कोरोना भाइरस लकडाउनमा हवाई सेवा अनिश्चितकालका लागि बन्द

Loading

peoples News : कोभिड-१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले अझै २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायण बिडारीले बीबीसीलाई बताएका छन् । “मे १५ तारिख (जेठ २) सम्म उडानहरू बन्द नै राख्नुपर्छ भन्ने निष्कर्ष समितिले निकालेको छ,” बिडारीले भने, “लकडाउन जारी राख्ने नराख्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले नै निर्णय गर्ने कुरा भएको छ । समितिको बैठकमा सहभागी एक मन्त्रीले लकडाउन क्षेत्रगत रूपमा खुकुलो पार्ने विषयमा मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय समितिले गरेको जानकारी दिए । लकडाउनको समयावधि सोमवार सकिन लागेको छ। समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने निष्कर्ष निकालेको हो । कुनकुन क्षेत्रमा खुकुलो ? “खासगरी क्षेत्रपिच्छे प्रतिबन्धहरू अलि खुकुलो बनाउने प्रस्ताव लैजाने भन्ने निर्णय भएको छ,” समितिको बैठकमा सहभागी ती मन्त्रीले बीबीसीलाई भने । उनका अनुसार खुकुलो पारिने क्षेत्रमा स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरू रहनेछन् । आइतवार बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा औपचारिक निर्णय लिनेछ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा केही परिमार्जनसहित लकडाउनलाई निरन्तरता दिन समितिलाई गृहकार्य गर्न निर्देशन दिएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समितिको बैठक बसेको थियो । लकडाउनको अहिलेसम्मको अवस्था र देशका विभिन्न स्थानमा सङ्क्रमणको अवस्था कस्तो छ भन्नेबारे समितिमा विश्लेषण भएको बताइएको छ । समितिले गरेका निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम रहेको पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । bbc

Leave a Comment