![]()
Pnews : सत्तारुढ नेकपाकी सांसद तथा पूर्वकृषिराज्यमन्त्री रामकुमारी चौधरीले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउँदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीतिअनुसारको बजेट विनियोजन नभएको बताएकी छिन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले आगामी वर्ष दूध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिए पनि बजेट विनियोजनमा भने धेरै लोभ गरेर छुट्याएको बताइन् । उनले भनिन्, ‘११ अर्ब छुट्याएको रासायनिक मलमा हाम्रो देश पूर्ण रूपमा परनिर्भर छ, तर प्रांगारिक मलमा पर्याप्त सम्भावना भए पनि कार्यक्रम र बजेटको व्यवस्था नहुनु दुःखद हो ।’ उनले अर्गानिक खेतीलाई निरुत्साहित गर्ने काम गरिएको बताइन् । ‘एकातिर किसानलाई गुणस्तरीय र उन्नत जातको बिउ उपलब्ध गराउने भनिएको छ, तर अर्कोतिर बिउबिजनमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत भन्सार शुल्क लिने कुरा विरोधाभास छ,’ उनले भनिन्, ‘परम्परागत खेती प्रणालीबाट कृषि क्षेत्र अगाडि बढ्न सक्दैन । कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिन संविधानले अँगालेको समाजवादउन्मुख व्यवस्थालाई अस्वीकार गरेको भन्दै उनले उक्त व्यवस्था हटाउन माग गरिन् ।