याट गर्नकै लागि उपयोगी हुने सम्भावना]
ईन्टरनेट कम्जोर र महँगो भएर आलोचित भैरहेको नेपाल टेलिकमले स्कुले विद्यार्थीका लागि पाठशाला सीयूजी सीम ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई लक्षित गर्दै यो सीम अफर ल्याएको हो । टेलिकमले आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ त्यसको लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला सीयूजी सिम’ निःशुल्क उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ ।
प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज्ड यूजर ग्रुप (सीयूजी)मा आबद्ध गरी मासिक जम्मा ९९ रुपैयाँमा क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ ।
कोरोनाको महामारीबीच तयार गरिएको योे प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ । कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई सीयूजी सेवामा आवद्ध गराउने र यो सेवा वापतको शुल्क नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिकासहितको नामावली संकलन गरी पठाएपछि नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोबाइल र एफटीटीएच विस्तार गर्नेछ ।