अर्थतन्त्रको चिन्ता गर्दा कोभिड-१९ झन् फैलिने चेतावनी : अमेरिका

Loading

pnews : अमेरिकाका एक प्रमुख सङ्क्रामक रोग विशेषज्ञले अर्थतन्त्र चलायमान बनाउने विषयमा हतार गरिए कोरोनाभाइरसको सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन् । डा. एन्थोनी फाउचीका अनुसार लकडाउन खुकुलो पार्दै लाने विषयमा सङ्घीय सरकारले जारी गरेको नियमहरूको पालना नगरिए साना वृद्धिका घटनाहरू चाँडै प्रकोप बन्न सक्छन् । डा. फाउचीका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने सम्भावना छ । अमेरिकामा हालसम्म ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताइएको छ । उनको कुरा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थतन्त्र चलायमान बनाउने उत्सुकतासँग बाझिएको छ । फाउचीले भिडिओमार्फत रिपब्लिकनहरूको नेतृत्व रहेको सिनेटको एउटा समितिसँगको अन्तरक्रियाका क्रममा त्यस्तो बताएका हुन । अमेरिकामा हालसम्म अर्थतन्त्र चलायमान बनाइएका विभिन्न राज्यहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्दो क्रममा रहेको बताइएको छ । उनले नियन्त्रण नै गर्न नसक्ने किसिमको प्रकोप सुरु हुनसक्ने चेतावनी समेत दिएका छन्। त्यस्तो भएमा आर्थिक सुधारमा झन् धेरै बाधा पुग्ने र त्यसले धेरै ‘मृत्यु र पिडा’तर्फ धकेल्ने बताएका छन् । ह्वाइट हाउसले लकडाउन खुकुलो पार्ने विषयमा नियम बनाएको भए पनि त्यसतर्फ कसरी कदम चाल्ने भन्ने विषयमा निर्णय राज्यका गभर्नरहरूको हातमा रहन्छ ।

पछिल्लो अवस्था : जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म १३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन्। मृत्यु हुनेहरूको सङ्ख्या ८२ हजार नाघेको छ । विश्वव्यापी रूपमा सङ्क्रमितहरूको सङ्ख्या ४२ लाख ५० हजार नाघेको छ भने दुई लाख ९१ हजारभन्दा बढीको ज्यान गएको छ । यस वर्षको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो । हालसालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४.८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ । यसले सन् २०१४ पश्चात् पहिलोपटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी विस्तारलाई रोकेको छ । bbc

Leave a Comment