अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रहरी फन्दामा

Loading

pnews.com.np : अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ९ घर भई काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दीपक कार्की र विकास खड्काको नाममा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएको छ ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको हो । खडकाले अहिलेसम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको प्रहरीले जनाएको छ । विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको पीडितहरुले बताएका छन् । खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन् ।

काठमाडौंको बानियाँटारमा बस्दै आएका भीमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडी कार्ड देखाएर राजदुतावासमा काम गर्ने मान्छे हुँ भनेर बताएको र राजद्रतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटोसमेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए ।  उनले धरानमा रहेका आफ्ना बहिनी ज्वाइँलाई समेत भेटेर अमेरिका लैजाने भन्दै ठगी गरेको बताए । त्यस्तै काठमाडौंमा महाराजगन्जको पुलिसबिट अगाडि रहेको कफी हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेन्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभीसम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरुको भनाइ छ । खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए ।  खडकाले अहिले सम्म १० जना भन्दा बढीलाई ठगी गरेको पाइएको छ। त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन् । प्रहरीले भने खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । nayapatrika

Leave a Comment