![]()
पर्सामा कोरोना त्रास बढ्यो, पर्सामा मात्रै कोरोनाका कारण १६ जनाको ज्यान गयो ।
नेपालमा कोरोना महामारीका कारण दिनानुदिन धेरै नेपालीहरु ज्यान गइरहेको छ । यसैबीच भर्खरै मात्र वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्ध जो उपचारका लागि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
बिरगंजस्थित कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा रहेका वृद्धको बिहान ज्यान गएको थियो । उनलाई केहि दिनदेखि ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए ।
त्यहाँ चिकित्सकले अक्सिजन दिए तापनि काम गरेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामा राखेर नेशनल मेडिकल कलेज लगिएको थियो । तर नेशनलले पनि भर्ना नलिएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगिएको थियो । चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ