बिमा रकमको लागी अफनै छोरीको हत्या….

Loading

Peoples News : रौतहट। बिमा रकम पाउनका लागि रौतहटमा एक पिताले आफ्नै ४ वर्षकी छोरीको हत्या गरेका छन् । उनले बिमाबारे जानकारी पाएपछि छिटो पैसा कमाउनकै लागि छोरीको बिमा गरेका थिए । त्यसपछि बिमा गरेको एक महिना नहुँदै छोरीको हत्या समेत गरे । मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किशोर राय यादवलाई आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज सार्वजनिक गरिएको हो  । आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो ।  घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृतकको बाबु नै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि साढे  बजेको बीचमा आफैले काँधमा बोकी पोखरीको डिलसम्म पुर्याएको र नाक, मुख थुनेर हत्या गरे पश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेका छन् । आर्थिक समस्याको कारण बिमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बिमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाइफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बिमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त राम किशोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ । राम किशोरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

Leave a Comment