![]()
Peoples News : विश्व अझै तातो भइरहेको छ। जुलाई २०१९ हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा तातो महिना बन्ने देखिएको छ । पृथ्वीभरि विगत १० वर्ष यताको जुलाई महिनाको तापक्रम यो ग्लोबमा देखिएको जस्तै सन् १८८०-१९०० भन्दा बढी छ । जलवायु परिवर्तनका नराम्रा प्रभावबाट जोगिन हामीले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन्। त्यो सामान्य रूपमा औद्योगिकीकरण सुरु हुनुभन्दा अघि सन् १८५०-१९०० तिरको तापक्रम हो । त्यसयता पृथ्वी झन्डै एक सेल्सियसले तातो भइसकेको छ । यो त्यति धेरै जस्तो लाग्दैन। तर तापमान वृद्धिलाई सीमित बनाउन कदम नचाले विश्वले प्रलयकारी परिवर्तन भोग्नुपर्ने विश्वतापमान वृद्धि बारेको अग्रणी अन्तर्राष्ट्रिय निकाय आईपीसीसीले जनाएको छ । समुद्रको तह बढ्नेछ जसका कारण लाखौँ मानिस विस्थापनको जोखिममा पर्नेछन्। हामीले थप प्रतिकूल मौसम जस्तै खडेरी, लू र भारी वर्षाको सामना गर्नुपर्नेछ अनि धान, मकै र गहुँजस्ता बाली उत्पादन गर्ने हाम्रो क्षमता जोखिममा पर्नेछ । यदि अहिलेकै दरमा तापमान वृद्धि जारी रह्यो भने यो शताब्दीको अन्त्यसम्ममा ३-५ सेल्सियसले तापक्रम बढ्न सक्छ ।

८० लाखभन्दा बढी जनसङ्ख्या रहेको न्यूयोर्क विश्वकै सबैभन्दा ठूलो सहरमध्ये एक हो। तर यो सहर तटीय क्षेत्रमा आउने बाढीसँगै आउने आँधी (जस्तै सन् २०१२ को अक्टोबरदेखि नोभेम्बरसम्म आएको स्यान्डी नामक समुद्री आँधी)को जोखिममा छ। स्यान्डी न्यूयोर्कको रेलमार्ग र सडकका सुरुङहरू हुँदै म्यान्ह्याटन प्रवेश गरेको थियो जसका कारण विद्युत् अवरोध हुनुका साथै ५० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
जलवायु परिवर्तनले अझ धेरै वर्षासहित शक्तिशाली आँधीहरू निम्त्याउन सक्ने ठानिएको छ। यसले समुद्री सतहलाई बढाइरहेको छ। न्यूयोर्कको तटीय अवस्थिति र झन्डै १५ किलोमिटर समुद्री किनारले यसलाई जलवायुसँग जोडिएका प्रभावबाट एकदमै जोखिममा पार्छ। अमेरिकाको आपत्कालीन सेवाले यो शताब्दीको मध्यसम्ममा उक्त सहरको एकचौथाइ भाग (जसले झन्डै १० लाख मानिसलाई समेट्छ) बाढीको जोखिमयुक्त क्षेत्रमा पुग्ने जनाएको छ।

उत्तरी धुव्र भनिने आर्क्टिक क्षेत्र जलवायु परिवर्तनको असरप्रति निक्कै संवेदनशील क्षेत्र हो र यो बाँकी विश्वभन्दा दुई गुणा चाँडो तातो भइरहेको छ। त्यसैले यसलाई तापमान वृद्धिको असरको दुष्प्रभावको सूचक मानिन्छ।
विश्वका अन्य भूभागहरू जस्तै आर्क्टिकमा वायु तथा जल तापक्रम वृद्धि भइरहेको छ। तर आर्क्टिक समुद्र गर्मीमा पग्लिने समुद्री हिउँबाट ढाकिएको छ जुन हिउँदमा पुन: जम्छ।हालैका दशकमा त्यो बरफ हिउँदमा पुन: जम्ने दरभन्दा द्रुत गतिमा पग्लिरहेको छ जसले गर्दा त्यो घटिरहेको छ। यसले आर्क्टिक क्षेत्रमा बाँकी विश्वको तुलनामा ठूलो तापमान परिवर्तनलाई निम्त्याइरहेको छ ।

झन्डै एक करोड जनसङ्ख्या रहेको इन्डोनेशियाको राजधानी विश्वमा द्रुत गतिमा भासिँदै गएको एउटा सहर. हो। सहरको उत्तरी क्षेत्रका केही भाग २५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गइरहेको छ। यो नाटकीय घटनाक्रम जमिन मुनिको पानीको अत्यधिक दोहनले निम्त्याएको समस्या र जलवायु परिवर्तनका कारण समुद्री सतहमा देखिएको वृद्धिको परिणाम हो। सहरलाई जोगाउन ४० अर्ब डलरको लागतमा ३२ किलोमिटर समुद्री पर्खाल र १७ वटा कृत्रिम टापुहरू निर्माण गरिँदैछ ।
तर विज्ञहरू यो अल्पकालीन व्यवस्था मात्रै भएको बताउँछन्। उनीहरूले सन् २०५० सम्म जमिनमुनिबाट पानी निकाल्ने काम पूर्ण रूपमा बन्द गरिनुपर्ने र सहरले पाइपमार्फत् अन्यत्रै भण्डारण गरिएका पानीमा आफूलाई निर्भर बनाउन सिक्नुपर्ने बताएका छन्। तर पनि अन्य तटीय सहरमा जस्तै समुद्री सतहको वृद्धि चुनौतीका रूपमा रहनेछ। ऊर्जा केन्द्रहरूको विस्तारका कारण सिर्जना भएको थप तातो अवस्थाले पानीलाई विस्तार गरिरहेको छ र ध्रुवीय बरफलाई पगालिरहेको छ।

मेेरो सहर किन तपाईँको तथ्याङ्कमा छैन ?
बढी जनसङ्ख्या रहेका विश्वका एक हजार सहरबाट सुरु गरेर हामीले एउटा देशमा रहने अत्यधिक सहरको सङ्ख्या ४० भन्दा बढ्न दिएका छैनौँ। तथ्याङ्कमा बढी जनसङ्ख्या भएका ४० सहर देखाउन त्यसपछि हामीले छुटेको अवस्थामा देशका राजधानीहरू समेटेका छौँ र केही यूकेका सहरहरू थपेका छौँ ।
ग्लोबले के देखाइरहेको छ ?
यो ग्लोबले अहिलेको तापमान वृद्धिलाई वास्तविक रूपमा प्रतिबिम्बित गर्नेगरी सामान्यतया प्रयोग गरिने समयक्रम १८८०-१९०० को बीचमा र अहिले सन् २००९ देखि २०१८ को १० वर्षको औसतमा जुलाई महिनामा डिग्री सेल्सियसमा कति तापक्रम वृद्धि भयो भन्ने देखाउँछ। यो तथ्याङ्क एक डिग्री अक्षांश र एक डिग्री देशान्तर आकारको ग्रिडमा करिब १०० x १०० किलोमिटर क्षेत्रफल ओगट्नेगरी भण्डारण गरिएको छ ।
साइबेरियामाथि ग्लोबमा किन शीतल क्षेत्रफल देखिन्छ ?
ग्लोबमा जुलाई महिनाका लागि तापक्रममा देखिएको औसत परिवर्तन देखाइरहेको छ। यसको अर्थ यदि हामीले वार्षिक औसत तापक्रममा देखिएको परिवर्तनलाई हेरेको भए यो तथ्याङ्क अलि फरक देखिन्थ्यो। किनभने हामीले पछिल्लो १० वर्षको जुलाई महिनाको मात्रै तापक्रम हेरिरहेका छौँ, यस्तो केही परिवर्तन देखिनु स्वाभाविक हो। उदाहरणका लागि साइबेरियाले हामीले प्रयोग गरिरहेका १८८०-१९०० समयावधिको तुलनामा गर्मीमा केही तापक्रम घटेको देखिन्छ। वार्षिक तापक्रम त्यो अवधिको तुलनामा बढेको छ र आर्क्टिकनजिकै थप तापमान वृद्धि देखिएको छ।

मेरो सहरको तापक्रमले कुन क्षेत्र समेट्छ ?
प्रत्येक सहरको तापक्रमको तथ्याङ्क कुनै विशेष मौसमकेन्द्रबाट आएको होइन। यो माथि उल्लेख गरिएको १००x१०० किमि क्षेत्रफलको औसत तापक्रम जनाउने ग्रिडबाट आएको हो। यसको अर्थ पृथ्वीको विभिन्न क्षेत्रफलका लागि तथ्याङ्क वर्गमा समेटिएका छन्। कुनै सहर विशेषको तथ्याङ्कका लागि हामी त्यो सहरको मध्यविन्दुलाई आधार मान्छौँ। हामी त्यो मध्यविन्दु कुन ग्रिडमा पर्यो भनेर हेर्छौँ र त्यो ग्रिडबाट त्यो सहरको तापक्रमको तथ्याङ्क लिन्छौँ। त्यही भएर एक अर्काको नजिक रहेका दुईवटा सहरहरू एउटै ग्रिडमा पर्छन् र तिनले एउटै तथ्याङ्क देखाउँछन्।
मेरो सहरको तापक्रमको तथ्याङ्क कहाँबाट लिइएको हो ?
विगतको तापक्रमहरूका लागि हामीले मासिक तापक्रम तथ्याङ्क बर्क्ली अर्थ्, मौसम केन्द्रमा आधारित विश्वव्यापी तापक्रम डेटासेटबाट लिएका हौँ। यो ३० हजार अनुगमन केन्द्रहरूबाट लिइएको तथ्याङ्क हो र त्यसलाई त्रुटिरहित बनाउन सम्भावित थप सहरी ताप र अन्य सीमिततालाई ध्यान दिँदै मिलान गरिएको छ। तापक्रममा आएको अस्वाभाविक घटबढले तापक्रम देखाउँदैन बरु त्यसले आधाररेखासँगको त्यसको फरक देखाउँछ। त्यसलाई वास्तविक तापक्रममा बदल्न हामीले १९८१ देखि २०१० लाई नयाँ आधारका रूपमा आधाररेखामा राख्यौँ र तापक्रम घटबढलाई (१९८१ देखि २०१०) सम्मको मासिक तापक्रमको तथ्याङ्क, जुन ERA-Interim, एउटा विश्वव्यापी वायुमण्डलीय तथ्याङ्कको पुनर्विश्लेषणबाट प्राप्त भएको हो । भविष्यको तापक्रम अनुमान गर्न हामीले मासिक रूपमा प्रक्षेपण गरिएका तापक्रमसम्बन्धी तथ्याङ्कहरूलाई लियौँ। मूल रूपमा सीएमआईपी फाईभबाट हामीले चार वटा सम्भावित अवस्थाका लागि सन् २१०० सम्म प्रत्येक महिनाको तथ्याङ्क लियौँ। हाम्रो पृथ्वीले कुन बाटो अँगाल्छ भन्ने हरितगृह ग्यास कति उत्सर्जन हुन्छ भन्नेमा निर्भर गर्छ।

हामीले ज्यानुअरी र जुलाई महिनाको सन् १९०० देखि अहिलेसम्मको र यो शताब्दीको अन्त्यसम्मको अनुमानित १० वर्षको औसत तापक्रम गणना गरेका छौँ । ज्यानुअरी र जुलाईको औसत तापक्रमको फरक प्रत्येक भविष्यको प्रक्षेपणका लागि १८८० देखि १९०० सम्मको ज्यानुअरी र जुलाईको तापक्रमको आधाररेखालाई आधार मानेर लिइएको हो । जुलाई महिनामा उत्तरी गोलार्धका धेरै स्थानमा गर्मी र दक्षिणी गोलार्धमा हिउँद उत्कर्षमा पुग्छन्। ज्यानुअरी महिनामा यो क्रम ठ्याक्कै उल्टो हुन्छ ।

तापक्रम कति निश्चित हुन्छ ?
आजको तापक्रम र भविष्यको पूर्वानुमान दुवैमा अनिश्चितता हुन्छ । केही स्थानका लागि नजिकै रहेका स्टेशनबाट अनुमानित तथ्याङ्क लिइएको हो भविष्यको प्रक्षेपणमा धेरै अनिश्चितता हुन्छ, कार्बन डाइअक्साइडका कारण पृथ्वीको जलवायु संवेदनशीलताको विषयमा पनि । अब हामी औसत मात्राबारे चर्चा गरौँ। आईपीसीसीले कार्बन डाइअक्साइडको मात्रा दुई गुणा हुँदा अनुमानित जलवायु संवेदनशीलता २.१ र ४.७ सेल्सयस हुने मोडल प्रयोग गरेको छ। औद्योगिकीकरणपूर्वको मात्रा औसतमा ३.१ सेल्सियस थियो ।
भविष्यका लागि बनाइएका मोडलमा पनि वर्षैपिच्छे भिन्नता हुने देखिन्छ । सन् २०१८ को तापक्रमको तथ्याङ्क मेट अफिसको तथ्याङ्कसँग किन मिल्दैन ? औसत तापक्रम उदाहरणका लागि यूकेको मेट अफिस जस्ता निकायले मापन गरेको तापक्रमसँग मिल्दैन। किनभने यो विशेष मौसमकेन्द्रहरूबाट आउँछ। तर ठूलो ग्रिड क्षेत्रफललाई आधार मान्दा ग्रामीण वा सहरी क्षेत्र, त्यसको अवस्थिति, उचाइ र वनस्पति आदिले ग्रिड बक्समा रहेको ठाउँको औसत तापक्रममा उल्लेख्य परिवर्तन देखाउन सक्छ।
यसबाहेक त्यस्तो तापक्रमले एउटा विशेष समय वा दिन वा समयावधिको तापक्रमलाई सङ्केत गर्छ वा त्यो दिनको उच्चतम तापक्रम बुझाउँछ। तर हाम्रो इन्टर्याक्टिभ तथ्याङ्कले पूरा महिनाको औसत तापक्रमलाई बुझाउँछ ।

मेरो सहरको औसत तापक्रम किन कम देखिन्छ ?
प्रथमत: यो तापक्रम दिन र रातको अवधिको औसत तापक्रम हो, त्यसैले हाम्रो रातको तापक्रम स्वाभाविक रूपमा कम हुन्छ। फेरि यो पूरा महिनाको औसत तापक्रम हो, जसले कुनै अस्वाभाविक रूपमा तातो वा चिसो दिनलाई विशेष रूपमा उल्लेख गर्दैन ।BBC