प्रचण्डको भविश्यबाणी ः २१ गते वामदेव सांसद पक्का

Loading

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतम २१ फागुनमा सांसद बन्ने ठोकुवा गरेका छन् । नेकपा सचिवालयको १४ फागुनको यो निर्णयप्रति प्रानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाइरहेको सन्दर्भमा प्रचण्डले यस्तो ठोकुवा गरेका हुन् । भरतपुरमा शुक्रबारबाट सुरू भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको उद्धघाटन गर्न चितवन पुगेका प्रचण्डले संविधान संशोधन गरेर उपाध्यक्ष वामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने सर्त अब नरहेको पनि प्रचण्डले बताएका छन्

‘संविधान संशोधन गरेर प्रधानमन्त्री नै हुने शर्त अस्तिको बैठकबाट हटेको छ,’ उनले भने । गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे दुवै अध्यक्षबीच सहमति भएको र सचिवालय समेतले निर्णय गरिसकेपछि उक्त निर्णय अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नुपर्ने उनको जिकिर छ । ‘सचिवालय बैठकको निर्णय उहाँले अवज्ञा गर्नुहन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ,’ सचिवालयको बैठक नमाने पार्टीमा सङ्कट निम्तने सङ्केत गर्दै प्रचण्डले भने, ‘हामी दुवैको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत गरेको निर्णय मान्नु भएन के गर्ने भन्ने कुरातिर म जानै चाहन्नँ ।’

१४ फागुनको सचिवालय बैठक निर्णयले राष्ट्रिय सभाको सदस्यको सीटमा गौतमलाई लैजान मन्त्रिपरिषदबाट सिफारिस गरेर राष्ट्रपतिबाट मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय पार्टी महासचिव र प्रवक्ताबाट नै सार्वजनिक भइसकेकाले यो निर्णय ओलीले मान्नुपर्ने प्रचण्डको जोड छ । यो विषयलाई लिएर पार्टीमा विवाद चुलिएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘यो विषयलाई लिएर थोरै छलफल चलेको मात्र हो । यो अन्ततः हल हुन्छ ।’  ओलीले पार्टीको निर्णय मान्ने र २१ फागुनभित्र गौतम राष्ट्रिय सभा सदस्य हुने ग्यारेन्टीसमेत उनले गरेका छन् । ‘प्रधानमन्त्रीले निर्णय मान्नुहुन्छ, २१ गतेसम्ममा तपाईंहरूले देखिहाल्नु हुन्छ नि!’ प्रचण्डले ठोकुवा गरे ।

‘अर्थमन्त्री हुन राष्ट्रिय सभा सदस्य हुनुपर्दैन’ अर्थमन्त्री युवराज खतिवडालाई दोहो¥याउने अडानमा ओली रहेकै कारण उनले गौतमलाई राष्ट्रिय सभामा लैजान नचाहेका हुन् । तर अर्थमन्त्री हुन अहिलेको संविधानले राष्ट्रिय सभा सदस्य नरहेकाले पनि अर्थमन्त्री हुन पाउने व्यवस्था गरेको प्रचण्डले बताए । ‘अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाको लागि राष्ट्रिय सभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ,’ उनले भने, ‘प्रधानमन्त्री के चाहनुहुन्छ भन्ने उहाँको हातको कुरा हो । तर राष्ट्रिय सभाको सीटमा चाहिँ वामदेव गौतमजी नै जानुहुन्छ ।’ राष्ट्रिय सभाको संख्या थप्ने विषयमा पनि अहिले कुनै छलफल नभएको उनले बताए । ‘सिट थप्नेबारे अहिले हामीले कुनै निर्णय गरेका छैनौं,’ उनले भने ।

बैठक : सामान्य राजनीतिक प्रक्रिया  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग बिहीबार प्रधानमन्त्री ओलीले भेट गरेकोबारे प्रतिक्रिया दिँदै प्रचण्डले यस्ता भेटहरू सामान्य राजनीतिक प्रक्रिया भएको बताएका छन् । ‘मैले कोही व्यवसायीलाई भेटेर वामदेवजीलाई अगाडि सारेको होइन, जिवन्त पार्टीमा भेला, बैठक चल्नु सामान्य हो,’ उनले भने । व्यवसायीसँग भेटेर आफूले गौतमलाई अघि सारेको भन्ने कपोल्कल्पित हल्ला मात्र भएको उनले बताए । ‘यस विषयमा मैले कसैसँग बैठक गरेको छैन । मिडियामा जे प्रचार गरियो, त्यो नियोजित छ, भ्रामक छ,’ उनले भने । कोहीसँग पनि अनधिकृत बैठक र डिनर नभएको स्पष्ट पार्दै कसैले यसको प्रमाणित गरे उसलाई बधाइ भन्ने पनि उनले उल्लेख गरे । प्रतिपक्षी कांग्रेस सभापति देउवासँग, नेता कोइरालासँग आफूले र  प्रधानमन्त्रीसमेत भेट्नु सामान्य राजनीतिक प्रक्रिया भएको पनि उनले बताए । ‘देउवाजी, शेखरजीसँग प्रधानमन्त्रीले भेट्ने, मैले भेट्ने यो सामान्य राजनीतिक प्रक्रिया हो । यसमा आशङ्कित हुनुपर्ने कुनै कारण नै छैन,’ प्रचण्डले भने, ‘देउवा, प्रधानमन्त्री, मबीच पनि भेटघाट भइरहन्छ ।’

वामदेवलाई नै किन ?  संघीय संसदका लागि ढोकाबाट पस्न नसकेका गौतमलाई झ्यालबाट पसाउन खोजेको भन्दै नेकपाकै आलोचना भइरहेका बेला प्रचण्डले यस्तो इतिहास अन्य मुलुकमा पनि रहेको जिकिर गरे । ‘यस्तो नेपालमा र संसारको इतिहासमा अरूतिर पनि भएका छन् । पहिला हराएकालाई मैले धेरै अगाडि ल्याएर के–के गरेँ भन्ने तपाईंहरूले थाहा पाउनु भएको छ,’ चुनाव जित्न र हार्नमा धेरै कारणहरू रहेको बताउँदै उनले थपे, ‘त्यसकारण त्यो इतिहासतिर जान पर्दैन ।’ गौतमलाई सांसद बनाउनुको पछाडि आफ्नो कुनै स्वार्थ नरहेको पनि उनले खुलाए । सचिवालय सदस्यमध्ये गौतममात्र संघीय संसदमा नरहेकाले उनलाई राष्ट्रिय सभामा लैजान खोजेको उनले दाबी गरे । ‘उहाँलाई पहिलैदेखि संसदमा लान खोजिएको हो । पहिला वहाँ तयार हुनु भएन, अहिले तयार हुनुभएको छ,’ उनले भने । savar nayapatrika

Leave a Comment