उत्तर कोरियाली नेता किम जङ-अनः किन भए भुमिगत ?

Loading

pnews/ktm : अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले केही समयदेखि उत्तर कोरियाका नेता किम जङ-अनलाई अमेरिकी अधिकारीहरूले नदेखेको र उनको स्वास्थ्यबारे भइरहेको चर्चा नियालिरहेको बताएका छन् । उनले उत्तर कोरियामा कोरोनाभाइरसको प्रकोप वा अनिकाल हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । उत्तर कोरियाका ३६ वर्षीय नेता गत एप्रिल १२ देखि सार्वजनिक रूपमा देखा परेका छैनन्। तसर्थ उनी गम्भीर बिरामी परेको अनुमान गरिएको छ । तर छिमेकी दक्षिण कोरियाले उनको स्वास्थ्यसम्बन्धी समाचार सत्य नभएको जनाएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन किम समुद्री तटमा अवस्थित वन्सान नगरमा बस्न गएको हुन सक्ने अनुमान पनि केही समाचारमा गरिएको थियो । विश्वभरि कोरोनाभाइरस महामारी फैलिन थालेपछि ज्यानुअरी महिनाको उत्तरार्धमा उत्तर कोरियाले आफ्ना सबै सीमानाका बन्द गरेको थियो ।

माइक पोम्पेओले के भने ? : फक्स न्यूजले किमको स्वास्थ्यबारे प्रकाशित समाचारबारे बुधवार टिप्पणी गर्न आग्रह गरेपछि पोम्पेओले भनेः “हामीले उनलाई देखेका छैनौँ। हामीसँग आज कुनै जानकारी छैन, हामी यसलाई नियालिरहेका छौँ । उनले उत्तर कोरियामा अनिकाल र खाद्यान्न सङ्कट हुन सक्ने जोखिम भएको बताए । उत्तर कोरियामा अन्ततः परमाणु-निरस्त्रीकरण गर्ने आफ्नो उद्देश्य भएकाले अमेरिकाले त्यसमा प्रभाव पार्न सक्ने सबै कुरालाई नियालिरहेको उनको भनाइ थियो । सन् १९९० को दशमा अनिकालका कारण उत्तर कोरियामा लाखौँ मानिसको मृत्यु भएको अनुमान गरिएको छ । गत सोमवार राष्ट्रपति डोनल्ड ट्र्म्पले आफूलाई किमको अवस्थाबारे “राम्रो जानकारी” भएको तर त्यसबारे कुरा नगर्ने सार्वजनिक टिप्पणी गरेका थिए । परमाणु-निरस्त्रीकरणबारे छलफल गर्न ट्रम्प र किमबीच सन् २०१८ देखियता तीन चोटि भेट भएको छ ।

अनुमान कहिलेदेखि सुरु भयो ? : गत एप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल-सङको जन्मजयन्तीमा आयोजित कार्यक्रममा मा किम सहभागी भएनन्। त्यसलाई धेरैले अस्वाभाविक माने । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान र हल्ला फैलिए। तर तिनलाई पुष्टि गर्न सकिने स्थिति छैन । सरकारी सञ्चारमाध्यमले एप्रिल १२ मा अन्तिम पटक उनको तस्बिर प्रकाशित गरेका थिए। लडाकु विमानको निरीक्षण गरिरहेको बेला खिचिएको उक्त तस्बिर कहिलेको भन्ने चाहिँ स्पष्ट छैन। तस्बिरमा उनलाई सहज मुद्रामा देखिन्छ । सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा त्यसको अघिल्लो दिन उनले एउटा महत्त्वपूर्ण राजनीतिक बैठक गरेको देखिन्छ। तर त्यसपछि उनी बाहिर देखा परेका छैनन् । पछि उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको समाचारमा किमबारे कुनै उल्लेख छैन। प्रायः त्यस्ता परीक्षणमा उनको तस्बिर खिचिएको हुन्थ्यो । उत्तर कोरियाबाट भागेका मानिसहरूले सञ्चालन गरेको एउटा वेबसाइटमा किमको स्वास्थ्यसम्बन्धी पहिलो पटक एउटा दाबी प्रकाशित भयो । नाम उल्लेख नगरिएको एउटा स्रोतलाई उद्धृत गर्दै डेली एनकेले गत अगस्टदेखि किम मुटु र रक्तनलीसम्बन्धी समस्याबाट पीडित भएको तथा माउन्ट पेक्टुको भ्रमण गरेपछि उनको अवस्था बिग्रिएको दाबी गर्‍यो।

त्यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यही एकल स्रोतका आधारमा विवरणहरू प्रकाशित हुन थाले । त्यसपछि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर निकायले पनि त्यो दाबी कति सत्य हो भनेर बुझ्न खोजिरहेको भन्दै अरू विवरणहरू पनि प्रकाशित भए । त्यही बेला अमेरिकी सञ्चारमाध्यममा उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा भएको शीर्षकसहित समाचार प्रकाशित भयो । तर दक्षिण कोरिया सरकारले एउटा विज्ञप्ति प्रकाशित गर्दै तथा चिनियाँ गुप्तचर निकायका स्रोतहरूले समाचार संस्था रोएटर्सलाई उक्त समाचार असत्य भएको बताए । bbc

Leave a Comment