नेपाल : हालको सीमाङ्कन ‘अपूर्ण’

Loading

people’s news : हाल नेपाल र चीनको सीमा स्तम्भ नम्बर एक रहेको स्थान टिङ्कर भन्ज्याङबाट लिपुलेक भन्ज्याङसम्मको दूरी ३ दशमलब ८४ किलोमिटर रहेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार लिपुलेक भन्ज्याङदेखि लिम्पियाधुरा भन्ज्याङसम्मको डाँडै डाँडाको पानीढलो शृङ्खलाको लम्बाइ ५३ दशमलब १२ किलोमिटर रहेको छ । सीमाविद् श्रेष्ठले सन् १९६१ को सन्धि अनुसार एक नम्बर सीमा स्तम्भ टिङ्कर भन्ज्याङमा कायम भएपनि नक्सामा सीमारेखालाई तन्काएर लिपुलेक भन्ज्याङतर्फ पुर्‌याइएको उल्लेख गरे । त्यसबेला नेपाल, भारत र चीन तीन देशले त्रिदेशीय सीमा निर्धारण गर्न प्रयास गरेपनि त्यो अघि नबढेको भन्दै उनले त्यहाँ अन्तर्राष्ट्रिय अभ्यास अनुरूप शून्य नम्बरको पिलर गाडिनुपर्ने बताए । श्रेष्ठ भन्छन्, “नेपाल र चीन दुवै देशका राष्ट्राध्यक्षले हस्ताक्षर गरेको सीमा सन्धिमा संशोधन गर्नुपर्छ जस्तो मलाई लाग्दैन । तर सीमाङ्कनलाई चाहिँ पूर्ण गर्नुपर्छ  । अहिलेसम्म नेपाल र चीनको सीमा पूर्ण छैन त्यसलाई त्रिदेशीय विन्दुहरू निर्धारण गरेर पश्चिम र पूर्व दुवैतर्फ पूर्ण गर्नुपर्छ  ।

नेपाल र चीनबीच सीमा सन्धि हुनु एक वर्षअघि सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले प्रधानमन्त्री बीपी कोइरालाको निम्तोमा काठमाण्डूको भ्रमण गरेका थिए । त्यसबेला दुवै देशले उक्त समयमा कायम रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा रहेको आपसी दाबीबारे छलफल गरेका थिए । त्यसबेला चिनियाँ प्रधानमन्त्रीले नेपालले सगरमाथाको चुचुरो दुवै देशको सीमा विन्दुमा रहेको नक्सा पेश गरेको भन्दै त्यो चीनलाई मान्य रहेको बताएका थिए । त्यही भ्रमणको समयमा नेपाल र चीनले शान्ति तथा मैत्री सन्धि गरेका थिए । त्यसबेला आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्रीलाई नेपालले कोरेका नक्सा वा प्रस्तुत गरेका नक्सामा दुई देशबीच छलफल भयो भनेर प्रश्न सोधिएको उक्त भ्रमणपछि चिनियाँ इन्स्टिच्युट अफ फरेन अफेयर्सद्वारा प्रकाशन गरिएको पुस्तकमा उल्लेख छ । त्यसको जवाफमा चिनियाँ प्रधानमन्त्रीले नेपालले प्रस्तुत गरेका नक्सा भनेका थिए । 

किन त्यस्तो भयो ? नेपाल आफैँले पहिलो पटक देशको पूर्ण नक्सा सन् १९७६ मा जारी गरेको बताइन्छ । त्यसअघि नेपाली अधिकारीहरूले कतिपय नक्साहरू कोर्ने र दुईपक्षीय वार्ताहरूमा प्रस्तुत गर्ने भएपनि उपनिवेशकालीन भारतमा स्थापित सर्भे अफ इण्डियाले सबैजसो नक्साहरू बनाइदिने गरेको विवरणहरूमा पाइन्छ । नेपाली सेनाका पूर्व सहायक रथी लिम्बु प्राविधिक ज्ञानको कमी वा त्यसबेला नेपालमा कायम भारतीय प्रभाव जस्ता कारणले चीनसँगको सीमा सन्धिको पहिलो बुँदामा नेपाल चुकेको ठान्छन् । तर उनी सदस्य रहेको टोलीका संयोजक पूर्व अख्तियार प्रमुख उपाध्याय विगतको सन्धिले समस्या नपार्ने तर समाधान खोज्न चीनको भूमिका हुने बताउँछन् । उनले भने, “चीनले यो विषय नेपाल र भारत दुई पक्ष बसेर मिलाउ भनेर भनिसक्यो। तर दुइपक्षीय कुरा गर्दा पनि सीमाङ्कन गर्दा तेश्रो पक्ष आउनुपर्छ। चीन कतै न कतैबाट जोडिनपुग्छ किनभने उसले भारतसँग लिपुलेक हुँदै व्यापारिक नाका विस्तार गर्ने सम्झौता गर्‍यो र त्यसमा हामीले दुवैसँग हाम्रो असहमति जनायौँ ।

सीमाविद् श्रेष्ठ र उपाध्यायका अनुसार नेपालले जारी गरेको नयाँ नक्सा अनुसार नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा विन्दु लिम्पियाधुरामा कायम हुन्छ । अघिल्लो महिना भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवरको तीर्थयात्रामा उपयोगी हुने भनिएको उत्तराखण्डको पिथौरागढ जिल्लालाई लिपुलेकसँग जोड्ने सडक उद्घाटन गरेपछि नेपालले आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेको थियो । सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जीनपिङको भारत भ्रमणका क्रममा लिपुलेक हुँदै तीर्थयात्रीहरूलाई कैलाश मानसरोवरको नयाँ रूट खोल्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सन् २०१५ मा मोदीको चीन भ्रमणमा दुवै देशले लिपुलेक भन्ज्याङलाई सीमा नाकाका रूपमा विकास गर्ने सहमति गरेका थिए । savar