![]()
पिपुल्स न्युज काठमाडौँ : सहकारी क्षेत्रलाई केवल बचत–ऋणको माध्यम मात्र ठान्ने सोच अझै समाजमा व्याप्त छ । तर वास्तविकतामा सहकारीहरू व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका सशक्त आधार हुन् । सहकारी नै व्यवसायको सच्चा शुभचिन्तक भएको तथ्यलाई अब नजरअन्दाज गर्न मिल्दैन ।
बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी संरचनामा केन्द्रित रहँदा सहकारीहरू भने सदस्यको आवश्यकता, स्थानीय उत्पादन र साना–मझौला व्यवसायको संरक्षणमा केन्द्रित छन् । सहकारीहरूले जोखिम मोल्दै पनि किसान, उद्यमी र स्वरोजगार व्यवसायीलाई पुँजी, सीप र बजारको पहुँच दिलाइरहेका छन् । यही कारण सहकारीहरू व्यवसायका लागि भरोसायोग्य साझेदार बनेका छन् ।
ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत सहकारीले कृषि, पशुपालन, उत्पादनमूलक उद्योग, सेवा र व्यापार क्षेत्रलाई चलायमान बनाएका छन् । ठूला संस्थाहरूले बेवास्ता गरेका साना व्यवसायलाई सहकारीले मलजल गरिरहेका छन् । यसले स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथै युवालाई विदेश पलायन हुनबाट रोक्ने आधार तयार गरेको छ ।
तर दुःखको कुरा, केही गलत अभ्यास र व्यक्तिविशेषका कमजोरीका कारण सम्पूर्ण सहकारी क्षेत्रमाथि प्रश्न उठाइँदै आएको छ । यस्ता कमजोरी सुधार्न कडा नियमन आवश्यक भए पनि सहकारीको मूल मर्म र योगदानलाई बदनाम गर्नु अन्याय हुनेछ । सहकारीहरू नाफाका लागि होइन, सदस्य र समाजको समृद्धिका लागि स्थापित संस्था हुन् ।
अब समय आएको छ—सहकारीलाई समस्याको जड होइन, समाधानको हिस्सा मान्ने । व्यवसायको दिगो विकास, आत्मनिर्भरता र समावेशी अर्थतन्त्र निर्माणका लागि सहकारी नै सच्चा शुभचिन्तक हुन् भन्ने यथार्थलाई राज्य, समाज र व्यवसायी सबैले स्वीकार्नैपर्छ ।