![]()
peoples News Ktm : कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदुरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चारजना सङ्क्रमितमध्ये तीनजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीय स्तरमै सङ्क्रमण भएको पाइएको छ । जानकारहरूका अनुसार ‘लकडाउन’ अघि र पछिका केही दिनहरूमा भारतबाट करिब डेढ लाखको सङ्ख्यामा मानिसहरू सुदुरपश्चिम भित्रिएका थिए । तर तीमध्ये दुई सयजनाको समेत परीक्षण हुन सकेको छैन भन्दै उनीहरूले परीक्षणलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिएका छन् । 
न्यून परीक्षणको त्रास : यस क्षेत्रमा एक हजार मात्र परीक्षण किट रहेको बताइएको छ ।सेती प्रादेशिक अस्पतालमा रहेको मेसिनले दिनमा चारवटा मात्र स्वाबको परीक्षण गर्न सक्छ । फागुन १ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण जाँच्न ‘थ्रोट स्वाब’ परीक्षणका लागि हालसम्म १५१ वटा पठाइएका मध्ये १८ वटा नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।गएको मङ्गलबार जाँच्ने मेसिन धनगढी पुर्याइएपछि शुक्रवारदेखि मात्र यहीँबाट परीक्षण सुरु भएको थियो। त्यहाँ परीक्षण गरिएका कुनै पनि नमुनामा सङ्क्रमण भेटिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले अहिलेको स्थितिमा तदारुकताका साथ परीक्षण गर्नु नितान्त आवश्यक रहेको बताएका छन् । “अब सरकारले यहाँको स्रोत आकलन गरि हाल्नु पर्यो। विस्फोट हुने सम्भावना देखिएको छ ।”
“पहाडी जिल्लामा पनि ठूलो सङ्ख्यामा मानिस भित्रिएका छन्। अहिलेसम्म बाहिरबाट आएकाहरूमा मात्र परीक्षण गरिएको छ अब समुदायस्तरमा जानु पर्यो । “समुदायस्तरमा फैलिएको छ भने सरकारले ठोस कदम चाल्नु पर्छ। निजी अस्पतालहरू पनि राम्रो व्यवस्था र सुविधायुक्त छन् तिनलाई पनि सरकारले प्रयोग गर्नुपर्छ,” उनले भने । bbc