४ अर्ब गए पानीमा : धावनमार्ग जलमग्न

Loading

काठमाडौँ — चार अर्ब २७ करोड रुपैयाँ खर्च गरेर हालै रिह्याबिलिटेसन (जिर्णोद्धार) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका केही ठाउँमा सिपेज (पानी) देखिएको छ । यो धावनमार्ग जिर्णोद्धारको ठेक्का पाएको चिनियाँ कम्पनीसंँग संलग्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले आफ्नो ताल्लुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई ०७६ चैतमा परेको हिउँदे पानीपछि धावनमार्गका ८/१० वटा ठाउमा कतै पानी जमेको, कतै पानी बगेको (सीपेज) देखिएको जनाएको थियो । धावनमार्गको दक्षिण (कोटेश्वर) तर्फ ‘उच्च स्तर’को बिटुमिन प्रयोग गरेर बनाइएको स्थानमा देखिएको पानी नियन्त्रण गर्ने प्रयास अहिलेसम्म भइरहेको छ । ‘केही ठाउँमा पाइप राखेर पानीलाई छेउतिर ढलमा पठाइएको छ,’ स्रोतले भन्यो, ‘तर पूर्णरुपमा पानी नियन्त्रणमा ल्याइसकिएको छैन । अहिलेसम्म उडानमा असर पनि परेको छैन । ‘धावनमार्गको मध्यभागबाट दायाँबायाँ १० मिटर पछाडिको भागमा देखिएकाले ठूलो चुनौती भने छैन’ स्रोत भन्छ, ‘तर, चैतपछि व्यावसायिक उडान रोकिएको अवस्था भएको र धावनमार्ग पूर्ण सञ्चालनमा ल्याई नसकिएकाको अवस्था भएकाले कस्तो प्रभाव पर्छ भन्नेबारे यकिन अध्ययनबिना भन्न नसकिदैन । विमानस्थलका एक उच्च अधिकारीका अनुसार, अरबौं रुपैयाँ खर्च गरेर ४० वर्षपछि पहिलोपटक मर्मत गरिएको धावनमार्गको सतहमा पानी देखिन थालेपछि प्राधिकरणका अधिकारीहरुले पर्यटनमन्त्री योगेश भट्टराईलाई लकडाउनका बेला स्थलगत निरीक्षण गराएका थिए । मन्त्रीको निरीक्षणपछि प्राधिकरणका इन्जिनियरहरुले धावनमार्गको नियमित प्राविधिक निरीक्षण गर्दै आइरहेका छन् । उनीहरुले धावनमार्ग बनाउदाँ खण्डखण्ड गर्दै बनाउनुपरेकाले दुइटा खण्डको जोडाइबाट पानी निस्किएको हुन सक्ने दाबी गरेका छन् ।

हाल प्राधिकरणको आयोजना र चिनियाँ ठेक्कदार कम्पनी एभिकले ‘आकाशको पानी छिरेको हो वा सतहबाट मूल फुटेको हो’ भनी अध्ययन गरिरहेका छन् । ‘पुरानो र नयाँ अलकत्रको जोडाइबाट निस्केको हो वा अरु कुनै डिजाइनमा त्रुटिका कारणले हो भनी पानीसम्बन्धी विज्ञता भएका भूगर्भ जलशास्त्री ल्याएर अनुसन्धान गरीरहेका छौं,’ एक इन्जिनियरले कान्तिपुरसँग भने । यो परियोजनाको सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन (एभिक इन्टरनेसनल) ले २०७६ पुस १२ गते एक विशेष समारोह आयोजना गर्दै पर्यटन मन्त्री योगेश भट्टराई र चिनियाँ राजदुत हाउ यान्छी सहभागी कार्यक्रममा यो परियोजना विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी र आयोजना निर्देशक मुरारी भण्डारीलाई हस्तान्तरण गरेको थियो । नेपाल सरकारको लगानी रहेको यो परियोजनामा विमानस्थल आंशिक बन्द गर्दै चिनियाँ कम्पनीले रातिराति मात्रै काम गरेर ९ महिनामा सम्पन्न गरेको थियो । परियोजनाको काम सकिए पनि एभिक अहिले नेपालमै छ । उसले फेरि विमानस्थलभित्र ७ अर्बको अर्को परियोजनाको काम गर्दै छ । ‘पहिलो परियोजनाको ग्यारेन्टी अवधि १८ महिनाको भएकाले पानी देखिएको समस्या एभिकले १८ महिनाभित्र पर्ने दुइटा मनसुनमा निगरानी गर्दै समाधान गर्नुपर्ने सम्झौता छ,’ प्राधिकरणका एक अधिकारीले भने ।

भूकम्पअघि घामपानीका कारण धावनमार्गको पिच उप्किने समस्या अत्याधिक थियो । जहाज आकास तथा भुईंमा घन्टौं होल्डमा पर्न थालेपछि सरकारले आंशिक रुपमा विमानस्थल बन्द गर्ने निर्णय गर्दै ०७५ चैतबाट जिर्णोद्धारको काम थालनी गराएको थियो । ४० वर्ष पुरानो धावनमार्ग भूकम्पमा हल्लिएपछि विमानस्थलले वायुसेवा कम्पनीलाई १ सय ९० टन भन्दा बढी उडान तौल निषेध गरेको थियो । तर, धावनमार्गको मर्मत सकिएपछि यो निषेध हटाउँदै २ सय ३० टनसम्म उडान तौल खुला गरिएको थियो । अहिलेको मर्मतपछि यसको आयु २० वर्षसम्म रहने भनिएको छ । अहिले देखिएको पानीको समस्या सहजै हल नभएमा अरबौं लगानी खेर जान सक्ने छ । प्राधिकरणले हाल कम्तीमा २१ अर्ब लागनीमा निर्माण भइरहेको पोखरा, कम्तीमा ६ अर्बमा निर्माण भइरहेको भैरहवा र ३ खर्ब लागत भनिएको निजगढलगायतका परियोजना हेर्दै आइरहेको छ । करोडौं खर्च गरेर परामर्शदाता राख्ने तर हरेक परियोजनामा केही न केही त्रुटि देखिन थालेपछि प्राधिकरणको सिभिल इन्जिनियरिङ क्षेत्रको दक्षताबारे प्राधिकरणकै अधिकारीहरु सशंकित हुन थालेका छन् । ‘हाम्रा इन्जिनियरहरुको क्षमतामै प्रश्न उठ्न थालेको छ । उनीहरुका कारण प्राधिकरणको पूर्वाधारमा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् । यो गम्भीर विषय हो । मन्त्रालयको ध्यान पुगेको छैन,’ प्राधिकरणका एक अधिकारीले कान्तिपुरसँग भने, ‘निश्चित व्यक्तिहरुको हालीमुहाली रोकिएन भने यस्तै अवस्थामा प्राधिकरण ऋणमा डुब्ने छ । यसैबीच धावनमार्गमा पानी देखिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले केही समयअघि मन्त्रालयलाई जानकारी गराइएको बताए । savarclick