![]()
peoples News ktm : अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन इटलीको हाराहारीमा छ । त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए । “मेरो एक मनले उच्च विन्दु चाँडै पुगिहालोस् भन्छ। तर फेरि अर्को मनले होइन त्यसका लागि हामी तयार भइसकेका छैनौँ भन्छ,” कोमोले भने ।
कोमोका अनुसार थप भेन्टिलेटरको खोजी जारी छ । एक हजार भेन्टिलेटर पठाइदिएकोमा उनले चीनलाई धन्यवाद दिए। ओरेगन राज्यले पनि १४० वटा भेन्टिलेटर सहयोग गरेको उनले बताए । कोरोनाभाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताएको जनाएका छन् । उनले संघीय सहयोग अब सबभन्दा धेरै प्रभावित इलाकाहरूमा केन्द्रीत गरिने बताए । “दुर्भाग्यवश निकै धेरै ज्यानहरू जानेछन्,” उनले भने । शनिवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले आगामी साताहरूमा अमेरिकाको अवस्था कस्तो हुनेछ भनेर खुलेर बताएका थिए । अर्को साता देशका निम्ति ‘सम्भवत: सबभन्दा कठिन’ हुने भन्दै उनले अमेरिकीहरूलाई धेरैको ज्यान जाने स्थितिबारे तयार रहन बताए । 
उनले कोभिड-१९ विरुद्ध राज्यहरूलाई सहयोग गर्न ‘व्यापक सैन्य परिचालन गरिने’ भन्दै त्यसका लागि हजारौँ सैनिक, स्वास्थ्य कार्यकर्ता तथा जानकारहरू खटाइने बताए । एक हजार सैनिकलाई छिट्टै न्यूयोर्क शहरमा खटाइने उनले बताए । अमेरिकामा हालसम्म आठ हजारको ज्यान गइसकेको छ । संसारभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण मर्नेहरूको सङ्ख्या ६०,००० नाघेको छ भने सङ्क्रमित झण्डै १२ लाख पुगेको छ । bbc