साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक

Loading

pnews : विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । 

कोलिन्डा ग्राभर, क्रोएसियाकी पूर्वराष्ट्रपति : कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । राष्ट्रपति हुँदा पनि उनले घरको काम आफैँ गर्थिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन रसिया पुगेकी तत्कालीन राष्ट्रपति विश्वचर्चित भएकी थिइन् । उनी इकोनोमिक क्लासको टिकटमा रसिया पुगेकी थिइन् । त्यति मात्र होइन, प्याराफिटमा पनि भिआइपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन्  ।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री : प्रधानमन्त्री रुटी सडकमा निस्कँदा अगाडि-पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन्, किनकि उनी आफैँ साइकल चढेरै कार्यालय आउजाउ गर्छन् । अहिले पनि उनी स्मार्टफोन होइन, नोकियाको सामान्य बार फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । 

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति : राष्ट्रपतिबाट अवकाश पाएपछि ओबामा आफ्नै फाउन्डेसनमार्फत समाजसेवामा सक्रिय छन् । बिरामी बालबालिकालाई भेट्न अस्पताल पुग्छन्, युद्धपीडितलाई भेट्न घर–घर पुग्छन् । उनी सर्वसाधारणकै शैलीमा सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् ।

जस्टिन ट्र्युडो, क्यानडाका प्रधानमन्त्री : प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजार आप्रवासीलाई उनले क्यानडामा स्वागत गरिसकेका छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश गराएको छ । कतिपयलाई लिन त विमानस्थल नै पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आवागमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सामान्य होटेलमा खाना खाएका थिए ।

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री : सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकारप्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे भवनमा सारे । त्यति मात्र होइन, प्रधानमन्त्री कार्यालयका रूपमा सञ्चालित भवनमा शिक्षालय सञ्चालन गरे  । प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा बिक्री गरे । आफ्नो सचिवालयमा दुईवटा गाडी मात्रै राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे । 

जुली एनी गेन्टर, न्युजिल्यान्डकी यातायातमन्त्री : जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन्  । 

आन्द्रेस म्यानुअल लोपेज, मेक्सिकोका राष्ट्रपति : सन् २०१८ मा राष्ट्रपति भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे । उनको निर्णयको अनुसरण गर्दै अन्य मन्त्री र कर्मचारीले तलब कटौती गर्दा राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे ।

एपिजे अब्दुल कलाम, भारतका पूर्वराष्ट्रपति : एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे । राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे । राष्ट्रपतिनिवासबाट बिदा भएपछि पनि सरल जीवन बिताए  । उनले ट्विटरमा आफूलाई फलो गर्ने सर्वसाधारणलाई जन्मदिन र अन्य अवसरमा शुभकामना दिने गरेका थिए । आमसर्वसाधारणले झैँ सामान्य रेस्टुरेन्टमा पुगेर मिठाई र चाट खान्थे । एकपटक समारोहका दौरान मञ्चमै आएर एक बालिकाले उनीसँग हात मिलाउन अनुरोध गरेकी थिइन् । कलामले मुस्कुराउँदै उनको अभिवादन स्विकारेर हात मिलाएका थिए । यस्ता धेरै अवसरमा कलाम सादगी देखिए । कलामले अन्तिम सास पनि एउटा कक्षाकोठामा फेरेका थिए जहाँ उनले विद्यार्थीलाई पढाइरहेका थिए । भारतका पहिला राष्ट्रपति डा.राजेन्द्रप्रसाद (राजेन्द्र बाबु भनिन्थ्यो, २६ जनवरी १९६० देखि १३ मई १९६२ सम्म) को जीवनशैलीबारे तत्कालीन काँग्रेस आइका नेता भीष्मनारायण सिंहका किस्सा भारतीय राजनीतिक इतिहासका पुस्तकमा पढ्न पाइन्छ । भीष्मनारायण राष्ट्रपति राजेन्द्रलाई भेटन गैरहन्थे । उनका अनुसार राष्ट्रपति राजेन्द्र लामोसमय च्यातिएको ‘बेड कभर’मै सुत्थे । राष्ट्रपति कार्यालयको व्यवस्थापनमा खटिएका कर्मचारीहरुले भीष्मनारायणसँग भन्थे, ‘बेड कभर च्यातिएको छ । धेरै पुरानो छ । तपाईंले राजेन्द्र बाबुसँग बदल्न भनिदिनु प¥यो ।’ कर्मचारीले भनेपछि एक दिन भीष्मनारायणले राष्ट्रपति राजेन्द्रप्रसादलाई भनेका थिए, ‘कर्मचारीले धेरै गुनासो गरे, बेड कभर बदल्नुपर्ने भयो । राष्ट्रपति राजेन्द्रप्रसादलेले जवाफ दिए, ‘मेरो लागि सवैभन्दा ठूलो शहर पटना (उनी विहारमा जन्मेका कारण) हो । म कलकत्तामा बसेँ, जहाँ मजदुरहरु बोरा विछाएर सडक पेटिमा सुतिरहेका छन् । यही देशमा मजदुर सडक पेटिमा बोरोमा सुत्न सक्छन भने राष्ट्रपति भवनभित्र राष्ट्रपति उस्तै तरिकाले बस्छ भने यसमा के समस्या भयो ?’

जोसे मोहिका, उरुग्वेका पूर्वराष्ट्रपति : उरुग्वेका पूर्वराष्ट्रपति जोसे मोहिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे । त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् । पूर्वराष्ट्रपति भएका नाताले पाउने तलब (१२ हजार अमेरिकी डलर) मध्ये ९० प्रतिशत रकम उनले समाजसेवामा खर्चने गरेका छन् । ‘संसारका गरिब व्यक्तिहरू ती हुन् जसले केवल खर्चिलो जीवनशैली बिताउने लक्ष्यले काम गर्छन् र सधैँ असन्तुष्ट रहन्छन्,’ उनको भनाइ छ । 

जोयसी बान्डा, मालाबीकी पूर्वराष्ट्रपति : सन् २०१२ देखि २०१४ सम्म मालाबीमा राष्ट्रपति थिइन् बान्डा  । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन्  । savar : https://www.nayapatrikadaily.com/news-details/44479/2020-06-01