कोइरालामाथि भएको आक्रमण सुनियोजित हो : कांग्रेस प्रवक्ता शर्मा

Loading

Peoples News : काठमाडौँ — कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरमा भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेस पार्टीले बताएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताहरुको समूहले आक्रमण गरेर घाइते बनाएको दाबी गरेका छन् । ‘सभाहल भित्रै प्रवेश गरेर हातपात हुँदा र सभाहल बाहिर ५०/६० जना जम्मा भएर नाराबाजी गर्दा समेत सुरक्षा निकायले वास्ता नगर्नाले यो घटना सुनियोजित छ भन्ने देखाउँछ,’ उनले भने, ‘कांग्रेसको दोस्रो चरणको कार्यक्रममा जनताको बढ्दो सहभागिता देखेर नेकपाका कार्यकर्ताहरु आत्तिएका छन् ।’ आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उहाँको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने घटनाको खण्डन गरेका छन् । गृहमन्त्री शुक्रबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै घटना संलग्न जो कोही भए पनि कारवाही गरिने जानकारी दिएका थिए । कांग्रेसले घटनाको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, बाँकेमा विरोध प्रदर्शन गरेर स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने र शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम समेत तय गरेको छ । kantipur

Leave a Comment