![]()
pnews : ktm -siraha: माघ ९ मा नेपालमा सङ्क्रमित पुष्टि भएपछि दोस्रो सङ्क्रमण भने त्यसको दुई महिनापछि मात्र अर्थात् चैत १० मा पाइएको थियो । चैत ११ बाट सरकारले देशभर लकडाउन जारी राखेको छ । नेपालमा पहिलो सङ्क्रमित पुष्टि हुँदाको समयमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी चासोको आपत्कालीन अवस्था पनि भनिसकेको थिएन । सबैभन्दा पहिले भाइरस देखिएको चीनमा त्यतिखेर सङ्क्रमितहरू एक हजारभन्दा कम सङ्ख्यामा थिए । त्यसबीचमा सम्पर्क व्यक्तिहरूको पहिचानको क्रम र परीक्षणमा तीव्रता दिने काममा अग्रसरता नदेखिँदा नेपालमा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विज्ञहरूले बताउँदै आएका छन् ।
‘सङ्क्रमण खोज्न नेपाल चुक्यो’ : जोर्जिया स्टेट युनिभर्सिटीको इन्स्टिच्युट अफ वायोमेडिकल साइन्समा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्काले सक्रिय सङ्क्रमण खोज्ने काममा नेपाल सुरुदेखि नै चुकेको बताउँछन् । अहिलेसम्म पीसीआर विधिबाट नेपालमा ७५,००० भन्दा केही बढीको मात्र कोरोनाभाइरस जाँच गरिएको छ । एक लाख १६ हजारभन्दा धेरैको द्रूत परीक्षण किट आरडीटीबाट परीक्षण भएको छ । डा. खड्का भन्छन्, “सुरुआतमा आरडीटीमा धेरै पोजेटिभ देखिनु तर पीसीआरमा सङ्क्रमण नपाइनुको अर्थ सङ्क्रमण भित्रभित्रै फैलिएर मानिसहरूमा लक्षण नदेखिकनै निको भइरहेको सङ्केत थियो । “यतिखेर परीक्षण बढाइएको कारण सङ्क्रमित समेत बढेको हो । जहाँ-जहाँ जाँच भएको छ, त्यहाँ नै सङ्क्रमण धेरै देखिएको छ । यदि कसैमा सङ्क्रमण भए कम्तीमा सात दिनपछि मात्र आरडीटी परीक्षणमा पोजेटिभ देखिने विज्ञहरू बताउँछन् । र त्यो समयसम्म सङ्क्रमण धेरैजनामा सर्नसक्ने जोखिम हुने बताइन्छ ।
‘पहिचानमा सुस्तता : आरडीटीबाट कुनै मानिसको शरीरले रोगविरुद्ध प्रतिरोधात्मक शक्ति अर्थात् एन्टीबडी बनाइरहेको छ कि छैन भन्ने जनाउ दिइरहेको हुन्छ । आरडीटीले भाइरस समुदायमा पहिल्यै फैलिसकेको छनक दिएको भए पनि सक्रिय सङ्क्रमण थाहा पाउने प्रयास पर्याप्त मात्रामा नगरिएको विज्ञहरूको विश्लेषण छ । सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, “सम्पर्क व्यक्ति पहिचानमा समेत सुस्तता देखियो । सङ्क्रमित भेटिए लगत्तै उसले भेटेका मानिसहरूको पहिचान गर्नुपर्थ्यो। “त्यसको तयारीमै थुप्रै दिन बिताउनु भनेको त्यो काबुबाहिर जाने जोखिम बढ्नु हो। नेपालमा उदयपुर, वीरगञ्ज, कपिलवस्तुदेखि नेपालगञ्जसम्म सबै ठाउँमा एउटै क्षेत्रमा धेरै जनामा सङ्क्रमण पाइएको छ । जसमा भारतबाट आएकाहरूको बाहुल्य भए पनि स्थानीय बासिन्दाहरू समेत त्यसमा छुटेका छैनन् । तर सरकारी अधिकारीहरू भने सङ्क्रमण फैलने क्रमको चक्र स्थापित गर्न नसकेकै कारण अझै त्यसलाई समुदायमा फैलिएको मान्न तयार छैनन् ।
तयारी के गरियो ? : लकडाउनसँगै तेस्रो मुलुकबाट सिधै आउनका लागि अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी देशका भू-नाका समेत बन्द गरिएका थिए । त्यसबीचमा भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढेको विवरण सार्वजनिक भएका थिए । नेपालमा क्वारन्टीनसम्बन्धी निर्देशिका बनाउन ढिलो हुँदा त्यही नै सङ्क्रमण फैलिने स्थलका रूपमा विकसित भएको देखिएको डा. खड्का बताउँछन् । “मापदण्ड पूरा नभएको ठाउँमा सङ्क्रमित र सामान्य व्यक्तिहरू राख्दा बाँके र पर्सामा त्यहीँ धेरैलाई फैलिएको देखिएको हो,” उनले भने ।
क्वारन्टीनको जोखिम : देशभर धेरै स्थानमा विद्यालयलाई क्वारन्टीन बनाएर राखिएको छ । जहाँ भुईँमा लहरै राख्ने वा बेञ्चहरू जोडेर खाट बनाउने र एउटा ओढ्ने कपडा दिएर मानिसहरूलाई राखिएको पाइन्छ । भारतबाट घर फर्कँदै गरेकालाई लामो समय त्यसरी नै भारततर्फ रोकेर राखिएको थियो । जहाँ चर्पी, खानेपानी र सरसफाइका व्यवस्था झनै कमजोर रहेको बताइन्छ । क्वारन्टीन व्यवस्थापनको मुख्य जिम्मेवारी लिएका स्थानीय तहका सरकारहरूले आफूहरूसँग रहेको बजेट र जनशक्तिको सीमिततालाई त्यसको कारण बताउँछन् । एक सयजना सङ्क्रमित रहेको कपिलवस्तुको यशोधरा गाँउपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेले भने: “खाना खुवाउने, क्वारन्टीन व्यवस्थापन गर्ने देखि लिएर परीक्षणको व्यवस्थासम्मको काम हाम्रो काँधमा भएपछि कसरी सकिन्छ ?
क्वारन्टीन नै आइसोलेशन : पाण्डेको आफ्नो गाउँपालिकामा मात्र परीक्षण गर्नुपर्नेको सङ्ख्या १,६०० रहेकोमा सरकारले छिटफुट रूपमा एक सयभन्दा कम आरडीटी किट उपलब्ध गराएको उनी गुनासो गर्छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटा भन्छन्: “सङ्क्रमितहरू बढ्दै गएपछि अब मापदण्ड पुगेका क्वारन्टीनस्थललाई आइसोलेशनमा स्तरोन्नति गर्ने सोचिएको छ । लक्षण नभएकालाई अवस्था हेरेर घरमै वा स्थानीय सरकारले नै बनाउने आइसोलेशनमा राख्न सकिन्छ । तर सङ्क्रमण पुष्टि भइसकेका मानिसहरू बस्ने भएकाले ‘क्वारन्टीनमा जसरी मापदण्ड पूरा नगरिकनै आइसोलेशनस्थल बनाइए भयावह अवस्था आउन सक्ने’ चेतावनी देवकोटाले दिएका छन् । स्थानीय तहमा अहिलेसम्म आइसोलेशनस्थल बनाउनेबारे भने सरकारसँग कुनै कार्यविधि समेत नभएकाले त्यसले अन्योल सिर्जना गरेको छ । देवकोटा भन्छन्: “सङ्क्रमितको सङ्ख्या दुई हजार नाघिसकेको अवस्था भएकाले अब हामी छिट्टै कार्यविधि ल्याउँछौँ । bbc savar