![]()
धनुषामा मृत्यु भएका व्यक्ति कोरोना सङ्क्रमित भएको प्रमाणित ।
धनुषामा शनिबार राति मृत्यु भएका पुरुषको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–५ निवासी ४५ वर्षीय मृत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।
मिथिला बिहारी नगरपालिका–५ मा घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको रूपमा मजदुरी काम गर्दै आएका थिए ।
विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी कोरोनासँग मिल्दोजुल्दो ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या हुने जस्ता लक्षण देखिएपछी शनिबार राति उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।
यस्तै सोही दिन मृत्यु भएका धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषमा भने संक्रमणपुष्टि नभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जनाएका छन् । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो । योसँगै कोरोनाका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि शहीद नगरपालिका–८ का ३६ बर्षीय पुरुषको मृत्यु भएको थियो ।