![]()
People’s News : नेपालका विभिन्न स्थानमा हिमपात र हिउँदे वर्षा हुँदा जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण कतिपय स्थानमा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । प्रतिकूल मौसमका कारण कतिपय स्थानका उडानहरू पनि रद्द गरिएको हवाई सेवा सञ्चालकहरूले जनाएका छन् । यात्रामा निस्कनुअघि सम्बन्धित स्थानको मौसमी अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र जान अधिकारीहरूले आग्रह गरेका छन् । बिहीवारबाट मौसममा सुधार आउन सक्ने मौसमविद् जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद्ले बताइन् । निजी हवाईसेवा प्रदायक बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार मौसमका कारण राजविराज, भैरहवा र सुर्खेतसहित कतिपय स्थान जाने विमानहरू समयमा उड्न सकेका छैनन् ।
तस्बिरको क्याप्शन,हुम्लामा मङ्गलवार रातिबाट हिमपात हुँदा कतिपय ठाउँ सेताम्मे भएका छन् उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भूभागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताइन् । उनका अनुसार वाग्मती । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानमा मध्यम वर्षा तथा कोशी प्रदेशका पहाडी भूभाग र मधेश प्रदेशका थोरै स्थानमा अनि कोशी प्रदेशको तराईका एक-दुई स्थान हल्का वर्षा हुने पूर्वानुमान छ । देशको पहाडी र हिमाली भूभागमा बुधवार राति आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उसका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
मौसमविद्मका अनुसार अहिले देखिएको पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमतिरबाट नेपाल प्रवेश गरेको र बिस्तारै पश्चिम हुँदै पूर्वतिर सर्ने छ । दिउँसोपछि बिस्तारै मधेश प्रदेश र कोशी प्रदेशतर्फ सर्दै जाने छ र केही हदसम्म कमजोर हुँदै जाने छ । रातिको समयमा यो हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउने देखिन्छ । भोलिबाट उच्च पहाडी र हिमाली भूभागबाहेक अन्यत्र मौसम सफा हुने र घाम लाग्ने देखिन्छ । तराईका भूभागमा भने बिहीवार बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् । उनका अनुसार बुधवार चाहिँ न्यूनतम तापक्रम अलि बढी देखिएको भए पनि दिउँसो अधिकतम तापक्रम केही घट्न सक्छ । घाम नलाग्ने भएपछि दिउँसो तापक्रम बढ्ने देखिँदैन ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको विवरण आएको छ । हुम्लामा दुई फिटसम्म बाक्लो हिउँ परेको जानकारी पाइएको मौसमविद्ले बताइन् । अन्नपूर्ण आधार क्षेत्र तथा लाङ्टाङमा पनि हिउँ परिरहेको विवरण प्राप्त भएको उनले बताइन् । पछिल्लो १२ घण्टाको अवधिमा कर्णाली प्रदेशको सुर्खेतमा ४२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । कैलालीमा ३० मिलिमिटर र डडेल्धुरामा २९.८ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा प्रायजसो मध्यम वर्षा भएको देखिन्छ, उनले भनिन् ।

तस्बिरको क्याप्शन,बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् हिमपात र वर्षासँगै चिसो बढ्दा खास गरी बालबालिका तथा वृद्धावृद्धाले विशेष ख्याल गर्नुपर्ने विज्ञहरू बताउँछन् । अर्कोतर्फ हिमपात भएपछि कतिपय स्थानमा मानिसहरू हिउँ खेल्न जाने गरेको पनि देखिन्छ । खास गरी हिमाली तथा उच्च पहाडी भूभागमा बासिन्दालाई सकेसम्म बाहिर ननिस्किन र न्यायो भएर बस्न आग्रह गर्छौँ । त्यसै गरी यात्रामा निस्किनुअघि सम्बन्धित ठाउँको मौसमी अवस्थाबारे ताजा जानकारी लिएर मात्र जान हाम्रो अनुरोध छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन् । उनका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ र रुकुमपूर्वमा सवारी आवागमन अवरुद्ध भएको विवरण आएको छ ।
जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पनि यातायात अवरुद्ध भएको छ भने अरू बाक्लो हिमपात भइरहेका अरू कतिपय स्थानका सडकहरूमा पनि यातायात प्रभावित भएको महतले बताइन् । सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा मिलेर कतिपय स्थानका सडकहरूमा हिउँ पन्छाउने काम गरिरहेको उनले जनाइन् । पछिल्लो हिमपातले जनजीवन प्रभावित भए पनि यसले हिउँदे बालीहरूलाई भने फाइदा पुर्याउने कृषि विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार यसबाट गहुँ, दलहन लगायतका बाली सप्रिन सघाउ पुग्ने छ । बालीविज्ञ तथा नेपाल कृषि अनुसन्धान परिषद्का प्रवक्ता भानुभक्त पोखरेलले अहिलेको हिमपात र वर्षा हिउँदे बालीहरूका लागि “अमृतजस्तै” भएको बताए ।

पहाडी भूभागलाई हेर्नुभयो भने अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन । आकाशे वर्षामै भर परेर पहाडमा गहुँ लगाउने गरिन्छ । त्यो भएर अहिले हिउँदे वर्षा र हिमपातले एकदमै राम्रो गर्छ उनले भने । पोखरेलका अनुसार यो हिउँदे वर्षा र हिमपात १०/२० दिनअगाडि भएको भए हिउँदे बालीलाई झन् राम्रो गर्थ्यो । तर अलिकति ढिलै भए पनि यसले राम्रो गर्छ,” उनले थपे । त्यसबाहेक अहिलेको वर्षाले डढेलोको घटनामा कमी ल्याउन, प्रदूषण नियन्त्रण गर्न र पहाड भेगमा पछि मकै छरेपछि बोट उम्रिन सघाउने पोखरेले बताए । हिउँ परेर पछि हिमनदी पग्लिँदा वैशाख, जेठमा त्यसमा पनि सघाउ पुग्छ । समग्रमा हिउँदे बालीहरू तरकारी, फलफूलदेखि लिएर प्रदूषण नियन्त्रणबाट स्वास्थ्यलाई समेत फाइदा पुर्याउने भयो,” उनले अगाडि थपे ।