![]()
Peoples news : शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला यसपल्ट मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई अपिल गरेका छन् । यो साता लगातार तराईका मस्जिदसँग सम्बन्धित कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्यमन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले बताएका छन् । रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको लकडाउनु तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन् । नेपालमा रमजान शनिवारबाट सुरु हुने र एक महिना चल्ने बताइएको छ ।
कति छन् सङ्क्रमित नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ४८ पुगेको छ जसमध्ये १० जना निको भइसकेका छन् । उपचाररत ३८ जनामध्ये उदयपुरका दुई दर्जनभन्दा बढी अनि वीरगञ्ज नजिकैको मस्जिदमा रहेका ३ जना थिए । स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल बाग्लुङमा १ जना, धनगढीमा १ जना, भरतपुरमा २ जना, वीरगञ्जमा ५ जना र विराटनगरमा २९ जना उपचाररत छन् । पछिल्लो सङ्क्रमित भोजपुरका २६ वर्षीय पुरुषलाई विराटनगरमा उपचारका लागि लगिँदै गरेको उनले बताए । ती व्यक्ति गत फागुन ३० गते साउदी अरेबियाबाट नेपाल आएको र उनी काठमाण्डूबाट उदयपुर हुँदै भोजपुर पुगेको जानकारी दिँदै डा देवकोटाले उनको सम्पर्कमा आएकाहरूको जाँचबुझ भइरहेको बताए । हालसम्म सबैजनाको अवस्था सामान्य छ, उनले भने । देशभरि गरेर अहिलेसम्म कुल ४७,४९६ परीक्षण गरिएको र तीमध्ये पीसीआर विधिबाट ९४०७ जनाको परीक्षण भएको उनले जानकारी दिएका छन् ।bbc