![]()
pnews/ktm : कोरोनाभाइरस सङ्क्रमणको महामारीसँग जुझ्न विभिन्न देशमा लागु गरिएका लकडाउनका कारण विश्वव्यापी कार्बन उत्सर्जन कीर्तिमानी स्तरको ८ प्रतिशतले घट्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय आइइएले जनाएको छ । उक्त निकायका अनुसार योभन्दा पहिले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका बेला पनि ठूलो परिमाणमा उत्सर्जन घटेको थियो । तर अहिलेको घट्ने परिमाण त्योबेलाको भन्दा ६ गुना धेरै हुने उसले जनाएको छ ।
प्रदूषण कम : आइइएका अनुसार यसपाली एकदशक यताकै सबभन्दा कम परिमाणमा कार्बन उत्सर्जन हुनेछ । यात्रा तथा व्यापारमा लागेका बन्देजका कारण प्रदूषण घटेको छ । तर उक्त निकायले यसमा राम्रो मान्नुपर्ने अवस्था भने नरहेको बताएको छ । वैज्ञानिकहरूले कार्बन डाइअक्साइडको उत्सर्जनमा तत्काल कटौतीको वकालत गर्दै आएका थिए । तर त्यसको लागि अर्थतन्त्रनै ठप्प पार्नुपर्ने विषयमा उनीहरूले वकालत गरेका थिएनन् । यसपाली विश्वव्यापी बिजुलीको माग पनि पाँच प्रतिशतले घट्नेछ – जुन सन् १९३० को विशाल मन्दीको बेला यताको धेरै गिरावट हो । अचेल साताका अन्य दिनमा भइरहेको बिजुलीको खपत विगतमा सामान्यतया सप्ताहान्तको दिनमा हुने जत्तिकै पुगेको बताइएको छ ।
ऊर्जा कम्पनीहरूले धेरै क्षति बेहोरिरहेका छन् तर तीमध्ये नवीकरणीय ऊर्जा कम्पनीहरूले भने केही राम्रो प्रदर्शन गरिरहेका छन् । कम कार्बन उत्सर्जन गर्ने त्यस्ता ऊर्जाका स्रोतहरूबाट सन् २०२० मा विश्व बिजुली बजारको ४० प्रतिशतसम्म माग पूर्ति हुने देखिएको आइइएले बताएको छ । यो समयमा विश्व नेताहरूका निम्ति आर्थिक राहतका प्याकेजहरूलाई हरित वा स्वच्छ उद्योग प्रवर्धन गर्ने माध्यमको रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण हुनेछ । bbc