![]()
peoples News : प्रधानमन्त्री केपी शर्मा ओली बोले । नबोल्नुपर्ने ठाउँमा बोले तर किन बोले, उनैले जानुन् । भानुजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भगवान रामको जन्मभूमि अयोद्यया रहेको र उक्त अयोद्यया नेपाल मै रहेको प्रधानमन्त्री ओलीद्धारा गरीएको टिप्पणी गैरजिम्मेवार थियो । नेपाल–भारत सीमा विवाद थाती रहेका बेला ओलीको यो बोली कुनै पनि कोणबाट उपयुक्त लाग्दैन । ओली राष्ट्रवादी हुन् भन्नेमा दुई मत नहोला । तर, ‘काम कुरो कालापानीतिर कुम्लो बोकी अयोध्यातिर’ जस्तो लाग्ने प्रधानमन्त्री ओलीको बोलीले कुटनीतिक मर्यादाको हद नाघ्न थालेको छ । 
कालापानी, लिपुलेक र लिम्पियाधुरा प्रमाणको हिसाबले नेपालको भूभाग हो । यसमा कुनै शंका छैन । तर, भारतले पनि यसमा आफ्नो स्वामित्व दावी गरिरहेको बेला भारतबाट आफ्नो भूमि फिर्ता लिने एक मात्र उपाय भनेको कुटनीतिक संवाद नै हो । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा न प्रधानमन्त्री ओली अन्तिम सत्य हुन्, न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । यो पूर्णत प्राविधिक विषय भएकाले यो मुद्दालाई कुटनीतिक तवरबाट समाधान गर्नुबाहेक अर्को उपाय देखिदैन । यही मुद्दालाई लिएर दुई देशबीच कुटनीतिक सम्बन्ध चिसो भएको बेला भारतका केही बहुलठ्ठी मिडियाको तबरमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तित्वले न कुनै प्रमाण, न कुनै तथ्य बिना हचुवाको भरमा बोल्नु कुनै पनि हिसाबले उपयुक्त मानिदैन । ‘भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्यो’ भन्नु अहिले नेपाली प्रधानमन्त्रीले बोल्ने विषय नै होइन । फेरि नेपालका कम्युनिस्टहरूले कहिले पो धर्म मानेका छन् र नेपालमा सबैभन्दा बढी धार्मिक तथा सांस्कृतिक अतिक्रमण गर्ने पार्टी नै कम्युनिस्ट पाटी हो ।
अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदबारे भारतभित्रै मत विभाजित छ । अढाई सय वर्ष पुरानो यो मुद्दाको कारण भारतका अधिकांश हिन्दु र मुस्लिम बाँडिएका छन् । यही मुद्दालाई लिएर सन् १९९४ मा ठूलो दंगासमेत भएको थियो । त्यही दंगाका कारण अहिलेको सत्तारूढ भारतीय जनता पार्टी बिजेपी भारतीय राजनीतिको केन्द्र बिन्दुमा आएको इतिहास सबैलाई थाहा भएकै विषय हो । यदि ओलीले बिजेपीको त्यो ‘आइडोलोजी’ माथि प्रहार गर्न खोजेका हुन् भने यो उनको सबैभन्दा ठूलो विचलन हो । भारतको सर्वोच्च अदालतले हालै रामजन्म भूमि–बाबरी मस्जिदको विषयमा एउटा फैसला गर्दै लखनऊमा भएको अयोध्यामा राम मन्दिर बनाउन फैसला गरेको थियो । यो विषयमा लामो बहस भएको थियो । बहसका क्रममा रामको जन्मभूमि नेपालमा भएको भन्ने एउटा तथ्य पनि पेश गरिएको थियो । यस हिसाबले प्रधानमन्त्री ओलीले यो कुरा उठाएका हुन भने उनलाई थाहा हुनुपर्ने हो, सर्वोच्चको अन्तिम फैसलाले रामको जन्मभूमि लखनऊमै भएको हो भन्ने मान्यता स्थापित भएको छ । यतिबेला प्रधानमन्त्री ओली कालापानी मुद्दालाई छाडेर अयोध्या पुग्न जरूरी थिएन । ‘भारतले नक्कली अयोध्याय खडा गर्यो, राम पनि नेपाली नै हुन्’ भन्ने उनको भनाईमा न प्रमाण छ, न सत्यता नै । केही लेखकहरूले अपुष्ट तथ्यको आधारमा लेखिएको किताबलाई उनले आफ्नो भनाईलाई पुष्टी गर्ने आधार बनाएका हुन् भने पनि त्यो दूर्भाग्यपूर्ण छ । पौराणिक कथा अथवा जनश्रृति अनुसार सीता माताको जन्म नेपालको जनकपुरमा भएको हो ।
यस्तै रामको जन्म लखनऊको अयोध्यामा भएको भन्ने स्थापित मान्यता हो । यदि उनले यो मान्यता आफूलाई मान्य छैन भन्न खोजेका हुन भने के उनी नेपाल–भारतको सदियौंदेखिको सामाजिक सद्भाव र सांस्कृतिक मान्यता बदल्न चाहन्छन् ? यो निकै गम्भीर विषय हो । नेपालीहरूले नै अहिलेसम्म पढेको, सुनेको र जानेको कुरा के हो भने, भगवान राम नेपाली ज्वाईँ हुन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता जस्ता भूमि फिर्ता गराउन रामलाई आफ्नो छोरा बनाउँदा फिर्ता आउँछ ? यो अहिलेको प्रमुख प्रश्न हो । तथ्यहिन र सिद्धान्तविहिन नेपाली राजनीतिको सबैभन्दा कुरूप चित्र भनेकै बोलिदियो सकियो । जवाफदेहिता विस्तारै नेपाली नेताहरूमा हराउँदै गएको छ । चाहे त्यो भ्रष्टाचारको मुद्दामा होस् वा छिमेकीसँग गर्ने व्यवहारको मामिलामा । नेपाल–भारत सम्बन्धमा राम–सीताको कहानी कयौं पटक प्रधानमन्त्री ओली स्वयमले जोडेका छन् । स्मरण रहोस् – सन् २०१८ मे ११ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुग्दा खुब रमाइलो दृश्य देखिएको थियो ।
त्यो समय प्रधानमन्त्री ओली र मोदीले नेपालको जनकपुर र उत्तर प्रदेशको अयोध्याबीच भारत–नेपाल बस सेवा उद्घाटन गरेका थिए । नेपाल (ओली) र भारत (मोदी) बीच थुप्रै असमझदारी छन् । तर, नेकपाभित्र ओली र प्रचण्ड जस्तो होइन । मन मिल्यो चाटाचाट, मन मिलेन काटाकाट हुने । नेपाल–भारत बीचको सम्बन्ध कुटनैतिक सम्बन्ध हो । दुई देशबीचमा अनेकन विवाद, मतभेद भए पनि वार्ता र संवादबाट मात्रै समाधान हुन्छ । भानु मञ्चबाट अयोध्याबारे टिप्पणी गरियो, त्यही मञ्चबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा बारे बोल्न जरुरी थियो । अप्रमाणित अयोध्या पुग्नुभन्दा, प्रमाणित कालापनी नै जानु काफी छ । भारतको वर्तमान राजनीतिक नेतृत्व जुन मुद्दाको भर्याङ चढेर नेतृत्वमा पुगेको छ, उसैमाथि ओलीको आक्रमणले भारतीय पक्षलाई थप चिन्तित र आक्रोषित बनाउने पक्का छ । यसकारण नजाने गाउँको बाटो नसोधे कै राम्रो । कालापानीका लागि हिडौं तर, अयोध्या जान कुनै जरूरत छैन । भारतीय गोदी मिडियाको घिनलाग्दो प्रस्तुति हेर्दा र प्रधानमन्त्री ओलीको शैलीमा कुनै भिन्नता देखिदैन । यी दुबैमा दम्भ उच्च र कुटनीतिक मर्यादा शून्य देखिन्छ ।
You must be logged in to post a comment.