![]()
kathmandu : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन् । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् । अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन् ।
चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका छन् । चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको विवरण छ । तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ । जापानमा पनि कडा प्रतिबन्ध नलगाएका कारण भाइरस फैलिन सक्ने चिन्ता बढेको थियो । यसैबीच विश्व ब्याङ्कले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ । विश्व ब्याङ्कको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ । bbc