![]()
pnews : कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको ‘कोभिड-१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७’ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिइसकेको छ । पाण्डेले भने, “सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ । अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ । हवाईमार्ग हुँदै काठमाण्डूमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई ‘होल्डिङ सेन्टर’मा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने छ । अहिले काठमाण्डूमा हवाईमार्गबाट आउनेहरूका निम्ति चक्रपथ आसपासका पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिने र त्यसको काम सुरु भइसकेको बताइएको छ । विमानस्थलमा आइसकेपछि उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे अभ्यास सुरु भइसकेको विमानस्थलस्थित एकजना अधिकारीले जानकारी दिए । ती अधिकारीहरूका अनुसार म्यानमारबाट सम्भवत: एकजना आजै र यूएईबाट जेठ २३ गते करिब दुई सय नेपाली आउने बताइएकाले अभ्यास तत्काल सुरु गरिएको हो ।
चार रणनीति, चार जिम्मेवारी : ‘महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याई राष्ट्रको शान्ति सुव्यवस्था कायम राख्ने’ मुख्य उद्देश्य लिएको योजनामा नेपाली सेना लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको हो । यसको निम्ति ‘राष्ट्रिय ऐक्यबद्धताका साथ राष्ट्रिय शक्तिमा सम्पूर्ण शक्तिहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने आवश्कता ठानेर नेपाली सेनालाई पनि जिम्मेवारी दिइएको’ बताइएको छ । त्यसको निम्ति रणनीति बनाइएको छ । जसमा सङ्क्रमणको स्रोत नियन्त्रण गर्ने, सङ्क्रमणका सम्भाव्य मार्गहरू अवरूद्ध गर्ने, सम्भावित जोखिममा रहेका जनसमुदायको सुरक्षा गर्ने र सङ्क्रमितहरूको उपचार गर्ने उल्लेख छ । उक्त जिम्मेवारी निर्वाह गर्न चारवटा क्षेत्र छुट्याइएको छ: स्वास्थ्य व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापन र सूचना व्यवस्थापन। सीसीएमसीका चारवटा ‘कलस्टर’ अनुसार नै जिम्मेवारी वर्गिकरण गरेको देखिन्छ ।
यस्तो छ सेनाको जिम्मेवारी :
- सीसीएमसीले जारी गरेको कार्ययोजना अनुसार त्यसमध्ये सुरक्षा कलस्टर अन्तर्गत यी जिम्मेवारी नेपाली सेनालाई तोकिएको छ
- प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्याई त्यहाँबाट होटल क्वारन्टीन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारन्टीनमा पुर्याउने आवश्यक यातायातका साधनको व्यवस्थापन गर्नेकाममा नेपाली सेनालाई यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाले सघाउने छ
- काठमाण्डूमा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने छ भने सीमानाका सेन्टरमा उसलाई स्थानीय तहले सघाउने छ र
- नेपाल र सशस्त्र प्रहरीको सहयोगमा क्वारन्टीनको सुरक्षा, रेखदेख, नगरानी र अभिलेख गर्ने काम सेनाले गर्ने छ ।
यी काममा जिम्मेवार निकायको रूपमा सेनालाई राखिएको छ भने सहयोगी निकायको रूपमा अन्य विभिन्न जिम्मेवारी पनि दिइएको छ । त्यसबाहेक उच्च जोखिम रहेका इलाकाका ‘रेडजोन’ मा पनि सेना खटिने छ । समग्रमा क्वारन्टीन र आइसोलेशन लगायताको सुरक्षाको जिम्मेवारीमा सेना रहने छ ।
परिचालनको ‘विवाद’ : सुरक्षा परिषद्को सिफारिस अनुसार मन्त्रिपरिषद्ले संविधानको धारा २६६ को उपधारा १ मा उल्लेख गरिएको ‘नेपालको समग्र राष्ट्रिय हित… ‘ मा टेकेर र धारा २६७ को उपधारा ४ को प्रावधान अन्तर्गत सैनिक ऐन अनुसार नेपाली सेनालाई महामारीसँग जुध्ने काममा खटाउने निर्णय भएको कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले बताएकी थिइन् । पूर्वमाओवादी पृष्ठभूमिका अर्का एकजना मन्त्रीले ‘निर्वाचनमा सेना परिचालनको निश्चित व्यवस्था संविधानमा नरहेकाले धारा ६६ अनुसार परिचालन गरिएको प्रचलन अनुसार यसपटक धारा २६६ को उपधारा १ अनुसार परिचालनको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको’ बताएका थिए । तर राष्ट्रपतिबाट परिचालनको घोषणा भएन । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सरकारको त्यस्तो सिफारिस नआएको जानकारी दिए । उच्च अधिकारीका अनुसार ‘सरकारले नेपाली सेनालाई सङ्घीय कानुन बमोजिम विकास निर्माण र विपद व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने’ संविधानको धारा २६७ को उपधारामा टेकेर सेना परिचालन गरिएको छ । तर यसअघि सरकारको निर्णयको भोलिपल्ट राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो ।राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिसको विपक्षी दलका सांसदले विरोध गरेका थिए । सम्भवत: ‘सरकारले आफै परिचालन गर्न सक्ने व्यवस्था हुँदाहुँदै अन्य धाराको प्रयोग नगर्ने’ सहमतिपछि सरकारले पछिल्लो निर्णय लिएको बताइएको छ । महामारी अनियन्त्रित भइ स्वास्थ्य सङ्कटकालको अवस्था देखिएमा चाहिँ सुरक्षा परिषद्को निर्णय अनुसार सेना पूर्णरूपमा परिचालन हुनसक्ने सम्भावना व्यक्त गर्दै एक अधिकारीले भने, अहिले सेनाको आंशिक परिचालन हो । bbc savar