![]()
peoples News : उच्च वायु प्रदूषणले कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बताए अनुसार वायु प्रदूषणको उच्च रहेका ल्याटिन अमेरिकी, अफ्रिकी र एशियाली मुलुकहरूले त्यसबाट बच्न तयारी बढाउन आवश्यक छ । तर स्वास्थ्य अधिकारीहरूले भने ती दुईबीचको सम्बन्ध स्थापित गरिहाल्न हतार गर्न नहुने बताउँछन् । “हामी यी क्षेत्रका सरकारी निकायहरूलाई सहयोग गर्न आफ्नो डेटाबेसका आधारमा सबैभन्दा बढी प्रभावित सहरहरूको नक्सा बनाइरहेका छौँ जसले उनीहरूलाई महामारीविरूद्ध योजना बनाउन सहयोग गरोस्,
” डा. नेइराले भनिन । एउटा अमेरिकी अध्ययनले महामारीभन्दा पहिलेका वर्षहरूमा सूक्ष्म कण प्रदूषण स्तरमा सामान्य वृद्धि हुँदा कोरोनाभाइरस सङ्क्रमणका कारण हुने मृत्युदर १५ प्रतिशतले बढ्ने उल्लेख गरेको छ । “कोभिड १९ का कारण हुने मृत्युदर सामान्यतया उच्च जनघनत्व र उच्च पीएम २.५ भएका क्षेत्रहरूको उस्तै हुन्छ,” हार्वार्ड विश्वविद्यालयको एउटा अध्ययनले भन्छ । यी कणहरू पहिले पनि श्वासप्रश्वासमा हुने सङ्क्रमण र फोक्सोको क्यान्सर जस्ता स्वास्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएका छन् । इटलीस्थित युनिभर्सिटी अफ सिएना र डेनमार्कस्थित ओरहुस विश्वविद्यालयमा गरिएको अर्को अध्ययनले उत्तरी इटलीमा वायु प्रदूषणको उच्च दर र कोभिड १९ का कारण भएका मृत्युबीच सम्बन्ध रहेको सङ्केत गरेको छ । इटलीको लोम्बार्डी र अमिलिया रोमानिया क्षेत्रमा मृत्युदर करिब १२ प्रतिशत छ। इटलीको अन्य भागमा भने मृत्युदर ४.५ प्रतिशत छ । साइन्स डाइरेक्टमा प्रकाशित अध्ययन भन्छ: “उत्तरी इटलीको उच्च वायु प्रदूषण दरलाई उक्त क्षेत्रमा देखिएको उच्च मृत्युदरको सहायक कारक मान्नु पर्छ । मृत्युदर हेर्दा जनसङ्ख्या, उमेर, फरकफरक किसिमको स्वास्थ्य प्रणाली र उक्त क्षेत्रहरूका रोकथामसम्बन्धी फरक नीतिहरूलाई समेत ध्यानमा राख्नु पर्छ ।
यसैबीच फिलिपिन्समा एसोसिएसन अफ रेस्पिरेटरी केयर प्र्याक्टीसनर्स सेसार बुगाओइसानले भनेको छ: “हाम्रो प्रारम्भिक तथ्याङ्कले फिलिपिन्समा कोरोनाभाइरसका कारण मृत्यु भएका प्राय: सबै व्यक्तिहरूमा पहिलेदेखि नै कुनै किसिमका समस्या थिए र तीमध्ये सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित समस्या थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणबाट प्रत्येक वर्ष करिब ७० लाख मानिसहरूको मृत्यु हुन्छ। र पृथ्वीको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या तोकिएको मापदण्डभन्दा बढी वायु प्रदूषण भएका स्थानहरूमा बस्छन् । विश्व ब्याङ्कको गत वर्षको प्रतिवेदनका अनुसार अधिकांश प्रभावित देशहरू दक्षिण एसिया, मध्यपूर्व, अफ्रिकाको ‘सब-सहारा’ क्षेत्र र उत्तर अफ्रिकामा छन् ।विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिवेदनका अनुसार चिले, ब्राजिल, मेक्सिको र पेरूका सहरहरूमा वायु प्रदूषणको स्तर खतरनाक छ । तर वर्ल्ड एअर क्वालिटी रिपोर्ट २०१९ का अनुसार उच्च वायु प्रदूषण भएका सबैभन्दा बढी सहर भारतमा छन् । भारतमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण ५२१ जनाको मृत्यु भएको छ । “कोरोनाभाइरस सङ्क्रमणको दर व्यापक रूपमा फैलियो भने वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या भएकाहरू सबैभन्दा बढी प्रभावित हुनेछन्,” दिल्लीस्थित प्राइमस सुपर स्पेशियलिटी अस्पतालमा फोक्सोसम्बन्धी विभागका प्रमुख डा. एस के छाव्राले भने । तर इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग आबद्ध डा. रजनीकान्त श्रीवास्तव भन्छन् “यसबारे पर्याप्त प्रमाण छैन र हामीले यसबारे कुनै पनि किसिमको अध्ययन गरेका छैनौँ । bbc