गृहमन्त्रीका भाइ नरेश पक्राउ प्रकरण : प्रहरी बयानमा भने- ‘समीरमानलाई जेलमा भेटेको छैन’

Loading

Peoples News : काठमाडौँ — फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्रीका साइँला भाई नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई भेटेको बयानमा इन्कार गरेका छन् । समीरमान निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने योजनाका मुख्य योजनाकार हुन् । बस्नेत केन्द्रीय कारगारमा छन् । ब्युरोसँगको बयानका क्रममा नरेशले आफूले समीरमानलाई चिन्दै नचिनेको बयान पनि दिएका छन्। कान्तिपुरलाई प्राप्त नरेशको बयानमा उनले भनेका छन, ‘प्रतिवादी शैलेश प्रजापती मार्फत पवन खड्कासँग भेटघाट भएकाले निजसँग चिनजान भएको हो। निजहरुसँग नाता सम्बन्ध रिसीइबी केही पनि छैन। अन्य प्रतिवादीहरु समीरमान सिंह बस्नेत, जे भन्ने जावेद अनवरदिन, सुरेन नगरकोटी, बिरबल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई चिन्दिनँ।’ नरेशले आफूले समीरमानलाई नचिनेको बताएपछि ब्युरोको अनुसन्धान अधिकारीहरु उनीहरुबीच पुरानै चिनाजानी रहेको बताउँछन्। ब्युरो स्रोतले भन्यो, ‘उनले समीरमानलाई भेटनका निम्ती बारम्बार कोसिस गरेको देखिन्छ र अन्तमा गृहमन्त्रीको भाई भएको परिचय दिएर कारगारभीत्र पुगेर समीरमानसँग भेटेको देखिन्छ ।


नरेशले चिन्दिनँ भनेका जे भन्ने जावेद अनवरदिन दुबईमा छन्। अनुसन्धान अधिकारीहरुका अनुसार फिरौती असुलीको संसारमा चर्चामा आएका कुमार घैटेसँग सम्बन्धमा रहेका जावेद घैटेको मृत्यु पछि दुबईमा बसेर फिरौती असुलीमा सक्रिय छन् । नरेशले बयानमा पक्राउ परेका अर्का प्रतिवादी शैलेश प्रजापतीलाई भने चिन्ने गरेको बताएका छन्। उनले भनेका छन, ‘शैलेश र विनोद लामासँग दुई ढाई महिना अगाडिदेखि चिनजान भएको हो। निज शैलेश प्रजापतीले सञ्चालन गरेको फुड कोर्टमा खाजा नास्ता गर्न जाने बखतमा उनीहरुसँग चिनजान भएको हो ।’ नरेशले सुरेन, पवन र शैलेश पक्राउ पछि फिरौती असुलीको धन्दामा आफ्नो नाम पनि मुछिएकोबारे शैलेशकी पत्नीबाट थाह पाएको पनि बताएका छन्। उनले भनेका छन, ‘शैलेश पक्राउ पछि निजकी श्रीमतीले मलाई फोन गरी तपाईंको नाम पनि घटनामा संग्लन रहेको छ भनि फोनमा कुरा गरेकाले सोही बखतमा थाह पाएको हुँ ।’ केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका नरेश सहितका आठ प्रतिवादी विरुद्ध काठमाडौं जिल्ला अदालतमा संगठित अपराध र आपराधिक लाभ (एक्सर्टसन) को मुद्दा जारी छ। अदालतले बिहीबार मात्रै तीन प्रतिवादीसँग बयान लिइसकेको छ भने अन्यसँगको बयान आइतबार पछि जारी रहनेछ । kantipur

Leave a Comment