![]()
काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ हजार ५ सय नाघिसके पनि रोग निको हुने दर अपेक्षित बढ्न सकेको छैन । नेपालमा अहिले निको हुने दर मात्र १७ प्रतिशत छ । यही दर छिमेकी राष्ट्र भारतमा ५२ प्रतिशतभन्दा बढी छ । नेपालमा संक्रमण बढे पनि वृद्ध, दीर्घरोगीमा कोरोनाको संक्रमण तुलनात्मक रूपमा कममा मात्रै देखिएको र धेरै जनाको मृत्यु नभएको जनाउँदै विज्ञहरूले रोग निको हुने दरलाई बढाउनु पर्ने बताएका छन् । मंगलबारसम्म ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि हुँदा १ हजार १ सय ५८ जना मात्रै निको भएर घर फर्किएका छन् । ‘अझै पनि निको हुने दर (रिकभरी रेट) धेरै कम हुनु चिन्ताजनक अवस्था हो,’ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसी भन्छन्, ‘कम निको हुने दरले भविष्यमा मृत्युदरमा वृद्धि हुने संकेत गर्छ ।’ ४० दिनअघि कोरोना निको हुने दर २८ प्रतिशत थियो भने अहिले १७ प्रतिशतमा झरेको छ । ‘४० दिनअघि नै हामीले भविष्यमा मृत्युदर बढ्न नदिन निको हुने दर कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने आवश्यकता औंल्याएका थियौं,’ डा. बीसी भन्छन्, ‘तर अझै दिनहुँ संक्रमणको बढ्दो विस्तारले निको हुने दरमा कमी नै रहिरहने संकेत गरेको छ । 
पीसीआर परीक्षणको दायरामा वृद्घिसँगै संक्रमितको संख्यासमेत बढेको उनको भनाइ छ । ‘मंगलबार कोरोना संक्रमणको वृद्धिदर ७।५ प्रतिशत छ,’ डा. बीसीले भने, ‘अहिले ९५ प्रतिशत लक्षणविहीन संक्रमित देखिएका छन् भने करिब ५ प्रतिशतभन्दा पनि कममा न्यून मात्रै लक्षण देखिएको छ ।’ उनका अनुसार संक्रमितको संख्या बढ्दै जाँदा लक्षणसहितका बिरामीको संख्यामा समेत वृद्धि हुँदै जान्छ । लक्षणसहितका बिरामीको संख्या बढ्दा मृत्युदरसमेत बढ्ने जोखिम हुन्छ । केही विशेषज्ञले भने हालसम्म कोभिड–१९ संक्रमणसँग लड्न सक्ने क्षमता भएकाहरूमा मात्र संक्रमण देखिएकाले आत्तिने अवस्था नरहेको दाबी गर्छन् । हालसम्म देशभर प्रयोगशालामा प्रमाणित भएअनुसार कोरोनाकै कारण १९ जनाको मृत्यु भएको छ । यो समग्र संक्रमणको शून्य दशमलव २८ प्रतिशत हो । सरकारले अझै पनि कोरोना भारत तथा अन्य मुलुकबाट आएका र उनीहरूको सम्पर्कमा भएकामा देखिएको औंल्याउँदै समुदायमा फैलिनसकेको जनाउँदै आएको छ ।कोरोनाबाट संक्रमितहरूको निको हुने दरमा सुधार ल्याउन सरोकारवालाहरूको ध्यान नगएको भन्दै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले असन्तुष्टि जनाए । ‘हामीकहाँ कोरोना निको हुने दर राम्रो हुन नसक्नुका पछाडिको कारण खोतल्नु अत्यावश्यक छ,’ डा. मरासिनीले भने, ‘आखिर महिना बितिसक्दा पनि निको हुने दरमा सुधार किन देखिएन रु सरकारलगायत कसैको ध्यान छैन ।’ उनले हालसम्म कोरोना संक्रमण भएर जटिल शारीरिक अवस्थामा रहेकाहरूको उचित उपचार नभएको अवस्था नै मुलुक रहेको औंल्याए । उपचारका नाममा मात्र लक्षण नदेखिएका संक्रमितहरूलाई विभिन्न अस्पतालमा, क्वारेन्टाइन जस्तै आइसोलेसनमा जम्मा गरेर राख्ने गरिएको उनको भनाइ छ ।
मंगलबार सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ५३१ छ । दिनहुँ संक्रमणको बढ्दो संख्या र कम रहेको निको हुने दरले सक्रिय कोरोना रोगीको संख्यामा थप बढ्ने संकेत गरेको छ । ‘हामी जत्रै बंगलादेशमा एजिथ्रोमाइसिन, इभरमेक्टिन र एन्टिभाइरल रेमडिसिभिर उपयोग गरेर बिरामीहरूलाई एक सातामै पीसीआर नेगेटिभ बनाएर घर पठाइयो,’ डा. मरासिनी भन्छन्, ‘तर हामीले अझै कुनै उपचार प्रक्रिया अँगालेका छैनौं ।’ उनले अस्पतालमा बसेका कोरोना संक्रमितहरूमा ‘अस्पतालजन्य संक्रमण’ समेत हुन गई मृत्युदर बढ्न सक्ने जोखिम रहेको बताए ।‘डेक्सामिथासोन औषधि उपयोग गरेर गम्भीर अवस्थामा रहेका बिरामीको मृत्यु एक तिहाइले घटाएको कुरा भारतीय चिकित्सकहरू दाबी गर्दै छन् तर हामीले अझै कुनै चिकित्सकीय प्रक्रिया अपनाउन सकेका छैनौं,’ डा. मरासिनीले भने, ‘सरकार यसमा गम्भीर बन्नुपर्छ । savar Click
You must be logged in to post a comment.